Skip to content

शिखर आरोहणको क्रमिकतामा: हजार सपना

20160529_PushpaAdhikariAnjali-Lekh


साहित्य नै जीवन हो, यसले जीवनमा चेतना, संवेग र हृदयानुभूतिको स्पर्श गर्दछ । यसले नयाँ जीवन, समयकाल र नयाँ दृष्टिकोणहरू जन्माउँछ र सामाजिक सभ्यता र संस्कारको विकास पनि गर्छ । वर्तमान समयमा उत्तरआधुनिक लेखनले चर्चा पाइरहेकै बेला थुप्रै लेखकहरू परिष्कारवाद, स्वच्छन्दतावाद, अस्तित्ववाद र यथार्थवाद एव म प्रगतिवादबाट अगाडि बढिरहेका छन् । साहित्यमा विकसित हुदैं गएको यो नवीन दृष्टिकोण, शैली र विचारको प्रविधि पनि हो । साहित्यले अरूहरूको अनुकरण मात्रै हैन नयाँ जीवनको पुनर्स्थापना पनि गर्न सक्छ । कतिपय स्रष्टाहरू अराजकतावादी भएपनि तिनले ल्याएका चेतनाहरू परिवर्तनशील हुन्छन्, जीवनलाई नयाँ ढंग र शिराबाट परिभाषित गर्न सक्छन् ।

उपन्यासकार कुमार काफ्लेले समयको एउटा साँघुरो आँखीझ्यालबाट जीवनका थुप्रै आरोह अवरोहहरू छिचोल्दै एउटा सुखद भविष्य बनाउँदैछन् । सामाजिक विसंगति र इर्ष्याका अग्लाअग्ला पहाडहरू भत्काएर प्रतिशोधका ज्वलामा आँधीहुरीको बीच संघर्षका पाइलाहरू बोकेर उभिएका यी आख्यानकार सपनाहरूको मन बोकेर शिखर आरोहणको क्रमिकतामा छन् । छातीभरि अभावैअभावको दीर्घकालीन घाउहरू बोकेर दौडिरहेका होनहार यूवाहरू वाध्यतावश विदेशिन वाध्य भएपछि देशको भविष्य कसरी अगाडि बढ्न सक्छ?यस कुरालाई आफ्ना अक्षरहरूमार्फत सुन्दर शैलीमा प्रस्तुत गरेका छन् उनले । उधारो सपना र असीम आकांक्षाहरूले देश दुर्घटनाको कुरुक्षेत्रमा परिणत भइरहेको छ, आस्था र विश्वासका स्तम्भहरू ढलिरहेका छन्, अस्तित्व हराँउदै गएको छ, मूल्य र मान्यताहरूसमेत बिलाउँदै गइरहेको अवस्थाको रोचकताका साथ संश्लेषण गरिएको छ यस कृतिमा ।

जीवन भोगाइका थुप्रै अनुभूतिहरूको एउटा सिंगो पहाड हो आख्यानकार कुमार काफ्लेको ‘हजार सपना’ । समयको थुप्रै उतार चढ़ाव र भोगाइका शृंखलाहरू जोडिएका मान्छेले भोगेका जिन्दगीका कैयौं पीडाहरूको दस्तावेज पनि हो यो उपन्यास । चुरा धागो, पोते, सिन्दुरको बदला समय यातना मात्र हैन असीम स्नेह, संवेदनशील जीवन पनि हो भनेर कहीं कतै वर्णन गर्छन् । यस्तै पीडाहरू, यस्तै आर्तनादहरू, पारिवारिक कर्तव्य र हजारौं सपनाहरू बोकेको छ उपन्यासले । भ्रम बोकेर बाँच्नुको पीडा उत्तिकै छ उनको भोगाइहरूमा । यिनै बन्द पिँजडाभित्र आफ्ना सुन्दर सपनाहरू सुरक्षित अवतरण गर्न संयमित छन् । धेरै अर्थहरू हुन सक्छन् जीवनको तर यतिबेला जीवनको थुप्रै रङहरू पोतेर छातीभित्रका प्रेमिल सौम्य मायाका इन्द्रेणी सपनाहरू बोकेर यात्रारत छन् उपन्यासकार कुमार काफ्ले शब्द शिविरहरूमा ।

‘शिशिर वसन्त’र साहित्यिक सिर्जनामार्फत परिचित उपन्यासकार कुमार काफ्ले आफ्नो विद्रोह यसरी पोख्छन् :

बेचेर इमानहरू कति माथि उक्लन्छन्
र यसरी देखाउँछन् आफ्नो प्रवृत्ति
आदर्श घोकेर झुटो स्वाभिमानको अनुहारमा
सिंगै शहर किन्नेहरू छन्
बेच्छन् माटो, देश र शरीर
एउटा नागरिक देश खोजिरहेको बेला
अर्को नागरिक देश बेचिरहेको छ
कोही यो पीडा कसरी सहन सक्छन्?
यस्तै विद्रोह लेख्छन् उपन्यासकार कुमार काफ्ले ।
प्रत्येक अध्याँरोमा एउटा अनिश्चित उज्यालो घाम भेट्न दौडिरहेका छन् हरपल आशलाग्दो भविष्य बोकेर कुमार काफ्ले ।

नैतिकता बेचिएका धुर्त प्रवृत्तिका मान्छेहरू देख्दैमा बुख्याचा जस्ता लाग्ने संवेदना नभएका नरपिशाचहरूको के अस्तित्व छ यसमा; जसले मानवता बुझ्दैन, बुझ्नै खोज्दैन, देश, राष्ट्रियता, स्वाभिमान र माटोलाई प्रेम गर्नै जान्दैन!यस्तायस्ता आक्रोशहरू छन् उनका उपन्यासका हरफहरूमा । धेरैधेरै बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु भाइ कुमार काफ्लेलाई ।

अन्त्यमा नेपाली साहित्यको क्षेत्रमा एउटा उज्यालो टुकी बालेर गाउँबस्तीसम्म पुग्न सक्ने यी उपन्यासकार स्रष्टा कुमार काफ्लेको कौशलता र गहन लेखनीले दरिलो टेवा पुग्नेछ नेपाली आख्यानलाई । साधना, अभ्यास, अध्ययन र सिर्जना निरन्तर अँझै बढ्दै जाओस्, हृदयदेभरिको लाखौंलाख शुभकामना, बधाईको साथ ‘हजार सपना’को पूर्ण सफलताको कामना गर्दछु ।

पुष्प अधिकारी अञ्जली
हाम्रो मझेरी साहित्य प्रतिष्ठान
भरतपुर, चितवन

1 thought on “शिखर आरोहणको क्रमिकतामा: हजार सपना”

  1. धन्यवाद पुष्प दाइ
    हौसलाका यी शब्दहरूको लागि पुष्प दादालाई हृदय देखि धन्यवाद,आभार!

Leave a Reply

Your email address will not be published. Required fields are marked *