Skip to content

सिंहवाहिनी -२५- पच्चीसौं अध्याय (पाठको माहात्म्य)


देवी भन्छिन् देवतालाई महात्म्यका कुरा
चण्डि पाठ सबले गरुन् सधै पूरा पूरा
चण्डि पाठ गर्ने जति बन्न्न जान्छन् सुरा
सबै काम पूर्ण हुन्छन् रहँदैनन् अधुरा

जस्ले एकाग्रचित्त गरी देवी पाठ गर्छ
देवी खुसी हुन गए दुःख टाढा सर्छ
सबै बाधा अड्चन नष्ट हुन्छन् यहाँ
त्यसो हुँदा दुर्गा पाठ सबले गर्नु पर्छ

मधुकैटभ नाश अनि महिषासुर वध
भरिपूर्ण रहेका दुबैका घमण्ड र मद
शुम्भ निशुम्भ सँगका अर्थपूर्ण युद्ध
पढ्नु पर्छ भक्तजनले हट्छ सबै गद

अष्टमी, नवमी साथै चतुर्दशी
माहात्म्य श्रवण एकाग्रमा बसी
पापजति भक्तको हुनजान्छ नाश
सही सत्य कुरामा चाँहिंदैन दशी

नत छुन्छ पापले न त आउँछ विपत्ति
हट्न जान्छ भक्तको दरिद्री र आपत्ति
छुट्न जान्छ प्रेमीको विछोडको पीडा
दुर्गाको बास हुन्छ जोडिन्छनी सम्पत्ति

लुटेरा र शत्रुको भय त्यहाँ हट्छ
राज्यको आशीर्वाद पनि त्यहाँ बढ्छ
न त हुन्छ अग्निबाट भक्तलाई डर
पानी पनि आफ्नो मार्ग सललल बग्छ

देवी माहात्म्य छ अति कल्याणकारी
एकाग्रचित्त गरी पढौं यसलाई भारी
श्रवणको महत्त्वलाई पनि ध्यान दिउँ
देवीबाटै मुक्त हुन्छन् सारा यी संसारी

महामारी जनित सबै उपद्रवी कर्महरू
तीन प्रकारका उत्पातबाट पर्ने मर्महरू
यही माहात्म्यको निरन्तर पाठगर्दैै जाँदा
हट्दै सबै दुष्कमर्, सवल बन्छन् धर्महरू

विधि र निधिमा माहात्म्यको पाठ हुन्छ
पवित्र ती स्थानमा मेरो सधै बास हुन्छ
बलिदान पूजा होम महोत्सवको याममा
पाठ या श्रवणमा उपस्थिति खास हुन्छ

ज्ञात अज्ञात कर्मबाट जहाँ जस्ले पूजा गर्ला
बलि, पूजा या होम गर्दै मेरो सधै भर पर्ला
सबै पूज्य ती सामाग्रीको मैले रसपान गर्छू
धनधान्य पुत्रपुत्री प्राप्त गर्दै लौ पार तर्ला

देवी भन्छिन्
प्रादुर्भावले भरिएका यी मेरा कथाहरू
पराक्रमले भरिएका यी सबै तथाहरू
युद्धरूपी वीररस जो जस्ले पान गर्छ
सहजमा पार गर्छ सबै विवशताहरू

माहात्म्यको श्रवण गर्दा शत्रुजति नाश हुन्छन्
कल्याणलाई प्राप्त गदै कुल–उच्च बास हुन्छन्
सर्बत्र नै शान्ति छाउँछ जस्ले दुर्गा पाठ लाउँछ
दुःस्वप्न नास हुन्छन्, सुस्वप्नले आकाश छुन्छन्

ग्रहबाट पीडित बालक
बन्छ माहात्म्य शान्ति चालक
श्रवण गरौं माहात्म्य पाठ
शान्तिगामी लौ बन्छ साधक

समूहमा फुट हुँदा
सत्भावना टुट हुँदा
गुँदबनीले काम गर्छ
रक्षा गर्छ लुट हुँदा

दुराचारी बन्छन् सदाचारी
भावनामा बन्छन् महाभारी
दैत्य भूत, पिशाच आदि सबै
बन्न जान्छन् ती कल्याणकारी

जति तिमी पढ्दै जान्छौ
दिल भित्र गढ्दै जान्छौ
म सँगको समिप्यले
उच्चाइमा चढ्दै जान्छौ

पशु, पुष्प, अघ्र्य, धूप, दीप, अनि गन्ध
यी सामाग्री उत्तम हुन् सुवास छर्छन् मन्द

ब्राह्मणलाई भोजन होमन अभिषेक दान
ममा आउँछ उमङ्गता साथै प्रशन्नता जान
यस्कै हाराहारी प्रशन्नता माहात्म्य श्रवणले
बन्न जान्छ फलदायी, देऊ श्रवणमा ध्यान

