Skip to content


परिचय

पिता रामचन्द्र कोइराला र माता शकुन्तला कोइरालाको सुपुत्र श्रीकान्त कोइरालाको जन्म गीतानगर गा.वि.स.–७मा २०२६साल असोज १० गते भए पनि हाल उहाँ गीतानगर गा.वि.स.–९ पारसनगर चितवनमा बसोबास गर्दै आउनु भएको छ । उहाँ पेशाले अध्यापन गर्नुहुन्छ । उहाँ २०५१सालबाट साहित्यलेखन आरम्भ गर्नुभएको थियो । उहाँले आज बालकविता लेखेर बालकवि बन्न सफल हुनु भएको छ । एउटा शिक्षकले बालकविता लेख्नु निश्चय नै सकरात्मक काम हो किनकि एउटा सफल शिक्षकले बालबालिको मनोभावलाई बुझेर पढाउँन सक्छ र बालबालिकाको भविष्य उज्ज्वल,बन्न जान्छ । श्रीकान्त कोइरालाले १५ गीतहरू, चारओटा फुटकर कविताहरू, १६ ओटा कविताहरू र एउटा पप गीत समावेश गरेर बाल सुसेलीको सिर्जना गर्नुभएको छ । यी बालकविताहरूले बालकको मनोविज्ञानलाई समेटेर अगाडि बढ्ने प्रयास गरेको छ ।

यस कृतिको प्रकाशकीय पल्लव साहित्यका अध्यक्ष गोर्खे साइँलाले मिठो बालकविताबाट थालनी गर्नुभएको छ –

छुनु–मुनु छुनु–मुनु हाम्री सानी छोरी
कापीभरी छोरीले त कविता पो कोरी ।
पढ्न थाली लेख्न थाली धेरै ज्ञानी बनी
बाल–सुसेली समाउँछे रमाएर नानी
(गोर्खे साइँलो)

कृतिभित्र पस्दा –
कृति विविध बालकविताहरूले भरिएको छ । ती बालकविताहरूका केही पङ्क्तिहरू यहाँ मैले उतार्ने काम गर्दै छु । साना नानी बाबुको कलिलो उमेर भनेको भविष्य निर्माणमा लाग्ने बेला हो । अभिभावकले यस समयमा बालबालिकालाई उनको मनोभावलाई बुझेर कुलतबाट जोगाई कर्मशील बनाउनको लागि सधैं प्रयासरत रहनु पर्दछ । बालबालिका पढाई लेखाईमा आफै पढ्नु पर्छ भन्ने धारणामा जागृत गराउनु पर्दछ, यस्तो काम यातना तथा ताडना दिएर हैन स्वत जागृत बनाउने काम गर्नु पर्छ –

एैले हाम्रो बानी निर्माण गर्ने बेला हो
समय बर्वाद गर्नेलाई पक्कै पछुतो पो भो
(कस्ता गीत राम्रा, पृष्ठ १४)

समयको सदुपयोग गर्ने बानी बालबलिकालाई सानो उमेरबाटै लगाउनु पर्दछ । समय गतिशील छ । समयले कसैलाई पर्खदैन । समयमा नै बालबालिकाले एउटा उद्देश्यलाई, जस्तै डाक्टर, इञ्जिनियर, शिक्षक, प्रशासक, मन्त्री के बन्ने हो सो को निर्धारण गरेर अघि बढ्यो भने अवश्य नै, प्राप्त गर्न सकिन्छ र भविष्यमा ठूलो मान्छेको साथसाथै असल मान्छे बन्न सकिन्छ ।

पढ्छौ, पास हुन्छौं ठूलो नाम पाइहाल्छौ
समाजमा प्रतिष्ठित व्याक्ति हामी त भइहाल्छौं
(कस्ता गीत राम्रो, पृष्ठ १४)

लेख्छौं बुझ्छौ अङ्ग्रेजी, हिसाव सबै विषय
स्कुल घरमा रमाउनुहुन्छ सफा भए
(हामी बाबु नानी पृष्ठ १६)

समय व्यार्थै नगुमाऊ पछि पो पछुतो
त्यसैले आज पहिल्यै पढ हुन्छ है महत्त्व
(पढाइको महत्त्व पृष्ठ २५)

साहित्य समाजको दर्पण हो । बालबालिका समाजका अभिन्न अङ्ग हुन । बालबालिकाको भविष्य निर्माणमा समाजको प्रभाव प्रत्यक्ष पर्दछ । नैतिकता, स्वावलम्वन, इमानदारिता, सामाजिक रीतिथिति आदि सबै बालबालिकाले समाजबाटै ज्ञान आर्जन गर्ने हुन् तथा सिक्ने हुन् । सर्बप्रथम सिक्ने थलो तथा प्रथम पाठशाला भनेको घर हो । आमा बाबु नै प्रथम गुरुवा र गुरुआमा हुन पुग्दछन् । त्यस पछिको सिक्ने थलो भनेको स्कुल र सिकाउने कर्ताहरूमा शिक्षक शिक्षिका पर्दछन् । यी दुवै स्थानमा बालमनोभाव तथा बालमनोविज्ञानलाई बुझेर बालबालिकाको बाल हृदयमा प्रवेश गरी नैतिकता र स्वावलम्वीपनाको ज्ञान दिन सक्नु पर्दछ । काँचो माटोको डल्लो र बालबालिकालाई हामीले तुलना गर्न सक्छौं । काँचो माटोलाई हामीले जस्तो आकार दिन चाहान्छौं त्यस्तै आकार दिन सक्छौं । बाल बालिकाको कलिलो उमेरमा उनीहरूको भावी जीवनको सवलता र सक्षमतालाई पूर्णता दिन सकिन्छ । उनीहरूलाई जस्तो मार्गमा लान चाह्यो त्यस्तै मार्गमा लान सकिन्छ । हेरौं कविले दिएको मार्गदर्शन –

बढ्दै जाऊ बहिनी तिमी पढ्दै जाऊ तिमी
भोलि देशको कर्णधार बन्न सक तिमी
बलवान होऊ स्वस्थ ज्ञानी बन तिमी
दाजु–दिदीहरू साथ मिली बस तिमी
(सानी बहिनीप्रति पृष्ठ २७)

एक दिनको ढँटुवा सधैंलाई ढटुवा
इमान ठूलो हुन्छ गर्छन वाह वाह
सभ्यता त आफ्ना घरबाट सिक्छौ हो
यस्ता कुरा सम्झनलाई कैले सक्ने हो

साहित्यकारहरू प्रकृति सौन्दर्यतामा लोभिन्छन् । प्रकृतिको वर्णनमा आफ्नो धारणा पोख्दछन् र सबैलाई प्रकृतिको मीठो रसस्वादन गराउँछन् । यस बाल कृतिमा पनि कृतिकारले आफ्ना प्रकृतिको सौन्दर्यतामा धारणा राख्दै बालबालिकालाई हौसाएका छन् । पानी भरिएको पोखरी, यो तातो पानीको महत्व, प्रकृति प्रेम, चराको गीत, फलफूलको गीत, प्रकृतिसँग जोडिएका कविता हुन् । यी कविता मार्फत कविले आफ्ना उपदेश मूलक धारणा पोखेर प्रकृतिसँग सजिन आग्रह गरेका छन् ।

कटहर बढ्दैछन् अहिले
पाकेपछि खाऔंला सबैले,
(फलफूलको गीत, पृष्ठ ४२)

ए डाङ्ग्रे भँगेरा
हुर्कायौ नि बचेरा
(चराको गीत पृष्ठ ४१)

अहिले पानी पर्यो
चिसो हावा चल्यो
यस्तोमा कहाँ पो जान सकिन्छ र ?
बरु प्रकृतिको कुरा गरी बसे भो ।
(प्रकृति प्रेम, पृष्ठ ४०)

बालबालिकाहरू आफ्नो चाडपर्वमा रमाउँछन् । नयाँ नाना लगाउँछन् । फाउ पुर्नेको शुभ वेलामा कविता मार्फत कविले फागु फूर्णिमामा रङ्गका गोला हान्दा हुने शारीरिक क्षती तथा रोगबाट बच्नु पर्दछ र यस्तो समयमा साथी भाइ भेट्ने मीठा मीठा खाना खाने भन्ने धारणा पोखेका छन् । तिहार जस्ता पर्वमा पड्का पड्काउन, तास जुवा कौडा खेल्न नहुने सन्देश दिइएको र लक्ष्मीपूजा गर्ने, टीका लगाउने, भैलीद्यौसी खेल्ने जस्ता राम्र काम गर्नु पर्दछ भन्ने धारसणा राखिएको छ ।

नेताहरू पनि
भैलोद्यौसी खेल्ने
घरदैलो गर्ने
राम्रै काम हो नि
(तिहार पृष्ठ ४५)

साहित्यकारको चिनारी पनि यस कृतिले दिन खोजेको छ ।आदिकवि भानुभक्त आचार्य,आधुनिक कवि गोपाल प्रसाद रिमाल, आयमेली कवि तिलविक्रम नेम्वाङ, आशुकवि शम्भुप्रसाद ढुङ्गेल, इतिहास शिरोमणि आचार्य बाबुराम, कविशिरोमणि लेखनाथ पौडेल, जनकवि केशरी धर्मराज थापा, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नेवारी महाकवि अमात्य सिद्धिदास, वाद्य शिरोमणि उस्ताद गणेशलाल, विद्वत शिरोमणि हेमराज, सोमनाथ, युवा कवि(शिङ्गारिक कवि) मोतीराम भट्ट, सङ्गित शिरोमणि, यज्ञराज, सङ्गित प्रवीण नरराज ढकाल युगकवि सिद्धिचरणण श्रेष्ठ र राष्ट्र कवि माधव घिमिरेका नामहरूलाई बालबालिकालाई चिनाउने प्रयास गरिएको छ ।

बालबालिकाले भविष्यमा उच्चशिक्षा हाँसिल गर्न, विदेशमा जागिर खानको लागि विदेशी भाषाको ज्ञान हुनु आवश्यक छ भन्ने संदेश पनि दिन खोजिएको छ । कुलतमा लागेका बालबालिकालाई पनि व्यङ्ग गर्न छाडिएको छैन । लामो लामो कपाल पाल्न नहुने,, पढ्न छाडेर सुकुल गुण्डा बन्न नहुने,अनुशासित बन्न पर्ने जस्ता गहकिला कुरालाई समावेश गरिएका छन् । शान्तिका प्रतिक गौतम बुद्धको पनि स्मरण गरिएको छ –

शान्तिरोज्न सिकायौ
ज्ञानको बाटो देखायौ
लुम्बिनीमा जन्मियौ
संसारमा चम्कियौ
(बुद्ध तिमी पृष्ठ ५३)

बाल सुसेलीमा बालबालिकको सुसेली प्रष्टरूपमा प्रष्टिन पुगेको छ । सुसन्देश प्रकट गरेको यो कृतिमा केही सुधारका पक्ष पनि छन् । जेहोस् कृतिकारले आफ्ना भावनालाई उपदेशको रूपमा बालबलिकामा सबल र सक्षम, अनुशासित, स्वालम्वी बन्न, बाबाआमालाई आदर गर्न प्राकृतिक सुन्दरतामा रम्न र अध्ययनमा लगनशिल हुनको लागि आग्रह गरेका छन् । कृतिले बालालिकालाई सुसन्देश प्रवाह गरेको छ । कृतिकारलाई धन्यवाद दिंदै अन्त्यमा मेरा आफ्न्नै केही हरफ यहाँ पस्कन चाहन्छु ।

हामी साना बाबु नानी
पढ्छौ सधै बनी ज्ञानी,
आफ्नो काम आफैं, गर्छौ
भावी पथ आफै खन्छौं

नैतिकता अवलम्बन्
साथै बन्छौ स्वावलम्वन्
राष्ट्र अनि राष्ट्रियता
हामी पार्छौ प्रवलता

हामी नै हौ कार्णधार
सक्षम पार्ने मूलाधार
नेपालको माटो छोइ
प्रण गर्छौ मन धोइ

सदानन्द अभागी

1 thought on “बाल सुसेली नियाल्दा”

  1. सदानन्दजीले मेरा लागि ता याे
    सदानन्दजीले मेरा लागि ता याे कृति पढ्नै नपर्ने पनि हुने अवस्थाकाे सिर्जना गरिदिनु भो । मलाई उहाँकाे यति राम्रो समीक्षाकर्म देखेर भुरी भुरी प्रशम्सा गर्न मन मन लागेकाे छ । तपाइँकाे कलम यस दिशामा निकै तिखराे भइरहेकाे छ । अझै गति लिन सकोस् शुभकामना छ । अनि सदानन्दजी मझेरीकाे मेरो अन्तर्वार्ता पढ्नु भएकाे कुरा ता थाहा पाइनँ नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *