Skip to content


त्यसलाई समात
पछार
जमिनमा झार
दाँत छन् भने दाँत उखेल
कपाल छन् भने कपाल उखेल
हात छन् भने हात भाँच
खुट्टा छन् भने खुट्टा भाँच
ढाडमा टेक/टाउकोमा हान
बल गरेर टुप्पीमा तान,
यो नजाती
यो मख्खिचुस
यो विश्वासघाती
यो जासुस,
अस्ति
हिजो आउँछु भन्यो
हिजो
आज आउँछु भन्यो
आज-
भोलि आउँछु भन्छ
आइहाले पनि
नागढुंगामा उक्लिएको
भारी ट्रकले जस्तै कन्छ ।

सरम छैन
लाज छैन
यसको कुनै कामकाज छैन,
साम्राज्यवादी यो
विस्तारवादी यो
‘र’को एजेन्ट
विश्वासघाती यो,
मान्छे भेला गर्छ
र भाषण छाँट्छ
पहिले आउँछु भन्छ
र पछि ढाँट्छ ।

ढुंगाले हान
जुत्ताले हान
झटारो, गुलेली, मुक्काले हान
त्यसको बिहे देखाई देऊ
डर देखाइदेऊ
कानमा उचालेर मामाघर देखाइदेऊ
चिच्याओस्
कराओस्
बरु सातो हराओस्,
उठ्-बस गराऊ
सयपल्ट गन
मुट्ठी कसेर सबले भन-
‘साला लोडसेडिङ्’ ।

नेपाल साप्ताहिक ३३५

Leave a Reply

Your email address will not be published. Required fields are marked *