देवीको प्रादुर्भावको जस्ले कीर्तन गर्छ
भूत प्रेत दानवआदि सबै भक्तबाट डर्छ
देवीजीको युद्धचरित्रमा दानवको संहार
यस्ता देवीकर्म सवले श्रवण गर्नु पर्छ

देवीका सारा कर्म वीररसमा पूर्ण
अहम्भाव बोक्नेलाई पारीदिन्छ चूर्ण

श्रवणकर्ता बन्नजान्छ अति धैर्यधारी
वीरभाव बोकेर बन्छन् कल्याणकारी

ब्रह्मा अनि देवगणले देवी कीर्तन गाउँछन्
कल्याणमयी बुद्धिको तिन्ले वरदान पाउँछन्
देवीजीले भन्नु हुन्छ गर मेरो सदा कीर्तन
परिआउने विविध कष्ट तिन्ले पार लाउँछन्

न त लुटेराले लुट्न सक्छ न त चोरले चोर्न
न त सिंह हात्तीले सक्छन् घर–गोठ नै फोर्न
न त राजा कुपित हुन सक्छ न त लाग्ने शत्रु
सबै शक्ति विफल हुन्छन् लौ सजायमा जोर्न

देवी भन्छिन् सबैलाई गर मेरो पूजा
धनदौलत प्राप्ति हुने शत्रु बन्ने धुजा
सन्तान सबै सवल बनी गर्ने काम
सवल बन्छन् सबै कोही हुनन् कुजा

सबै कुरा देवतालाई देवी भन्दै गइन्
सबै काम गरीकन अन्तरध्यान भइन्
देव भए डरमुक्त यज्ञ भाग पाए
दैत्य भागे पाताल, शान्ति त्यहाँ आइन्

भजन

भनिन् देवीले भनिन् देवीले
हामात्म्यलाई पढ सुन भनिन् देवीले

सारा मेरो चरित्रलाई माहात्म्यले बोल्छ
सारा दैत्य भुक्ति मुक्ति महात्म्यले खोल्छ,
बार्षिक पूजा,मठ मन्दिर जहाँ हुन्छ पाठ
जहाँ मेरो बास हुन्छ अधर्मलाई रोल्छ,
भनिन् देवीले

नरचोला कति होला जान्छ कुनै वेला
म नै हुँ त्रिलोक चालक गर्छु सबै खेला,
यत्रतत्र सर्बत्र मेरै बास हुन्छ भन्ने जान
त्यसो हुँदा बन सबै माहात्म्यको चेला,
भनिन् देवीले

सत्य माथि अडिग भै सबै बस्नु पर्छ
मानवको कल्याण गर्न सत्य अघि सर्छ
सत्य भन्ने मनै हुँ लौ अर्को कोही छैन
माहात्म्यको श्रवण गर सबै कष्ट टर्छ,
भनिन् देवीले

ब्रह्मा विष्णु महेश्वरले मेरै आराधना गर्छन्
शान्तिमार्ग पहिल्याउनलाई मेर्रै अघि सर्छन्
त्यसो हुँदा मेरै आराधना दिन्छ शीतल ताप
हेर भक्तदेखि संसारमा सबै शक्ति डर्छन्,
भनिन् देवीले

देवी अम्विकाको हेर नित्य हुन्छ रूप
त्रिलोक–रक्षा गर्न प्रकट हुन्छिन् खुप
मोहित पार्छिन् देवीले सबै तीनलोक
कोही हुने बाकसिद्ध कोही हुने चुप,
भनिन् देवीले…

अजन्माले जगतलाई जन्म दिने भगवती
ज्ञान विज्ञान समृद्धि दिने तिमी कती कती
प्रलयमा देखापर्ने महामारी तिम्रै स्वरूप हो
अजन्माहुन् भगवती प्रदान गर्छिन् अति,
भनिन् देवीले….

कहिले बन्छ्यौ महामारी अनि कहिले सृष्टिरूपा
संसारलाई पालन गछ्र्यौ दिइ अन्न फलपूmल झुपा
शान्तिरूपमा संसार चल्छ राख्छ्यौ सबलाई कृपा
त्रिलोकमै प्रकाश छर्ने तिमी महामयी हौ दीपा,
भनिन् देवीले….

धनधान्य भरिपूर्ण तिम्रो त्यहाँ बास
तिमी रहित देखिन्छ दरिद्री र त्रास
गास बास कपास हो तिम्रै दयारूप
तिम्रो कृपा हटेमा हुन जान्छ ह्रास,
भनिन् देवीले

पुष्प धूप अनि गन्ध खुबै मनपराउने
भक्तजन सबमा तिमीले सृष्टि गराउने
धनधान्य पुत्रपुत्री एवम् बुद्धि प्रदान गर्ने
महान हौ महामाया सबलाई प्रीति छर्ने
भनिन् देवीले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *