Skip to content

स्वप्निल चौतारी


फगत नबोलिएका शब्दहरू
भयावह जीवनको उत्तरार्द्धसँग
पौँठेजोरी खेल्न खोज्छन् ।

निमेषभरका सम्बन्धहरू
प्रत्येक पल खुकुरीका धारहरूमा
रेटिन खोज्छन्
क्रुर जिजीविषाका आत्माहरू
अवसानका इतिहास
कोरेर बस्छन्
भय र क्रोधका मानसविम्बहरू
आफ्नो प्रतिविम्ब
सजाउन खोज्छन् ।

आश्वासनका पहाडहरू खसेर
विश्वासका तरेलीहरूमा
बजारिन्छन् ।

शब्दमहलको आडम्बरबाट
उन्नतिका दस्तावेज हराएपछि
विश्व विजयमा निस्केको
सिकन्दर पनि
आत्मरतिमा भौतारिएको
हनुमानसँग सम्झौता गर्न पुग्छ ।

भुइँमा अस्तित्व खोजिरहेका
भुइँमान्छेका शिरहरूमा चढेर
अन्तरिक्ष हड्प्न खोज्ने
स्वघोषित महामानवका
अलौकिक जादू निमेषभरमा
खुइलिएको दिन
तिम्रो र मेरो भेट हुनेछ
स्वप्निल चौतारीमा
जहाँ भय र आक्रोशको
अन्त्य भएको थियो ।

त्यहाँ तिम्रो र मेरो भेट हुनेछ ।

०५/०५/०७६

Leave a Reply

Your email address will not be published. Required fields are marked *