Skip to content

भित्तो सफा राख्ने उपाय


स्थानको नाम दिनु राम्रो नपर्ने ठानेर मैले दिइन तैपनि यो स्थान तराईतिरको अवश्य हो । नेपालकै तराइतरिको होभन्दा पनि भयो । यसको अवस्थितिमा तपाईं बीरगन्ज, नेपालगन्ज, राजविराज वा बिराटनगरका कुनै क्षेत्रको परिकल्पना गर्न सक्नुहुन्छ । जता ठान्नुहोस् तपाईंकै खुुसी ।

त्यो थियो बैंक । अनि त्यो बैंकको भवन भव्य थियो । वरिपरि कम्पाउन्ड थियो । बाहिरबाट मात्र भव्य नभई भित्र पनि भव्य थियो । प्राइबेट बैंक भएकोले यसलाई सारै राम्रो गरी सफा र सुघर राखिएको थियो । बाहिरको उद्यान अर्थात् फूलबारी पनि मनमोहक थियो । लिफ्टबाट माथि जाने व्यवस्था थियो । लोडसेडिङका कारणले धेरै भएको थियो लिफ्न नचलेको । कोठाहरू शीतताप नियन्त्रित थिए ।

सबैतिर सफा भएर पनि माथि चढ्ने सिँढीको एक कुनामा पान खाएर पिच्च थुक्ने गरेकोले फोहोर थियो जो सबैतिरका अफिसहरूमा देखिने विशेषता नै हो । बैंकका म्यानेजरसँगा रिसाएका केही कर्मचारीहरू ता सचेत रुपमा नै त्यो कुनोमा थुक्थे । हो पिसाप भने गरिहालेका थिएनन् । कति अनूनय विनय गरे पनि पान खाएकाहरूले थुक्न छाडेनन्न रिस पोख्नेहरूको लागि ता त्यो क्षेत्र विशेष नै भएको थियो । भित्तोको निकै माथि पनि थुकेको देखिन्थ्यो । पान खाएर नथुक्नुहोला, पानको थुक यसमा थुक्नुहोला भनेर थुक्ने डस्टबिन राखियो केही सिप लागेन । भित्तामा पान खाएर थुक्न निषेध छ भनेर लेखी टाँसियो केही लागेन । स्वीपरलाई सधैंं हैरान सधैंं दास्ती । कहिलेकाहीं ता सिगरेटका ठुटा पनि फालेका देखिन थाले । मुखबाट चुसेको खैनी देखिनु पनि स्वाभाविकै थियो ।

अब केही सिप नलागेर एक दिन म्यानेजरले उपाय सोचे । भोलिपल्टै पालेलाई लिएर मन्दिरनिरको मूर्ति पसलमा गए अनि भगवान भोलेनाथको मूर्ति ल्याएर सरसफाइ गरी त्यो सधैंं सबैले थुक्ने गरिएको स्थानमा पक्का ढलाई गरेर राखिदिए । सानो मन्दिरजस्तो पनि बनाए ।

भोलिपल्टदेखि त्यो स्थानमा ता थुकाइ हुन छाड्यो । तर अर्को कुनोतिर थुकाइ सर्यो । केही आक्रोशितहरूले अर्कातिर थुक्तै भोलिपल्ट खासखुसमा भनेको सुनियो— लौ कहाँ कहाँ मन्दिर बनाउँदो रहेछ यसले । हामी पनि हेरौंला न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *