Skip to content

कस्तो विहानी खोजिरहेछौं ?


बुद्धको आँगनबाट
शान्ति सिक्ने वेला
के सिकिरहेछ ? नयाँ पुस्ता !!
गुम्बाबाट सहनाई बजाएर
युद्धको घोषणा गर्दै
स्वागत गर्दछ भोलिलाई
लाग्छ ! शान्तिका पाठहरू
छापिदैनन् अब छापाखानाहरूमा
अन्धो भएको राजनीति
लाशहरू गनेर
मुचुल्का उठाउन तयार छ परिवर्तनको !!

खरानी पारेर मानवीय इतिहास
धुजा पारेर माटोको स्वाभिमान
कस्तो विहानी खोजिरहेछौं ? हामी
जहाँ
बारुदखानाका प्रशिक्षार्थीलाई
निलो झण्डा थमाउँछौं
पोटासियम साइनाइटका किसानलाई
कोदालो थमाउँछौं
एके — ४७का भट्टीहरूलाई
लालसलाम ठोक्छौं
अनि फेरि
बुद्धलाई भारतले वेचिदियो भनी
चित्त दुखाउँछौं ।।

हारेर आफैसँग
कस्तो विहानी खोजिरहेछौं ?
आखिर, हाम्रो हराएकै के छ र ?
२१ औं शताव्दीको
परिवर्तनकारी उन्नत चेतना बाहेक !!

दीपेन्द्र के.सी.,
बागलुङ
हालः लुभेन, बेल्जियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *