Skip to content

सुनमा त्यस्तो के छ हँ ? सुनमाया !


तृष्णाको सर्वोच्च सगरमाथा वा भ्रमित आकाश
चुम्बकले फलाम तानेझैँ सुनाकर्षण
सुगन्ध न त फूलको बासना
न आङ ढाक्छ न त पेट भर्छ
न लाज छोप्छ न त भोक मर्छ
भोकको औषधी त भात नै होइन र ?
फाली त के सियो पनि बन्दैन
उपयोगी फलामलाई मान्छे किन गन्दैन ?
सम्बन्ध जोड्ने साँघु र
सम्बन्ध तोड्ने खोलो
राजा—महाराजाको तथाकथित भाउ
जो बिकामे, उसकै उच्च ओहोदा
जो मूल्यहीन, उसकै सर्वोच्च मर्यादा
के ठ्याक्कै त्यस्तै होइन र तिम्रो सुन
सुनमा त्यस्तो के छ हँ ? सुनमाया !

न उज्यालो दिन्छ न न्यानो
न ओड्नुहुन्छ न ओछ्याउनु
न रोग मर्छ न त शोक नै
घाम र पानीबाट बच्न घर नै चाहिन्छ
तिम्रो सुनमा कुनचाहिँ के पाइन्छ ?
सुनमा त्यस्तो के छ हँ ? सुनमाया !

पर्खाल ठडिन्छ, बन्छ घर ढुङ्गाको
बिरुवा उमार्छ, फलाउँछ अन्न माटोले
दिन्छ —काठ र दाउरा रूखले
कुहेर बन्छ मल पत्कर पनि
बनाउँछ घर कि बिरुवा उमार्छ
फलाउँछ अन्न कि काठ दिन्छ
कि कुहेर मल बन्छ पत्कर जस्तो
सुनमा त्यस्तो के छ हँ ? सुनमाया !

कसैले एउटा ढुङ्गो ठड्यायो
त्यही सनकीले त्यहाँ फूल चढायो
अर्कोले चढायो, क्रमश : अर्कोले
अन्धो समाजले ढुङ्गालाई देवता घोषणा गर्यो
युग, युगसम्म ढुङ्गालाई फूल राखेर ढोगिरह्यो
कसैले पहेँलो धातु टिप्यो र
गलामा लायो क्रमश : नाक, कान, औँला र नाडीमा
अनि एकसुरले विज्ञापनको मुरली बजाइरह्यो
सुनको नाम दिएर महिमा—गान गाइरह्यो
नकल गर्दागर्दै एकपछि अर्कोले क्रमश :
सुन नाम प्राप्त त्यो धातु सगरमाथा चढ्यो
चुपचाप त्यो सगरमाथामा उपरखुट्टी बस्यो
होइन भने बताइदेऊ मलाई : कार्य र उपयोगिता
सुनमा त्यस्तो के छ हँ ? सुनमाया !

साहिँली औँलाले मोल सोध्छ ग्राहक
“पच्चिस”लाई मुख खोलेर “पिच्चिस” भन्छ पसले
चोरऔँला छाडेर किन यो साहिँली औँला ?
छँदाखाँदाको “पच्चिस” किन भो “पिच्चिस”
ओडिरहेछ किन समाज यो आडम्बरी बर्को ?
यो बिना, विवाह कसैको नहुने
विहीन शरीर, पाहुनामा पनि नखुल्ने
माइत जान अड्किन्छन् बुहारीहरू
निषेधाज्ञामा बर्जित घर जाने छोरीहरू
आफन्तको सम्बन्ध पर, धेरै टाढा
कति निकटको सम्बन्ध अति गाढा
सुनमा त्यस्तो के छ हँ ? सुनमाया !

रामविक्रम थापा
फाक्टाङ—२, कृष्णगर्त, खोटाङ
मो.नं. ९७५३००४३६०
rambikramthapa @ gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *