Skip to content

प्रशंसाको मूल्य


निकैबेर गमेपछि लालबहादुर धनबहादुरको घरतिर सोझियो । धनबहादुर पिँढीमा बसेर तमाखु खाइरहेको थियो । ऊ त्यहाँ नपुग्दै कुकुर झम्टिहाल्यो । खासमा उसलाई कुकुर मनै पर्दैनथ्यो । अरुबेला भए ढुङ्गो टिपेर लखेटिसक्थ्यो । तर आज माहोल अर्कै थियो ।

“तपाईंको यो कुकुरले त सारै राम्रोसँग पो सुरक्षा गर्दोरहेछ त है !”

धनबहादुर मक्ख पर्यो । ऊ खुसी भएको देखेर कुकुरको बखानमा दुई चार शब्द थप खर्च गर्यो उसले । पिर्कामा बस्दा नबस्दै उसलाई उस्तै मन नपर्ने बिरालो खुट्टामै लटपटिदैं आइपुग्यो म्याउँम्याउँ गर्दै । रिस त उठेकै थियो तर मनभित्रै राख्यो र प्रकटमा भन्यो – “ओहो ! बिरालो त बहुत् मजाको पो पाल्नुभएको रहेछ त, यसले मुसा त खुब मार्छ होला है ?”

धनबहादुर अँझै दंग पर्यो । लालबहादुरले उसको सहयोगी र धार्मिक भावनाको, घरको, वस्तुभाउको र त्यहाँ वरिपरि देखिएका अरु धेरै थोकको प्रशंसा र बखान गर्यो । र, त्यसले खुसी भएका धनबहादुरले उसलाई सोधे –
“आज कताबाट बाटो बिराएर आयौ त लालबहादुर ?”

“हेर्नुस्न आज मलाई दशोटा हजार रुपैयाँले सारो चोट्टे पर्यो, त्यही भएर हजुरको दरबारमा आएको….. ।”

कुमार काफ्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *