Skip to content

पद्याङ्कनकाे लेखकीय कथन


(पद्यबद्ध गर्नेका केही कुरा)

गद्यका केही सामग्री पद्यबद्ध गरुँ भनी
मलाई कसरी आयो थाहा छैन अँझै पनि ।
त्यसै लहडले गर्दा स्वयं यो काममा भीडें
मानौ कन्टकिलो बाटो रहेछ त्यसमा हिंडें ।

मेरै लहडिलो सोच मेरै बुद्धि विवेकको
यो त्यही सोचको यौटा आलोकाँचो निचोड हो ।
मूलको जे थियो मर्म यस्मा बैग्लै कुरा परे
यसैले यसका मर्म माथि बांगा चिरा परे ।

मैले यो जे गरें गर्नु पर्ने काम थिएन कि ?
केही सौन्दर्य थप्ला कि भन्थें, कामै दिएन कि ?
काव्यको घरमा यौटा इटा यो थपियो भने
मलाई धन्य मान्नेछु यस्ले काम दियो भने ।

मेरै लहड हो मेरै इच्छा हो यो यसै गरें
यसमा जे गरें मैले म आफ्नै भरमा परें ।
आँटैले मात्र यो काम हुँदैन सजिलो गरी
यसैमा भासिनु पर्छ अहोरात्र घुँडा धसी ।

कसै गर्दा घुँडा धस्न सकिएन म मान्दछु
जे भयो त्यो जुठो हाल्नु मात्रै भो यो म जान्दछु ।
बरु मौलिक लेखिन्छ आँटेर सजिलैसँग
ढाँटेर लेख्न पाइन्न यसलाई कसैसँग ।

हम्मे हम्मे पर्यो धेरै पद्यबद्ध गराउन
मूलको भावमा कैले थाल्थें आफू हराउन ।
मैलाई त्रास यो हुन्छ औंलो उठ्दछ मैतिर
मूलको जे थियो भाव हरायो कि कतैतिर ।

जे भयो जे भयो भैगो जे हुन्थ्यो त्यो भएनछ
राम्रो पार्ने थियो सोच सजिलै त्यो रहेनछ ।
दाउ पक्का थियो पार्ने कच्चै माल भए छ कि
भित्रको गुदी छाडेर बोक्रै पो उक्किएछ कि ?

माफ माग्छु दुवै हात जोडेर तिनकासँग
जसका कृतिमा मेरा हात नाचे मजासँग ।
माफ माग्दछु यो काम राम्रै हो भन्नु भो भने
तान्नुहोस् कन्सिरी मेरा नगर्ने काम हो भने ।

होम सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *