ऊ बालक हुन्जेल बाउआमा कजाएको थियो
तन्नेरी हुँदै गयो
प्रेमको आवरणमा तरुनीहरू फसाउदै गयो
जीवनको मध्ये भागमा अवतरण गर्दै
बाँधियो एउटा बन्धनमा
बनेर रोबर्ट उत्पादन गर्यो हुबहु आफ्नै विम्बहरू
ती विम्बहरू
न उकालो लाग्न सके
न ओरालो झर्न सके
न तटस्थ रहन सके
न त अस्तित्व अर्थात पहिचान गर्न सके
आफ्नै मानवमूल्यताको……
यो बाँस यस्तो पर्यो,
जो झुक्न सकेन समयको धनु बनेर
यो घाम यस्तो थियो,
जो ढल्नु जानेन त्यो डाँडाको कापमा
हिजै साँझ
सिंहदरबार अगाडि
पृथ्वीनारायण साहको सालिकलाई
मधुरसको धुर्गन्धित पिच्कारीले नुहाइदिएछ।
र,त्यही पिच्कारी घुमाई-घुमाई लेखेछ
वाटर कलरले…
“यो देशले केही दिएन साला”
…….
सालिकको सेवामा तल्लिन जवानले
दुई बुट ठोकेर चिसो छिंडीमा मिल्काएको मात्र के थ्यो?
आइ पुगेछ रिपोर्ट ……
फलना पार्टीको सकृय कार्यकर्ता
मिति २०७२/०१/१२…बाट मानसिक सन्तुलन गुमाएका
हिजो साँझबाट बेपत्ता
गौरब बहादुर …… ।
लेखक:-धरती कल्पना