Skip to content
NavinKafleAbhi


“ए हरि, त्यो बिउ फाल् त, यता मेरो मेलो पछाडि परिसक्यो,” ठुल दिदी माथिल्ला गडाबाट कराइन्।

जेठको २५ लागिसकेको थियो। वर्षाले त्यो वर्ष समयमै किसानहरुलाई उर्जा प्रदान गरिदिएको थियो। गाउँभरिको मुलघर प्रधान ठुला-बाको थियो त्यसपछि हाम्रै घर थियो। मेरा बा गाउका मुखिया थिए। मुखियाको रोपाइँ भएर होला सायद त्यो बेलामा गाउँभरिका प्रत्येक घरबाट एक जनाका दरले रोप्नेरी पठाई दिने चलन थियो।

रोपाइँका गडाबाट म दौडिंदै विउ गडामा गएर बिउका आँठाहरू रोपाइँ गडातिर हुर्राए। हाम्रो त्यो जमानामा गैरी खेतका नामले प्रचलित बुढापाकाले तौलिने पाथीको २० पाथी बिउ लाग्ने खोला खेत थियो। खोलाबाट नजिकै र कुलोको मुखमा भएर होला हाम्रो गैरी खेत सधैं सधैं जेठ महिनामै रोपिन्थ्यो।

परम्परागत रोपाइँको एउटा मान्यता छ पश्चिम नेपालका पहाडी जिल्लातिर। सबै रोपेपछि मात्रै अन्तिममा रोप्न पर्ने दाइँ हाल्ने गडा जुन गडाको आकार ठुलो हुन्छ फराकिलो हुन्छ। अन्तिममा पालो त्यही गडाको थियो। तल्ला गडामा आलीलाई थपथपाइरहको कमलदाइलाई साइँली भाउजूले आएर हिलोमा चुम्लुङै डुबाइदिन, कमल दाइ पनि उठेर साइँली भाउजूलाई हिलोले पोत्न थाले। त्यसपछि सबै साली भिनाजु, सोल्टी सोल्टीना देवर भाउजूको हिलो हाना हान चल्न थाल्यो। वेठीका बाजाहरू पनि मज्जैले घन्किन थाले।

म भने अलि सानै भएकोले वेठीहरुको नजिकै गएर हिलो खेलेको हेरिरहेको थिए। पछाडिबाट हिलोले जब जिउ चिसो बनाएको भान भयो। तब पछाडि फर्किएँ त हातभरि हिलो समाएर मैतिर दौडिरहेकी मेरी बालसखा कल्पनालाई देखें। लौ म त कराउदै भाग्न थालें, “ए मुसी काँ मलाई हान्दै छेस्, हेर् नचल है तँ, मैले भन्देको छु नि फेरि, राम्रो हुन्न नि !”

किन रोकीन्थी र मुसी, हानी हाली मेरा कपडाभरि हिलो भयो। म पनि के कम र मुसीका हात समाएर रोपाइँ गडातिर ताने हलीले भरखरै बनाएको रोपाइँ गडामा मुसीलाई हिलोमा चुम्लुम्मै पछारे, मुसी हिलोले नचिन्निने भई। सबै कराए, ए हेर त यो हरि र मुसीको हिलो कति रमाइलो ! भन्दै सबै हामीतिरमात्रै हेर्न थाले। मुसी पनि लाजले जुरुक्क उठी र मलाई हिलोमा पछार्न लागी परी। कसरी कसरी फेरि मुसी नै हिलोमा पछारिई, तर उसले मेरो हात समातिरहेकोले मलाई पनि सँगै तानीहाली।

कस्तो अचम्म म उत्तानो परेको थिएँ, मेरो माथि मुसी थिई। सबैजना हाँस्दै हाँस्दै ताली बजाउन थाले। मुसी मलाई खाइस बल्ल खाइस हैन हर्यौ भन्दै मेरो अनुहार पढिरहेकी थिई। मेरो पालो मुसीलाई तल फालेर हाल समाउदै भन्न थालें, “ल खा त यै गडामा गाड्दिन्छु, यै बसेर धान खा मुसी।”

गाउँका पाखाहरुबाट बिस्तारै निशृप्त भई झरेका खहरे खोलाहरुले रोपाइँका दृश्यहरू मजैले नियाली हरेका हुन्थे। रोपाइँका गडाहरुबाट एकै लयमा घन्कीले रोपाइँका गीतहरुले मनमा बेग्लै आनन्दको अनुभूति दिलाइरहेको हुन्थ्यो। मायामा जोडिएका ढुकुरका जोडीहरू पारि भीरमा टुक्कुर टुर टुर गर्दै कराइरहेका हुन्थे। गोठाला गएका गोठालाहरुले वनै थर्किने गरी शान्त स्वरमा बजाएको मुरलीको मिठो सुरीलो धुनले मनका कुनाहरू शान्त पारेका हुन्थे।

रोपाइँ सकेपछि सबै जना उकालोमा जिस्किंदै गाउँदै रमाउँदै गाउँ पुगिन्थ्यो। जीवनका ५० वर्ष यसै गरी बिताएका मेरा बाजस्ता धेरै बाहरू यो उकालो हामीभन्दा रमाएरै सक्काउँथे। मेरा जेठा-बाले उकालोको बस्ने ढुङ्गामा पुगेर मलाई ईशारा गर्दै भने, “हेर हरि, तेरा बाले तेरी आमालाई त्यही पारी न्याउलापुरबाट भगाएर यही उकालोमा दौडाएको थियो । बाबै, कम्तीका दुःख दिएको हैन तेरा बाले हामीलाई।”

म जेठा बातिर हेरेर मुसुक्क मुस्कुराएँ।

लगभग लगभग खोला खेतका सबै रोपाइँहरू सकिइसकेका थिए। कुलोको पालो अनुसारको रोपाइँ र खेतमा पानी लगाउने चलन मेरा बाले गाउँका सबै मानिसलाई बोलाएर नियम बनाइदिएका थिए। त्यसै अनुसार सबैले खेतमा पानी लगाउँथे। हाम्रो खेत र कल्पनाको खेतमा पानी लगाउने पालो बुधबार बिहान साँझ थियो। पहिले पहिले त सधैं बा नै जानुहुन्थ्यो खेतमा पानी लगाउन तर पछि बाले नभ्याउने भए पछि म जान थालें। कल्पनाका घरमा भने उसका दाइ नै आउथे। समयले कस्तो सन्जोक मिलाइदिंदो रहेछ जीवनका पलेटीहरुमा। मेरा बाले जब खेत धाउने समय पाएनन् त्यही समयमा कल्पनाको दाइ पनि इन्डिएन लाहुरे भर्ना भयो। अब उसका घरबाट पनि ऊ मात्रै भई खेत धाउनेमा। उसका घरमा ऊ र उसको दाइ मात्रै थिए सन्तानमा। उसका बा ठकुरी भएर होला, ऊ जमानामा अङ्ग्रेजले सिधै आर्मीमा भर्ना गरेको थियो। अहिले पनि उसका बा पल्टनमै छन्। र अब दाइ पनि भयो।

कल्पना र मेरो लगभग लगभग नियमित जस्तै भयो खेतमा पानी लगाउन जाने काम। हामी सुरु सरुमा त एक्लाएक्लै गयौं। एक दिन मैले कल्पनालाई सँगै जाने कुरा पस्किएँ, उसले पनि स्वीकार गरी। त्यस पछिका दिनहरुमा हामी गैरी खेत सँगसँगै धाउन थाल्यौ।

प्रकृतिको हराभरा सौन्दर्यतालाई नियाल्दै नियाल्दै हामी उकाली र ओराली एक महिनासम्म गर्यौं। यस समयमा कल्पनाको मप्रतिको चाह सोह्रै आना बढेको थियो। एक दिन उसले मेरो हात समाएर सुस्केरा हाल्दै भनी, “हरि, तँ कति राम्रो छस् है। मलाई नि त मन पर्न थालिसक्यो।”

कल्पनाको यो कुरा मैले खासै चासो दिएर सुनिन। ऊ फेरि उकालीको बस्ने ढुङ्गामा थचक्क बसेर भन्न थाली, “हरि, सुन न के मैले साँच्चै भनेको हो । तैँले यत्तिकै नसोच् न है ।” ऊ अलि सिरियस भएर भन्दै थिई। उसको यो सिरियसपनले गर्दा म पनि साँच्चिकै सिरियस भएछु।

उकालीको चुच्चे पिपलमा पुगेर मैले भनें, “हेर मुसी, मलाई पनि तँ मन नपरेको हैन मन पर्छ। तर हाम्रो जात मिल्दैन घरकाले मान्दैनन्। हामी मात्रै एक भएर के हुन्छ र भन् त ।”

मेरो यो जवाफमा ऊ केही बोलिन, मात्रै “मायाले जितौंला नि!” शिवाय।

खाना खाएर ओछ्यानमा पल्टिएँ। दिनमा मुसीले भनेका एक एक कुराहरू पालै पालो दोहोरिए र मानस पटलमा आइरहे। मान्छेले दैनिक गरेका कार्यहरुले उसको रात्रीकालीन स्वप्नील संसारमा पनि उत्तिकै प्रभाव पार्दो रहेछ। अनि फेरि माया भन्ने शब्द नि मलाई साह्रै अमूल्य लाग्छ, त्यही भएर त होला नि अमूल्य चिजको प्राप्तिमा मानिस जति खुसी हुन्छ त्यही अमूल्य चिज गुमाउनु पर्दा त्यसभन्दा बढी दुखी भएको हुन्छ।

मुसी साँच्चिकै राम्री भएर आई। कागजका सेता टुक्राहरुमा वर्णन गरी नसक्नु कलिलो सुन्दरता थियो उसमा। हावामा लहराएका उसका काला केशहरू जब उसको मुख मण्डललाई पालै पालो छोप्न हतारिन्थे, तब लाग्थ्यो उसको सौन्दर्यता अतुलनीय छ। गोरो अनुहार माथिका उनका दुई वटा आँखी भौका बीचमा घरी दाँया घरी बाँया गर्ने ती नयनहरू जसको म पुरै फ्यान थिए। हाईटमा पनि अब्बल, बोलाइ त्यस्तै माधुर्यता, दाँत बिग्रिएर आएको जिमल दाह्रोले उसको मुस्कानको शोभालाई उच्च पारेको थियो। सुन्दरता, शहनशीलता, धैर्यता, साहस, बोली, हिडाइ सबै कुरामा मुसी युक्त र पोख्त लागी।

रातभरि उसकै बारेमा सोचें। रातीको १ बजेसम्मको एउटै निष्कर्ष निकालें। उसलाई हुन्छ जीवनका हरेक गोरेटोहरुमा सँगै हिड्ने सँगै खाने बस्ने अनि सँगै गैरी खेतको उकालो र ओरालो धाइरहने। एक अर्काको सामिप्यताले जीवन चलाउने। भोलिपल्टनै उसलाई भन्ने निधो गरे।

बिहानै बाले उठाएर मलाई लखनपुर फुपूको घरमा जाने उर्दी जारी गर्नुभयो। मैले बाको कुरा काट्नै सकिन। मान्छे हरेक पल हरेक क्षण दोधारमा हुन्छ भन्थे, हो रहेछ। म पनि दोधारमै परे बाको भनेको मान्ने कि, मुसीलाई भेटेर जीवनको निर्णय गर्ने। सोचें बाको कुरा आजसम्म नकारेको छैन, कसरी नकारुँ बरु मुसीलाई भोलि गैरी खेतमा भेटेर मजै भन्ने निधो गरेर फुपूको घरतिर लागे।

बिचरी मुसी जीवनमा पहिलोपल्ट आएको मायाको उर्जावान तरङ्लाई त्यही रफ्तारमा हाक्ने सोचेर बसेकी हुँदी हो। सबै कुरा आफूले सोच जस्तै कसैको नहुने रहेछ। उसले मलाई चुच्चे पिपल चौतारीमा त्यति भनेर घर गएपछि उसको मामाको छोरा, दाइ, उसलाई शहर लिन भनी आएको थाहा पाइछ। उसले मलाई बोलाउन भनी आएकी पनि रहिछ, मेरा बाले घर छैन भन्देछन्। गाउँभरि साँझसम्म खोजिछे पनि। मेरा निष्ठुरी बाले घरमै भएको छोरालाई घरमा छैन भनेर उसको र मेरो जीवनकै विछोड गराइदिए।

साँझ म घर आइपुगें। आमाले पानी दिदै भन्नुभयो, “लाहुरेकी छोरी कल्पना आएकी थिई। भन्दै थिई, ‘बजै हरि आएपछि भन्दिनु होला कल्पनाले जीवनभरि नै जवाफको प्रतिक्षा गरेकी छ भनेर।’ आँखाभरि आँशु टिलबिल बनाएकी थिई, बिचरी तँलाई माया गर्दी रहिछ कति गाह्रो मानी मानी गाउँ छोडी।”

आमाको यो कुराले मेरो घाँटीको आधासम्म पुगेको पानी थपक्क रोकियो । खोकेँ, पानी बाहिर आयो। हातहरू एकाएक लुला भए। शरिरमा भएको उर्जा सबै आँशुलाई बाहिर निकाल्न लागी परे। कल्पनासँग रमाएका हिजोसम्मका ती मिठा पलहरू आँखाभरि झझल्को बनेर झल्किन थाले। आँखाबाट आँशुका लहरहरू पालै पालो निस्कन थाले।

आमाले आँशु पुछ्दै भन्नुभयो, “नरो, किन रुन्छस् पोइलै गएको जस्तै गरी? दशैंमा त आइहाल्छे। तँ किन पीर गर्छस् र? बरु बालाई भनेर कुरा चलाउँला। जात नमिले पनि केही हुन्न, तँ खुसी भए भैगो बाबु हामीलाई। तेरा ७ दिदीहरू आफ्नै जातकोमा छन्, छोराले कुजातको ल्याए म केही भन्दिन।” आमाको कुराले ममा केही उर्जा ल्यायो ।

साँझ खाना खान मन लागेन। बालाई देखेर झनै रिस उठ्यो, खानै नखाई ओछ्यानमा गएँ। आमाले दिउसोको सबै कुराहरू बालाई भन्नुभएछ। तर बाले जातकै केटीसँग कुरा चलाएको सुनाए। आमा चुपचाप लागेर मेरो कोठामा आउनु भयो। बाको कुरा सुनाउदै मेरो टाउको मुसार्दै हुनुहुन्थ्यो। दिनभरिको थकाले होला सबै पीरलाई निद्राले जितेछ क्यार, आमाकै काखमा निदाएछु।

भोलिपल्ट मुसीको खुब याद आयो। एक्लै गैरी खेत झरे, साह्रै न्यास्रो लाग्यो। जीवनबाट कोही हराए जस्तो अनुभूति भइरह्यो। गैरीखेतमा एक छिन पनि टिक्न सकिन। उकालो झनै गाह्रो भयो। दुई दिन अगाडि त्यही उकालोमा हाँस्दै गरेकी मुसी आज शहरका गल्लीको एक कोठाभित्र मलाई नै सम्झिरहेकी होली। चुच्चे पिपल चौतारामा पुगेपछि सोचें, मुसीलाई जवाफ दिनै भए पनि म शहर जानु पर्छ। मुसीले बाध्यताले गाउँघर, गैरी खेत छाडी म मुसीको रहरले गैरी खेत गाउँ छाड्छु। निधो गरे। साँझ बालाई सबै भनें, बाले पनि मान्नुभयो। म पनि शहर जाने पक्का पक्की भयो ।

आमाले झोला प्याक गरिदिनुभएपछि टीका ल्याएर अँगेनोमा आउनु भयो। बा पनि मलाई पुर्याउन भनी तयार भई सक्नुभएको थियो। टीकाटालो गरेपछि आमाका आँखाबाट आँशु रोकिएर बस्न सकेनन्, बा भने आमालाई हप्काउदै हुनुहुन्थ्यो। मलाई भने गैरी खेतको खुप माया लाग्यो र दौडिदै चुच्चे पिपल चौतारोमा पुगें जहाँबाट मेरो गैरी खेतको सौन्दर्यता धित पुगुन्जेल लिन मिल्थ्यो।
मनभरि गैरी खेतलाई राखें, गैरी खेतसँगै मुसीलाई राखें, ऊसँगका हरेर पल, हरेक क्षण राखें, बाल्यकाल राखें, मुसीलाई ओरालोमा धकेलेर लागेको त्यो चोटलाई राखें, जीवनका १९ वसन्तलाई यादमा परिणत गरेर राखें। जति हेर्यो त्यति हेर्न मन लाग्ने मेरो गैरी खेतलाई छोड्न मन नलागी नलागी छाडें।

मनका कुनाहरुमा सबै यादहरू च्यापेर बाको पछाडि लागे। भनिन्छ नि जिन्दगीमा मान्छेले गुमाएको अमूल्य चिज गुमाएपछि त्यसको प्राप्तिमा आई पर्ने हरेक चुनौतीलाई सहजै झेल्न सक्छ, चाहे त्यो मृत्यु नै किन नहोस्। मलाई पनि कसरी मैले मेरी मुसीलाई मुसीको जवाफ फिर्ता गरेर जीवनका बाँकी वसन्तहरुलाई मुसीका साथ बितान सकु भन्ने सोच भएरै शहर पसेको थिएँ।

शहरका कुनाहरुमा मैले मुसीलाई धेरै खोजे, गल्लीहरुमा उस्तै लाग्ने कति केटीहरुलाई त मैले कल्पना भन्दै कति पटक त बोलाएँ पनि तर ती सबै मेरी मुसी थिएन्। हरेक पार्क, गल्ली, बगैचाहरू तथा कलेज सबै धाएँ तर मैले मेरी मुसीलाई पाइन। म यस्तो भएको थिए नि काकाकुल जस्तै भौतारिएको थिए, बाघ जस्तै शिकार नपाएर भन्भनिएको थिएँ, मरुभूमि जस्तै पानीको प्यासी भएको थिएँ मेरी मुसीको लागि। कहीं कतै नभेटाए छि सबै आश मारेर स्नातक प्रथम वर्षमा भर्ना भएको थिएँ मन नलाई नलाई।

एक दिन आमाको खुब आद आयो, नजिकैको आवामा गएर सम्पर्क गरे, प्रधान ठुला-बाको घरमा आवा थियो। आमा पनि त्यतै आउनु भएको रहेछ, आमासँग कुरा गर्न के थालेको थिए, आँखाहरुबाट अनायासै आँशुका डल्लाहरू बिस्तारै बिस्तारै ढल्किदै ढल्किदै खस्न थाले। आमाले झन् “मुसीलाई भेटाइस् त?” भनेपछि मन थाम्नै सकिन डाको छोडेरै रोइदिएँ, लाजै लागेन आमासँग रुनलाई, आमा सम्झाउदै हुनुहुन्थ्यो, “नरो न अब के गर्ने त समय नै त्यस्तै भएर आयो त के गर्छस बा।”

केही समयपछि “आमा म २, ३ दिन पछि कुरा गर्छु नि है” भनेर फोन राखिदिएँ।

आमाको आस्वासनले म शहर आएर पनि मुसीको जवाफ फिर्ता गर्न पाइन। त्यसपछि आमालाई नै महान् ठाने त्यो जमानामा अन्तरजातिको कुरालाई सहजै स्वीकार्ने मेरी आमा मलाई महान् लाग्न थाल्नुभयो। त्यही अन्तरजातीयताको कुरालाई मेरा बाले पचाउन नसक्दा आज म यो गतिमा छु। निधो गरें, आमाको एउटै बचनलाई कार्यान्वयन गर्छु भनेर। पढेर सरकारी जागीर खाने ।

समयले मलाई बालापनबाट किशोर अवस्थामा ल्याएयो र किशोर अवस्था पार गरेको १५ वर्ष पछि युवा अवस्थाको पारिवारिक मुडमा ल्याएर जिम्मेवार बनाएको छ। समयसँगै मनलाई सान्त्वना दिदै यतिका वर्ष पार गरें। अहिले मसँग जागिर छ, साथमा प्रविधिसँगै हुर्किएकी मेरी जीवन साथी छ, तर मसँग एउटै कुरा छैन मेरी मुसी। जीवनका धेरै वसन्तमा आउने हर्ष उल्लासका पर्वहरुलाई मैले गाउमा रमाएर बिताएको थिइन। म शहरमा भए पनि मेरा यादहरू माया ममता गर्ने ती भीर पाखाहरु, भन्ञ्याङ चौतारी, उकाली ओराली अनि मेरो मुटुमा बस्ने मेरो गैरी खेत उतै थिए। दशै तिहार उतै मनाउने भनेर पारिवारिक सल्लाह भयो।

द्धन्द्धकालले शिथिल बनाएको मेरो गाउँले शान्ति स्थापनापछि पहिलो पटक आफ्ना सन्तान पाएको थियो। गाउँका सबै घरका साथीभाइहरू गाउँ भित्रिसकेका थिए। म पनि मेरो परिवार लिएर गाउँ पुगिसकेको थिए।

१५ वर्ष पछि आफ्नो जन्मभूमि देखेपछि मलाई स्वगै गए सरह भयो। मन उडेर पारि-पारि पाखामा लामा लहरा छोडेर पखेरामा बसेर मेरो गाउँलाई नियाल्ने मालुका लहरामासँगै पिङ खेल्न थाल्यो। कति जङ्गल भएछ मेरो स्वर्ग। त्यति रमाइलो ठाउँ कति उजाड र उदासिन देखिएको। अजम्बरी झाडले जताततै भरिएको। साइँला काका पनि फुलेर सेतै भएका, बिचरा काका आजभोलि त राम्रोसँग हिडडुल पनि गर्न नसक्ने भए छन्। काकीको निधनपछि विरामी पर्न लागेका हुन् रे। प्रधान ठुलाबालाई पनि द्धन्द्धरत पक्षले कता लगेर वेपत्ता बनाएछन्। सधैं सधैं हाम्रो खेत पाखामा काम गर्ने हर्के दाइको पनि ऊ जमानाको जस्तो मुडे बल बिलाएर गएछ।

मेरो गैरी खेतलाई चुच्चे पिपल चौतारामा गएर नियालें। बिचरा मेरो गैरी खेत सहारा गुमाए छ सबैको। मेरा बाले रोप्न छाडेकै १० वर्ष भएको थियो। उजाड मरुभूमि जस्तै लाग्यो। गैरी खेतलाई हेरेर मन भक्कानियो। एक पटक त्यो बालापनको मेरो गैरी खेत सम्झिएँ। झन् बस्नै मन लागेन चुच्चे पिपल डाँडामा।

दशैको दिन नजिकिदै थियो, गाउँमा पिङहाल्ने ठिटाहरुको रवाफ बढ्दो थियो। गाउँले पुरानै मुहार पाउदै थियो। जीवनका सबै पीडाहरुलाई बिर्सेर गाउँ फर्केका युवाहरुले रमाइलो गर्ने क्रम जारी थियो ।

सुनधारामा नुहाएर म घर तर्फ लाग्दै थिए। आँखा अगाडि शहरिया लाग्ने एक नवयुवती हातमा गाग्रो लिएर अगाडि देखा परी। सुरुमा त चिन्नै सकेन जब उसका आँखाहरुमा नयनले चहारे तब मैले मेरी मुसीलाई पाएँ। हातबाट सानो गाग्रो फुत्कियो। उसले उठाउन खोज्दै थिई, मैले नै पहिले हात पसारेँ। हे भगवान् यो कस्तो क्षणमा आएर मेरो मुसीलाई मसँग भेटायौ। शहरका त्यति धेरै गल्लीहरू चहार्दा पनि नभेटिएकी मेरी मुसी आज आएर यस्तो अवस्थामा भेटिंदै थिई। उसलाई देखेर म नाजवाफ भए केही बोल्ने होसै आएन।

उसैले बोली पहिला, “के छ त हाकीम सापको खबर ?”

मैले “ठिकै छ” मात्रैले टारेँ ।

फेरि बोली, “कि उही पुरानै नामले बोलाउनुपर्ने हो र हर्यौ साप?” ऊ मुसुक्क मुस्कुराई। उसको यो रवाफले मलाई उही बालापनमै पुर्यायो।

मैले पनि जवाफ फर्काएँ, “हो त क्यारे मुसी ।”

ऊ त्यसै गरी ठुस्की मैले त्यसै गरी फकाएँ। मैले उसलाई चुच्चे पिपलको चौतारीमा भोलिपल्ट दिउसो बोलाएँ ।

मानौं कि नमानौं पुर्खाहरुले भनेको यो उखान “संसार गोलो छ कुनै न कुनै दिन फेरि भेट हुन्छ।“ म त्यो दिन त्यस्तै सोचिरहेको थिएँ। मुसीलाई देखेर पहिलेकाभन्दा कति राम्री भएकी मुसी। खाइलाग्दो ज्यान, लामो कपाललाई काटेर काँधसम्म आउने बनाएकी, आँखीभौ मिलाएकी, आँखामा मसिनो गाजल लगाएकी, हालमा सजाएर लगाएकी नङ पोलीस, भन्टा कलरको कुर्ता सुरुवालमा सजिएर चुच्चे पिपलमा मभन्दा अगाडि नै पुगेकी थिई ऊ।

चुच्चे पिपलबाट तल खोलाका किनारमा रहेको हाम्रो गैरी खेतलाई नियाल्दै बस्यौं हामी। कुरा उसले नै सुरु गरी, “हरि, हामीसँगै गैरी खेत पनि बुढो भएछ है।” उसले भावुक हुँदै भनी, “साँच्चिकै हरि, म यु.के.मा तिमी र यही गैरी खेतको मायाले बाँचेको थिएँ। हरेक दिन हरेक साँझ तिम्रो र गैरी खेतको फोटो टोलाएर हेरेपछि मात्रै मलाई निद्रा पर्थ्यो। जिन्दगीले हामीलाई यी उकाली आरालीबाट कता पुर्यायो पुर्यायो । तर मन भने यही गैरी खेत र यीनै उकाली र आरालीमा अल्झिरहेको छ ।”

“थाहा छ हरि, त्यो साँझ दाइले शहर जाने कुरा गरेपछि म तिम्रो गएको थिएँ। तिम्रो बुवाले हामी सँगै हिडेको चाल पाएर तिमीलाई घरमा छैन भनिदिनु भएको रहेछ। मैले त पछि दशैमा आएर मात्रै थाहा पाए नि। तर तिमी दशैमा पनि घर आएनौ। म पनि तिमी शहर गएको कुरा थाहा पाएपछि दशैंलगत्तै शहर गएँ। धेरैतिर तिमीलाई पाउने आशले भौतारिएँ तर पाइन। त्यसपछि बाबाले मलाई यु.के.मै बोलाउनु भयो। म उतै गएर पढें तर तिमी के गरिरहेका छौ सबै थाहा पाइराखेको हुन्थ्थे। तिमीलाई पाउने आशाले नै जीवन चलाएको थिएँ त्यहाँ। जब तिमीले बिहे गरेको कुरा सुनेँ, सबै आशाहरू एकै पटक ढले, कहिल्यै पनि नउठ्ने गरी। त्यसपछि त्यहाँ बस्नै सकिन, सधैं सधैं एक्लो महशुस भइरहन थाल्यो। त्यसपछि नेपाल फर्किएर काठमाडौँमा आमा र भाउजूसँगै बस्दै आएको छु। हरि जीवनमा तिमीलाई पाउने ठुलो आाशा राखेकी थिए तर त्यो सपना पुरा भएन।”

“अब जीवनमा एउटै निर्णय लिएको छु, तिमीसँग बिताएका ती मीठा पलहरुलाई सँगालेर बस्ने। विवाह नगर्ने निर्णय गरेको छु। नेपाली जनताको स्वास्थ्य समस्याको समाधानमा रमाउने निर्णय गरेको छु,” यति भन्दै ऊ आँखाका आँशुहरुलाई पन्छाउदै थिई।

म ऊभन्दा पहिले नै रोइसकेको थिएँ। मलाई कसैको प्रवाह लागेन, मुसीलाई च्याप्प समातेर अगालो हालेँ, अगालोमा हामी धित मरुन्जेल रोयौं। एकछिनपछि उसका आँखाका आँशु पुछ्दै भनें, “पीर नगर, अब हामी शारिरिक रुपले एक हुन नसके पनि मानसिक र हृदयले एक भएका छौ। घरको दबावमा आएर मैले बिहे गरें, अब उसलाई पनि छाड्न सक्दिन म। ऊ पनि एक तिमी जस्तै नारी हो, तिमी बुझ्छ्यौ नि मुसी यो कुरा।”

उसले बुझ्छु भन्ने कुरालाई टाउको हल्लाएर भनी। मैले थपें, “थाहा छ मुसी त्यसको भोलिपल्ट म चुच्चे पिपल चौतारीमा तिमीलाई भेटेर तिमी र मेरो जीवनलाईसँगै अगाडि बढाउन सल्लाह गर्ने निर्णय गरेको थिएँ। तर त्यसो हुन दिएनन् हाम्रा अग्रज भनाउँदाहरुले ।”

मुसी खुब रोई मलाई पनि रुवाई। उसले गैरी खेत जाऊँ भनेर हात तानेर उठाई। दुवै गैरी खेत गयौ, उही बालापनको हिलो, पानी घट्टको ढुङ्गामा बसेर सम्झियौं। त्यहाँ हामीले पाएनौ ती गोठालाहरु, पाएनौ कालिज र चाखुराहरू कराएको, पाएनौ मुरलीका ती सुरीला मन छुने भाकाहरू, पाएनौ गैरी खेत हरियो भएर हावाका झोकाहरुसँग लहराएको। गैरी खेत हाम्रो पहिलो मायाको उर्वरभूमि थियो, जसलाई हामीले जोगाएर सिँचाई गर्न सकेनौं ।

नविन काफ्ले अभि

Leave a Reply

Your email address will not be published. Required fields are marked *