Skip to content

“सत्य सङ्घर्षका कथाहरू” कथासङ्ग्रहका समीक्षाहरू

20151231_BijjuSubediBijay-Lekh


विषयगत विविधता

“सत्य सङ्घर्षका कथाहरू” विजु सुवेदी ‘विजय’का अढाई दर्जन कथाहरूको सङ्ग्रह हो । सामाजिक कथाहरूको बोलवाला रहेको सङग्रहमा प्रेम कथाहरू पनि समेटिएका छन् । सङ्ग्रहमा आन्दोलन सम्बन्धी कथाहरूलाई पनि उत्तिक्कै स्थान दिइएका छन् । एउटा विज्ञान कथा पनिरहेको सङ्ग्रहमा विषयगत विविधता पाइन्छन् ।

२०७२ साउन ३०
कान्तिपुर राष्ट्रिय दैनिक
‘कोसेली’ शनिवासरीय साहित्यिक परिशिष्टाङ्क

प्रगतिपथका कथा

युवा कथाकार विजु सुवेदी ‘विजय’ कथा सङ्ग्रह “सत्य सङ्घर्षका कथाहरू”मार्फत बजारमा आएका छन् । प्रगतिवादी धारतिर ढल्किएका उनका कथा अलि फरक शैलीमा लेखिएका छन् । नेपाली समाज र मनोविज्ञानसँग तिनको सम्बन्ध छ । देशभक्ति र स्वतन्त्रताको चेतना बोकेका कथाले राजनीतिक नेतृत्त्वको अकर्मण्यता र जनताको अल्छीपनप्रति व्यङ्ग्य गरेका छन् । सच्चा क्रान्तिकारीले देश, जनता र परिवर्तनका लागि गर्ने सङ्घर्ष र बलिदानको उपादियतामाथि कथाले बोलेका छन् । बढी विचारात्मकजस्ता लाग्ने कथाहरूभित्रका प्रेमकथाले पाठकलाई लोभ्याउँछ ।

२०७२ भदौ १२
नागरिक राष्ट्रिय दैनिक
‘अक्षर’ शनिवासरीय साहित्यिक परिशिष्टाङ्क

फरक किसिमको कथा सङ्ग्रह
— ज्ञानमणि नेपाल कालोटोपी

नेपाली साहित्यमा एउटा फरक सङ्ग्रहले प्रवेश पाएको छ । केही कथा जस्तो, केही निबन्ध जस्तो त केही संस्मरण जस्तो लाग्ने भए पनि आखिर यो कथा नै हो । यो अनौथो खालको कथालाई कथा सङ्ग्रहको रुप दिने जमर्को गरेका छन्, युवा साहित्यकार एवं पत्रकार बिजु सुवेदी “विजय”ले । २८वटा कथाहरू समेटेर प्रकाशन गरेको यस सङ्ग्रहको नाम हो “सत्य सङ्घर्षका कथाहरू” ।

पाठकले नयाँपनको आभास पाउनु रत्न पुस्तक भण्डारले प्रकाशन गरेको यस कथा सङ्ग्रहको विशेषता हो । माओवादी जनयुद्धताका जनताले भोग्नु परेको दोहोरो मार, समाजमा छोरीमाथि हुने गरेका अन्याय, भेदभावलगायतका विषयसहित भूकम्प र यसको त्रास अनि विश्वमा बढ्दै गरेको जनसंख्या र यसले पार्नसक्ने खाद्य अभावलाई पनि कथाकारले घतलाग्दो पाराले उठाएका छन् । कथा ‘साइकलले घनिष्ठ बनायो’मा मानिसका बीचको आपसी सम्बन्धलाई उजागर गर्न खोजिएको छ । ‘इज्जतको बिहे’ कथामा समाजमा कायम रहेको दाइजो प्रथाले पारेको नकारात्मक प्रभावलाई उतार्न खोजिएको छ । त्यस्तै ‘अत्याचारी फातुक’मा कुनैपनि परिवर्तनका लागि हतियार नै उठाउनु पर्छ भन्ने सोचाइ गलत रहेको विषय उल्लेख गरिएको छ । ‘इथिक्सको वैज्ञानिक चमत्कार’ शीर्षकको कथामा वातावरणीय उष्णताको समस्यालाई उठाइएको छ । ‘जय मातृभूमि’ र ‘समृद्ध नेपाल’ शीर्षकको कथा देशभक्तिले ओतप्रोत भएका कथाहरू हुन् । ‘डल्ले र डल्ली’ कथा समाजमा ब्याप्त अल्छीपनाको उजागर गर्ने खालको कथा हो ।

त्यस्तै “मैना सुनार” यथार्थपरक कथा हो । यसमा जनयुद्धको समयमा काभ्रे जिल्लाको पाँचखालस्थित ब्यारेकमा माओवादीको बिल्ला भिराएर एउटी निर्दोष बालिकालाई सेनाले अपहरणपछि बलात्कार गरेर हत्या गरिएको यथार्थ विषय उठाइएको छ । ‘बच्चा जन्मँदा’ कथा पारिवारिक कथा हो भने ‘म झनै भगवान्को भक्त भएछु’ कथा भूकम्पको त्रासले गर्दा उत्पन्न मानसिक प्रभावको विषय उतारिएको कथा हो । ‘नेता’ शीर्षकको कथामा नेपालका राजनीतिक दलहरूप्रति व्यङ्ग्य प्रहार गरिएको छ । त्यसै गरी ‘प्रेमिकालाई पत्र’ र ‘विचरा विनोद’ प्रेम विषयले ओतप्रोत कथाहरू हुन् ।

यस्ता थुप्रै कथाहरू छन् । जति पढ्यो त्यत्ति पढिरहुँ लाग्ने र अब यसपछि के होला ? भन्ने कौतुहल जगाउने खालका कथाहरू यस सङ्ग्रहमा छन् । तर लघुकथालाई पनि कथा माान्नु र खण्डकाव्यलाई पनि कथा मान्नखोज्नुले पाठकलाई भ्रममा पार्न सक्छ । तर जे छन् सन्देशमूलक नै छन् । यो कथा सङ्ग्रह वास्तविकजस्तै लाग्नेछ । “तपाईंले जति कष्ट दिनुहुनेछ त्यत्ति नै मलाई ऋण चुक्ता गर्न सजिलो हुनेछ” भन्ने उनको मान्यताले कथालाई थप रोचक बनाएको कुरामा भने गर्व गर्ने प्रशस्त ठाउँहरू छन् ।

२०७२ भदौ १९ शनिवार
नेपाल समाचारपत्र राष्ट्रिय दैनिक

ऐतिहासिक पुस्तक बन्ने सम्भावना
— जनार्जन पौडेल

नेपाली साहित्य र पत्रकारितामा एउटा चिरपरिचित व्यक्तित्त्व हुन् विजु सुवेदी ‘विजय’ । पत्रकारिता र लेखनमा डेढ दशकभन्दा बढी समय बिताएका सुवेदीले आफ्ना लेखन र पत्रकारिताको लामो अनुभवहरूलाई बटुलेर एउटा उत्कृष्ट रचना तयार गरेका छन् जसलाई उनले ‘सत्य सङ्घर्षका कथाहरू‘ भनेर न्वारान गरेका छन् । यसभित्रका कथाहरू पनि शीर्षक झैँ सत्य सङ्घर्षका जस्ता नै देखिन्छन् । जसमा कतै विजुजीले स्वयंले भोगेका अनुभूतिलाई कथाको रुप दिइएको जस्ता बुझिन आउछन् भने धेरैजसो चाहिँ आम मानिसले भोग्दै आएका पीडा र वेदनाका कथाहरू प्रस्तुत छन् । केही कथाहरू नित्तान्त उनका जीवनका व्यक्तिगत अनुभूति जस्ता देखिन्छन् भने धेरैजसो कथाहरू भने लाखौं नेपालीका दैनिकीसँंग मिल्दाजुल्दा छन् । जे होस् नेपाली साहित्यमा एउटा फरक र उत्कृष्ट सङ्ग्रहले प्रवेश पाएको छ ।

दश वर्षे माओवादी जनयुद्वदेखि १९ दिने जनआन्दोलनसम्मका कथाहरू यसमा समावेश छन् । क्रान्तिकारीहरूको बलिदानको गाथा गाइएको यस भागलाई नै लेखकले सत्य सङ्घर्ष भन्न खोजेका होलान् जस्तो लाग्दछन् । त्यसमा पनि “कैदी कमरेडको डायरी” शीर्षकको कथा धेरैको मन छुने कथा बन्न पुगेको छ । उनले पुस्तकको अन्तिममा ३१ नम्वरमा भएका कथाहरूको शीर्षक “सत्य सङ्घर्षका कथा” भने पनि यथार्थमा उनको सिङ्गो पुस्तकका सबै कथाहरू नै ‘सत्य सङ्घर्षका कथा’ जस्ता देखिन्छन् ।

झट्ट हेर्दा केही कथा जस्तो, केही निवन्ध जस्तो त केही संस्मरण जस्तो लाग्ने भए पनि आखिर यो कथा नै हो । लेखकले पुस्तकमार्फत राम्रा–राम्रा कथाहरूको कथासङ्ग्रहको रुप दिने जमर्को गरेका छन् । उनले यसमा २८ वटा कथाहरू समेटेका छन् कथाको विषय वस्तुहरू हेर्दा लाग्दछ उनको लामो समय देखिको मेहेनत र रचना हो यो । जसले नेपाली जनजीवनको सत्यतालाई उजागर गरेका छन् ।

हालै मात्र बजारमा आएको यस सङ्ग्रहलाई रत्न पुस्तक भण्डारले प्रकाशन गरेको छ । कथा पढ्दै जाँदा पाठकले नयाँपनको आभास पाउनु यस सङ्ग्रहको विशेषता हो । केही कथा निकै छोटा छन् त केही निकै लामा तर पढ्दै जाँदा पट्यारलाग्ने खालका कथा कुनै छैनन् । जुनसुकै कथा पनि पढ्दै जाँदा कौतुहलता जगाउने खालकै कथाहरू छन् । जसका अधिकांश कथाहरू कथा मात्र नभएर वास्तविकता जस्तै लाग्ने र हामै्र गाउँठाउँ समाजका यथार्थ कथा हुन् भन्ने पाठकलाई लाग्दछ । कथा पढ्दै जाँदा सबैलाई लाग्छ कि लेखकले वास्तविक घटनाहरूलाई कथामार्फत प्रस्तुत गर्न खोजेका छन् । माओवादी जनयुद्धताका जनताले भोग्नु परेको दोहोरो मार, समाजमा छोरीमाथि हुने गरेका अन्याय, भेदभावलगायतका विषय मात्र कथाकारले समेटेनन्, भूकम्प र यसको त्रास अनि विश्वमा वढ्दै गरेको जनसंख्या र यसले पार्न सक्ने खाद्य अभावलाई पनि उनले निकै घतलाग्दो पाराले उठाएका छन् ।

यसर्थ कथाकारले भन्न खोजेको कुरा यसरी बुझ्न सकिएला कि ! कथा ‘आमाको पुकार’मार्फत आमाको महिमाको वर्णन गर्ने देखि लिएर ‘साइकलले घनिष्ठ बनायो’मा मानिसका बीचको आपसी सम्बन्धलाई उजागर गर्न खोजिएको छ । ‘इज्जतको बिहे’ कथामा हाम्रो समाजमा कायम रहेको दाइजो प्रथा र त्यसले पारेको नकारात्मक प्रभावको बारेमा उतार्न खोजिएको छ । त्यस्तै ‘अत्याचारी फातुक’मा कुनै पनि परिर्वतनका लागि हतियार नै उठाउनुपर्छ भन्ने सोचाइ गलत रहेको विषय उल्लेख गरिएको छ । ‘इथिक्सको वैज्ञानिक चमत्कार’ शीर्षकको कथामा वातावरणीय उष्णताको समस्यालाई उठाइएको छ । ‘जय मातृभूमि’ र ‘समृद्ध नेपाल’ शीर्षकको कथा देशभक्तिले ओतप्रोत भएका कथा हुन् । ‘डल्ले र डल्ली’ कथा समाजमा व्याप्त अल्छीपनाको उजागर गर्ने खालको कथा हो । त्यस्तै ‘मैना सुनार’ यथार्थपरक कथा हो । यसमा जनयुद्धको समयमा काभ्रे जिल्लाको पाँचखालस्थित व्यारेकमा माओवादीको बिल्ला भिराएर एउटी निर्दोष बालिकालाई सेनाले अपहरणपछि बलात्कार गरेर हत्या गरिएको यथार्थ विषय उठाइएको छ । यो कथा एकदमै कारुणिक र मार्मिक लाग्ने छ यसले धेरैको मन छुने निश्चित छ । ‘बच्चा जन्मँदा’ कथा पारिवारिक विषय भएको कथा हो भने ‘म झनै भगवान्को भक्त भएको छ‘ु कथा भूकम्पको त्रासले गर्दा उत्पन्न मानसिक प्रभावको विषय उतारिएको कथा हो । ‘नेता’ शीर्षकको कथामार्फत नेपालका राजनीतिक दलहरूप्रति तीखो व्यङ्ग्य प्रहार गरिएको छ । त्यसैगरी ‘प्रेमिकालाई पत्र’ र ‘विचरा विनोद’ प्रेम विषयले अत्यन्तै भरिला कथा हुन् । ‘भ्रूणको हत्या नगरौं’ कथा शीर्षकले नै प्रष्ट छ । यसमा पछिल्ला दिनहरूमा वढ्दो गर्भपतनको विषय प्रस्तुत गरिएको छ । यसमा यस्ता थुप्रै कथाहरू छन्, जसले समग्रमा “सत्य सङ्घर्षका कथाहरू”लाई वास्तवमै सत्य सावित गरिदिएका छन् ।

कथा सङ्ग्रहको राम्रो पक्ष के छ भने यो पुस्तक जति पढ्यो त्यति नै पढौं–पढौं लाग्ने र अब यसपछि के होला ? भन्ने कौतुहल जगाउने खालका बनेको छ । यसमा उठाइएका महत्त्वपूर्ण कुराहरूले गर्दा भविष्यमा यो एउटा ऐतिहासिक पुस्तक बन्ने सम्भावना बोकेको पुस्तक बन्नेछ भनी दाबी गर्न सकिन्छ । तसर्थ यो एउटा पठनीय मात्र नभई सङ्ग्रहणीय कथा सङ्ग्रहको रुपमा पनिरहेको छ ।

समग्ररुपमा कथा सङ्ग्रह राम्रो छ यद्यपि केही कमी कमजोरीमा चाहिँ कुनै–कुनै कथाहरू अलि जो कोही पाठकले बुझ्न नसक्ने हो कि जस्तो भान पनि हुन्छ । यसैगरी लघुकथालाई पनि कथा मान्नु र खण्डकाव्यलाई पनि कथा मान्न खोज्नुले पाठकलाई भ्रममा पार्न सक्छन् जस्तो लाग्छ । तर जे छन् जति छन् सन्देशमूलक नै छन् । सोचनीय पनि छन् । यसर्थ यो कथा सङ्ग्रह वास्तविकता जस्तै लाग्नेछ । उनले भनेझैँ मेरो वास्तविक विचारको उपजवाट जन्मेको भनेका छन् । उनका वास्तविक विचारहरू समाजका लागि उपयोगी र रोचक हुनेछन् जसका लागि पाठकले पक्कै पनि एक पटक यो पुस्तक किनेर पढ्न जरुरी छ ।

सङ्घर्ष सिकाउने सत्य कथाहरू
— रामजी बलामी

सत्य बोल्नेलाई पागल ठान्छन् यहाँ ।
सत्य बोल्नेलाई लगेर जाक्छन् यहाँ ।।
मिहिनेत परिश्रम गर्नेलाई दुःख मात्र दिई,
सबैको हित हेर्नेलाई लात हान्छन् यहाँ ।

समाजको यथार्थता बोल्ने देहायका हरफहरू कथाकार “विजय”को कथा सङ्ग्रह ‘सत्य सङ्घर्षका कथाहरू’बाट लिइएको हो । विभिन्न स्वादमा रहेका २८ वटा कथाहरूको सङ्ग्रह रहेको यस पुस्तकमा प्रेम, संवाद, भूकम्प, कानून, विज्ञान, आन्दोलन, सामाजिकलगायतका कथाहरू रहेका छन् । हरेक कथाले सामाजिक यथार्थता र चेतनाको दियो बाल्ने कोशिस गरेका छन् ।

पुस्तकमा समावेश पहिलो कथा ‘आमाको पुकार’मा आफूलाई जन्म दिने आमाको गुणगान र आमाप्रति पुरा गर्नुपर्ने कर्तव्यहरूका वारेमा नैतिक शिक्षासहितका कुराहरू उल्लेख छन् । त्यस्तै ‘साइकलले घनिष्ठ बनायो’ कथामा एउटा साइकलले बढाएको मित्रता र मित्रताको महत्त्वलाई उजागर गरेको छ । ‘इज्जतको बिहे’ कथामा इज्जतकै लागि बिहेमा गर्ने अनेक तरिकालाई व्यङ्ग्य शैलीमा प्रस्तुत गरिएको छ । त्यस्तै ‘इथिक्सको वैज्ञानिक चमत्कार’ कथामा आगामी १०००देखि ३,००० सालसम्मको कल्पना गरिएको छ । बढ्दो जनसंख्याका कारण उत्पन्न हुने मानवीय संकटलाई यस कथामा परिकल्पना गरिएको छ ।

त्यस्तै मातृभूमिप्रतिको दायित्त्व, जनयुद्धका क्रममा हत्या गरिएका ‘मैना सुनार’को कथाहरू पनि उल्लेख छ । ‘बच्चा जन्मँदा’ कथामा प्रसव पीडा र आफन्तका व्यवहारलाई केलाउने प्रयास गरिएको छ । ‘सल्किएपछि’ शीर्षकको कथामा अवैध बैवाहिक सम्वन्धमा समाज र परिवारलाई पार्ने नकारात्मक असरका वारेमा उल्लेख छ । नेता, विचरा विनोद, सविताको माया, विवेक, भ्रूणको हत्या नगरौं, लेखक र प्रकाशकलगायतका कथाहरू पनि रोमाञ्चक र शिक्षाप्रद देखिन्छ । ‘प्रेमिकालाई पत्र’ एकदमै प्रेमील अभिव्यक्ति प्रदर्शन गर्ने, अद्वितीय प्रेममा समर्पित पत्र–कथाका रुपमा सालिन रुपमा प्रस्तुत भएको देखिन्छ ।

संक्षेपमा भन्नुपर्दा नेपाली समाजको यथार्थ चित्रण वुझ्न पुस्तकले खुराकको काम गरेको देखिन्छ । १० वर्षे माओवादी युद्धका क्रममा सेना र माओवादीले गरेको अत्याचारबाट जनताले पाएको सास्तीहरू पनि अध्ययन गर्न पाइन्छ । यसका साथै २०४६/४७ र २०६२/६३ को जनआन्दोलनका वारेमा वुझ्न पनि पुस्तक उपयोगी छ ।

समग्रमा पुस्तकले सबै क्षेत्र समेट्न खोजेकाले पनि होला कतिपय कथाहरू पढ्दै जाँदा लघुकथा, निवन्ध र लेख जस्तो आभास हुने गर्दछ । नेपालको राजनीतिक घटनाक्रम, समाजका विविध व्यवहारिक संरचना र मायाप्रेमका क्रममा देखापर्ने खुसी तथा पीडाहरूका वारेमा पुस्तकमा अध्ययन गर्न पाइन्छ ।

गतिलो पाठशाला बन्नसक्छ
— राजन पनेरु

नेपाली साहित्यका उदाएका एक परिश्रमी लेखक बिजु सुवेदी “विजय” हुन् । कथा, लघुकथा, कविता, गीत, गजल, निबन्धलगायत विविध विधामा उनको कलम चलेको पाइन्छ । उनका विभिन्न विधामा लेखिएका करिव एक दर्जन जति पुस्तकहरू बजारमा आइसकेका छन् । पछिल्लो समय रत्न पुस्तक भण्डारले बिजु सुवेदी “विजय”को कथा सङ्ग्रह “सत्य सङ्घर्षका कथाहरू” बजारमा ल्याएको छ । पुस्तकभित्र प्रेम, संवाद, भूकम्प, कानून, विज्ञान, आन्दोलन, सामाजिकलगायत विभिन्न वर्गभित्र पसेर केलाइएका कथाहरू छन् । यी कथाहरूले नेपाली समाजका विभिन्न पक्षहरूलाई आफ्नो विषयवस्तु बनाएका छन् । कतै चोटिलो व्यङ्ग्य छन् त कतै चेतनामूलक सन्देशहरू छन् । कतिपय कथाहरू यति क्रान्तिकारी र भयानक छन् कि जहाँ बिजु सुवेदी “विजय” ज्वालामुखी बनी शब्दका रुपमा विष्फोट भएका छन् ।

“सत्य सङ्घर्षका कथाहरू” पढ्दा के थाहा हुन्छ भने बिजु सुवेदी “विजय” धेरै मेहेनती, परिश्रमी र लगनशील छन्, विविध विषयमा उनले ज्ञान हासिल गरेका छन् साथै लेखनमा कत्ति पनि कञ्जुस्याइँ र अल्छी गर्दैनन् तथा सरल लेख्छन् । हरेक व्यक्तिका आ–आफ्नै इच्छा चाहना र रुचिहरू फरक–फरक हुन्छन् । त्यस्तै फरक–फरक स्वाद लिन चाहनेहरूले बिजु सुवेदी “विजय”को “सत्य सङ्घर्षका कथाहरू”बाट मीठो साहित्यिक अनुभूति प्राप्त गर्न सक्छन् । पुस्तकलाई मध्यनजर गरेर हेर्दा बिजु सुवेदी “विजय” राजनीति, समाज, प्रेम, क्रान्ति, धर्म, कानूनलगायत विविध विषयमा पोख्त छन् । उनको वौद्धिक क्षमता यस पुस्तकमा शब्दका रुपमा चुहिएका छन् । कथा अभिरुचि राख्ने मात्र नभएर कथा लेख्न चाहनेहरूलाई पनि “सत्य सङ्घर्षका कथाहरू” गतिलो पाठशाला बन्न सक्छ ।

‘मैना सुनार’ शीर्षकको कथामा शसस्त्र द्वन्द्वको समयमा भएको क्रुर मानवता विरोधी एक घटनाको चित्रण गरिएको छ । तर कथालाई कथाभन्दा अलि स्तम्भजस्तो बनाइएको छ । ‘बच्चा जन्मँदा’ शीर्षकको कथाले ‘सुख पर्दा सबैको हाईहाई दुःख पर्दा कोही छैनन् दाजुभाइ’ भन्ने नेपाली उक्तिलाई समेटेको छ, जहाँ यथार्थ नेपाली परिवेशलाई उठाइएको छ । ‘विचरा विनोद’ शीर्षकको कथाले दुई परिवार बीचमा हुने झगडा त्यसले निम्त्याउने परिणाम र सन्तानहरूमा पार्ने मनोवैज्ञानिक असर झल्काइएको छ । सालिन प्रेम र त्यसबाट छुट्दा हुने बेचैन मनस्थितिको पनि त्यहाँ चित्रण गरिएको छ । ‘सविताको माया’ शीर्षकको कथाले कुलतमा लाग्नु हुन्न कुलतमा लाग्नेको विश्वास हुन्न भन्ने कुरा दर्शाउन खोजेको छ । ‘विवेक’ शीर्षकको कथाले एक मजदुर बालकको कथा व्यथा बोकेको छ । साहूमहाजनबाट हुने थिचोमिचो र बढ्दै गरेको बेरोजगारीलाई यसमा उतारिएको छ । यसमा कसैगरी आफ्नो विवेक गुमाउनु हुन्न भन्ने सन्देश दिएको छ । नेपाली समाजमा बढ्दै गएको भ्रूण हत्यालाई पनि यस पुस्तकमा ‘भ्रूण हत्या नगरौँ’ भन्ने कथामार्फत चित्रण गरिएको छ । कसैको सानो लापरवाहीले हुने भ्रूण हत्या र त्यसले एक बाबुलाई पार्ने मानसिक असरलाई पनि यस “सत्य सङ्घर्षका कथाहरू”को ‘भ्रूण हत्या नगरौँ’ कथामार्फत देखाइएको छ । ‘साइकलले घनिष्ठ बनायो’ शीर्षकको कथाले वर्षौपछि भेट भएका साथीहरूको घनिष्ठता देखाइएको छ । जहाँ उनीहरूले पुरस्कारभन्दा साथीलाई ठूलो महत्त्व दिएका छन् । कथा सामान्य छ तर जीवन्त छ । ‘इज्जतको बिहे’ शीर्षकको कथाले नेपाली समाजमा हुने दाइजोजस्तो कुरीतिलाई उतारिएको छ । कसरी फैलँदैछ कुरीति ? भन्ने कुरा उठाइएको छ । ‘इथिक्सको वैज्ञानिक चमत्कार’ शीर्षकको कथाले तीब्र जनसँख्या वृद्धिले भविष्यमा आउन सक्ने भयावह स्थितिप्रति सजग गराइएको छ । यसबाट कथाकारले भविष्यप्रति अहिलेदेखि नै सजग हुनुपर्दछ भन्ने सन्देश दिएका छन् । ‘डल्ले र डल्ली’ कथामा डल्ले र डल्लीजस्ता अल्छी पात्रको माध्यमबाट कथाकारले यस पुस्तकमार्फत नेपाली अल्छी जीवनशैलीको चित्रण गरेका छन् । काठमाडौँको जाम छिचोल्दै एक वेरोजगार युवाले जागिरमा अन्तर्वार्ता दिन जान गरेको सङ्घर्ष, ऊ भित्र भएको बेचैन र उसको व्यर्थको लगावलाई निकै कलात्मक ढङ्गले ‘मीठो प्रतीक्षा’मा उतारिएको छ । नेपालमा प्रकाशकले लेखकप्रति गर्दै आएको अव्यवहार, अन्याय र वौद्धिक चोरीका कुराहरू पनि ‘लेखक र प्रकाशक’ कथामा संवाद शैलीद्वारा उतारिएको छ ।

बिजु सुवेदी “विजय”सँग कथाका विषयवस्तुहरू पनि प्रशस्त छन्, धेरै क्षेत्रको विविध विषयमा ज्ञान पनि छ, त्यसलाई बुनेर मीठो बनाएर पस्कने शैली अलि कम जस्तो छ त्यसैले लेखकले मिठासतिर ध्यान दिनुपर्ने देखिन्छ । कथा लेखक स्वयंलाई मात्र नभएर पाठकको लागि पनि हुनुपर्दछ । हरेक कथाले सन्देशमूलक मात्र भएर पुग्दैन पाठकको ध्यान अन्त्यसम्म खिँच्नसक्ने बुनोट पनि हुनुपर्दछ ।

यस पुस्तकको मुख्य कथा जुन यस पुस्तकको शीर्षक पनि राखिएको छ “सत्य सङ्घर्षका कथाहरू” जसमा माओवादी द्वन्द्वको विषयलाई उठाइएको छ । यस मूल कथाले उठान गर्न खोजेको विषय धेरै राम्रो र धेरै महत्त्वपूर्ण भएर पनि कथा र पात्रभन्दा कथाकार हावी भएको जस्तो भएकोले कथाको महत्त्वलाई अलि खस्काउन खोजेको जस्तो देखिन्छ । यो कथाभन्दा स्तम्भतिर ढल्किएको जस्तो देखिन्छ । बिजु सुवेदी “विजय”का कथाहरू निकै जोशिला र क्रान्तिकारी छन् । उनका कथाहरूले पाठकलाई मुठ्ठी उचालेर आन्दोलनमा प्रेरित गर्न सक्षम छन् । १९दिने जनआन्दोलनलाई पनि उनले यस कथामा निकै नजिकबाट केलाएर प्रस्तुत गरेका छन् जुन कुराहरू भविष्यमा एक अमिट इतिहास बन्नेछ । पाठकहरूले जनआन्दोलनलाई नजिकैबाट नियाल्ने अवसर पाउने छन् ।

2 thoughts on ““सत्य सङ्घर्षका कथाहरू” कथासङ्ग्रहका समीक्षाहरू”

  1. ‘सत्य सङ्घर्षका कथाहरु’लाई पुरै राखेको छु !!
    हो !! तपाईंले माथि तपाईंको कमेन्टमा राख्नु भएके लिङ्कमा मैले ‘सत्य सङ्घर्षका कथाहरु’लाई पुरै राखेको छु । पन्ना अलि तलमाथि पर्न गएको छ अन्त्यतिर । पहिले यो कथा मझेरिमा राख्दा धरै पाठकले पढिदिनुभएको र धेरै मार्मिक भन्ने प्रतिक्रिया आएकेले त्यसलाई परिस्किृत गरी बनाउ्रँदा धरै लामो कथा भयो । पाठकहरुले ‘पढ्न पाईँन सहजताका साथ पढ्न पाए हुन्थ्यो’ भनेकाले मैले त्यो लिङ्कको मरो ब्लगमा हालेको हुँ ।

    बिजु सुवेदी विजय
    २०७६ फागुन १ जनयुद्ध दिवसको शुभकामना सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *