मेरा सपनाहरू
आनन्द र खुशीहरुका भारी बोकेर
मेरो निद्राको चौतारीमा बिसाउँछन्
बिपनाका तीता यथार्थताहरुको पर्खाल नाँघेर
मेरो मनमस्तिष्कको फलैंचामा थकाइ मार्छन्
मेरा चाहनाका असंख्य मृगतृष्णाहरुलाई
क्षणभरमै तृप्तता दिन्छन्
मेरा कुण्ठा, उद्वेग अनि उफानका ज्वारभाटाहरुलाई
निसंकोच प्राप्तताले भरिदिन्छन्
मेरा अप्राप्यताका पराकाष्ठाहरुलाई
ऐस्वर्याताका तिलस्मी तिरहरुले छेडिदिन्छन्
साधुवाद सपना तिमीलाई
तिमी छौ र त म बाँच्छु
यो भोको भूगोलमा
तिम्रो कृपा छ र त म हाँस्छु
यो खस्रो खगोलमा
आऊ सपना आऊ
बिपनाको शहरबाट बसाइँ सरेर आऊ
मेरो सपनाको गाउँमा
व्यथाहरुको क्षितिज नाघ्दै आऊ
मेरो मुटुको मझेरीमा
पीडाहरुको पहाड कुल्चदै आऊ
मेरो भावनाको अगेनीमा
अतृप्तताको नदी तर्दै आऊ
मेरो प्यासको पँधेरीमा
कुण्ठाहरुको जाजल्व्य ज्वलन छल्दै आऊ
मेरो चाहनाहरूको आँगनीमा
उफानका तुफानहरू चिर्दै आऊ
भोकका भकारीहरू भर्दै आऊ
उद्वेगका उचेराहरू निमोठ्दै आऊ
आऊ प्यारी सपना आऊ
तितै भए पनि
ब्यथित बिपनाका कटुसत्य भुलाउन
क्षणिकै भए पनि
अभोग्य आनन्दको तृप्तता चुसाउन
सपना ! फैलाऊ हातहरू खुशीको माला पहिराउन
म सदाको निम्ति तिमीलाई अपनाउने छु
जब जब बिपनाका हारहरुले म बिक्षिप्त बन्छु
ऐंठन अठ्याउन म तिमीलाई आव्हान गर्छु
धरातलीय धक्काहरुले जब म धरमराउँछु
सहराको लागि म तिम्रो साथ सकार्छु
तगाराहरुका तिखा तिरहरुले जब म तिल्मिलाउँछु
ढालको लागि म तिम्रो सामिप्यको सङ्कल्प सुसाउँछु
जब बिपनाका भीषण भारहरुले भकुर्दा म भक्कानिन्छु
खर्पन खन्याउने खलो तिम्रै ख्यालको चौतारीमा खोज्छु
हे प्राणप्यारी सपना !
आऊ मेरो जीवनमा
जादुई झाँकीहरू झोलीमा बोकेर
म तिमीलाई आजीवन अपनाउनेछु
मेरो मुटुभित्रै तिमीलाई अटाउनेछु ।
इति
राजेश अधिकारी