Skip to content
DeependarChand


यो दुखीको अन्तर हृदयबाट असीम माया एवम युगौं युगको अमर सम्झना ।

आज म विवश छु, र विवशताको संघारमा उभिएर तिमीसँग म यो छोटो भलाकुसारी गर्दैछु, शायद यो मेरो अन्तिम निर्णय हुन सक्छ । म हिंड्दा हिड्दै आज धेरै टाढा पुगेछु, त्यो दुरीबाट अब म फर्किन सक्दिन । जुन ठाउँमा पुगेको छु, त्यहाँबाट मृत्युको दरबार सजिलै नियालिरहेछु, ताकि, अब म कहिल्यै फर्केर तिमीसामु आउन म सक्दिन । तिमीलाई आफ्नो बनाई सजाउने सपनाहरूमा आज कालो रात भै सजिएको छ । तिमीलाई चुम्ने ओंठहरू आज पानीबिनाको गमलाको फूल ओइलाए झैं ओइलाइसकेको छ । म सपनाको धरातलमा सुन्दर महल बनाइरहेको मौका पारी मेरै सपनाको महल जलाउने विशाल चट्ट्याङ परेको छ ।

मैले हिंड्ने गोरेटोमा धाँजो फाटेको छ । त्यसैले म तिम्रो सुन्दर फूल जस्तो जीवनमा दुखै दुखको भुमरी ल्याउन चाहन्न, त्यसैले मलाई माफ गरिदेऊ तिम्रो सफल यात्राको सहयात्री बन्न सकिन, मेरो गल्तीहरूलाई माफ गर्न योग्य त छैनन होला तरै पनि कोसिस गर्नु ल । आँशुको सागरमा डुब्दा डुब्दै आज म निस्सासिएको छु । म अब तिम्रो स्वर्णिम कल्पनाहरूको राजकुमार बन्न सक्दिन । तिमीले देखेका सपनाहरूको महल ठडाउन सकिन मैले, तिम्रो जीवनमा एक पलक पनि खुशीको बहार ल्याउन सकिन, तिमीले मेरो दुखसँग बाँडेका आँशुहरूको मूल्य यो जन्ममा सकिन अर्को जन्ममा तिम्रो दासी भएर जन्मिने छु ।

मलाई थाहा छ, तिमी जहिले पनि मेरो जिन्दगीमा सागर बनेर नै रह्यौ, तर म कहिले तिमीसामु सागर बनेर आउन सकिन जहिले पनि तिम्रैसामु केवल एउटा फोका भएर तैरिरहें, तिमीले सयौं वसन्त पर्खिने कसमहरू खायौ म एक पलमा खरानी भएँ, तिमीले विशाल पहाड भएर अँगाल्न खोज्यौ म केवल धुलो भएर उडी गएँ, अब उप्रान्त कहिले मलाई सम्झेर मेरो निम्ति नतडपिनु, मेरो सबै कमजोरी भित्र गुम्सिएका विवशता सम्झी दिनु ।

तिमी महान छौ, तिमी मायालु छौ, तिमी सम्पूर्ण कुराहरू बुझ्छौ, दुख-सुख अनि सबै, मेरो जिन्दगीमा आएर केवल दुख नै दुखको भेलमा तिमीलाई डुबाउन चाहन्न । साँचो माया गर्नेले कसैको पनि दुख देख्न सक्दैनन्, त्यो मलाई थाहा छ । त्यसैले तिम्रो हराभरा कलकलाउदो जिन्दगीमा म खोक्रो कंकाल मिसिएर तिमीलाई जिन्दगीभर दुखको धारिलो तरबारले रेटिएको जिन्दगी व्यतित गरेको देख्न म सक्दिन म तिम्रो भलाइ चाहन्छु । तिमी सधैंं हिमगिरिको लालीगुराँस झैं फुलिरहनु । म तिम्रो हरियाली जिन्दगी हेर्न चाहन्छु । अन्त्यमा मबाट धेरै गल्तीहरू भएका छन्, ती गल्तीहरूलाई एउटा भूल सम्झी बिर्सिदिनु । म मेरो जिन्दगी केवल मृत्युलाई सुम्पेर स्वतन्त्र बन्न चाहन्छु । दिएका मायाहरू हृदय भरि कोरेर ती तिम्रा मायाका गुणहरू अर्को जन्ममा तिर्ने कसम खाई तिमीबाट टाढा जाँदैछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *