Skip to content

जोइपोइको उखर्माउलो


फागुन महिनाको उराठिलो दिन सुरु हुँदै थियो, वरपरको वातावरण अलिक सुक्खा र तुवाँलोले छोप्न थालिसकेको थियो। रुखका पातहरू झर्न थालेका थिए । हिउँदे बालि थङ्क्याएर रित्तिएका खेतबारीहरू नाङ्गा देखिन्थे माथितिरको जङ्गलमा एकोहोरो न्याउली कुर्लेर वातावरणलाई झनै उराठ बनाउँदै थियो । भानु माथि थुम्कोबाट आफ्नो घर नियाल्दै झरिरहेको थियो। आज घरमा कुनै चालचुल छ कि छैन, या त घर नै रित्तो छ यस्तै यस्तै अनुमान लगाउँदै फाँटमा झर्दै थियो। उसको मन पनि भर्खरै पात झरेर सिख्रै भएको सालघारी जस्तै उजाड लाग्दै थियो। मन ढक्क फुल्दै थियो कि आज बिहानको महाभारत बेलुका फेरि दोहोरीने हो कि ऊ माइत पुगीसकी भनेर। उसकी स्वास्नी रुपा नाम जस्तै रुप पनि राम्री छे तर घमण्ड पनि उत्तिकै थियो उसमा। बेलाबेला लोग्नेलाई घुर्क्याउँदै “फलानो लाहुरे, फलानो जमिन्दारको एक्लो छोरो माग्न आएको थियो कुन दशा लागेर यिनलाई मन पराउन पुगेञ्छु” भन्थी । लोग्ने चाहिं प्रायः चुपचाप लाग्थ्यो,अत्तिनै आफ्नो अपमान भएको महसुस गर्यो भने मात्रै जवाफ फर्काउँथ्यो र भन्थ्यो “अँझै पनि के बिग्रेको छ र कुन चाहिं मन परेको छ त्यसैसँग जान मन भए जाऊ मैले रोकेको छु र ?” यत्तिकैमा फेरि सुरु हुन्थ्यो ती लोग्ने स्वास्नीको झगडा । तर आज बिहानको झगडाको विषय भने त्यो थिएन ।

मागी विवाह भएपनि एक अर्कोलाई निकै मन पराएर दश महिना अघि उनीहरूको सामाजिक परम्परा अनुसार बिहे भएको थियो। दुवैको घर खानदानमा खासै फरक थिएन, फरक यत्ति थियो कि रुपा भानुको तुलनामा निकै राम्री थिई र जस्तो भन्यो उस्तै केटो पाउथी तर भानुसँग केहीबेर कुराकानी गरेकै भरमा उसको सोझो र इमान्दारीपनको छनक पाएकी उसले भानुलाई नै वरमाला पहिर्याउने निर्णय गरेकी थिई । घरायसी कारणले भानुका दाजुभाइ चार महिना अगाडि छुट्टिएका थिए। ती लोग्ने स्वास्नीको घर भनेपनि गोठ भनेपनि पुरानो घर देखि केही पर ओत मात्रै लाग्ने त्यही यौटा खरको चुहिने छानो भएको गोठ थियो। पहिले गाइ गोरु बाँध्ने गरेको त्यो गोठको अन्तै हटाएर मान्छे बस्ने व्यवस्था मिलाएका थिए । बाँसको भित्तोमा माटोले छोपेर टालटुल पारेर त्यो गोठलाई एकापट्टी सुत्ने कोठा र अर्को पट्टि भान्सा कोठा बनाएका थिए । त्यही गोठ नै उनीहरुको महल थियो ।ति दुई जोइ पोइ मिल्दा निकै चाटाचाट गर्ने र नमिल्दा तीन चार दिनसम्म पनि एक अर्कोसँग बोल्दैनथे। दुवैमा पहिले उसले बोलाओस अनि मात्रै बोल्छु भन्ने घमण्ड थियो। लोग्ने चाहिंले कहिल्यै स्वास्नी फकाउन जानेन खाली स्वास्नीले नै फकाउन पर्थ्यो। स्वास्नी झनक्क रिसाई हाल्थी र बोली पनि हाल्थी तर लोग्ने चाहिं त्यस्तो थिएन बिल्कुल फरक थियो, ऊ झटपट रिसाउँदैनथ्यो रिसाएपछि झट्टै उसको रिस मर्दैनथ्यो र हार खाएर केही दिन पछि रुपाले नै फकाउँदै बोलाउँथि। तर तिनीहरू दुई बीच एउटा कुरा अचम्म लाग्दो थियो कि उनीहरू रिसाएको र बोलचाल बन्द भएको वरपर कसैलाई थाहा हुन्नथ्यो। घरको कुरा अरुलाई सुनाउँदैनथे र अरुका अगाडि उनीहरू सामान्य देखिन्थे। जत्ति रिसाएर एक अर्कोसँग नबोले पनि उनीहरुको दिनचर्या उसैगरी चल्थ्यो कुनै काम रोकिन्नथ्यो एउटै भाँडोको भात खान्थे र एउटै खाटमा सुत्थेसँगै घाँस दाउरा र मेलापात गर्थे तर चुपचाप इसाराले मात्रै। ती दुई प्राणि रिसाएको कसैले थाहा नपाउने र असाध्यै मिलेर बस्ने गरेकोले त्यो जोडी देखेर जोरीपारी इर्स्या गर्थे अनि उदाहरणको रुपमा यिनै जोडीलाई देखाउँदै फलानोको जोडी पो जोडी परेवाको जोडी जस्तो भन्थे। हुनपनि उनीहरू जता गएपनि एकछिन छुट्टीदैनथे, दिउँसो भानु आठ घण्टा ज्यामी काममा जाँदा बाहेक त्यो जोडी जहिलेपनिसँगै हुन्थ्यो। शसुराली गएपनि छिमेकीलाई एक दिनको लागि बस्तुभाउ हेर्न लगाएर जान्थे र भोलिपल्टैसँगै फर्कन्थे।

यस्तो मिलेको उदाहरणीय जोडीमा आज अचानक ग्रहण लागेको छ। आज बिहान खाना खानु अघिसम्म पनि यिनीहरू सामान्य नै थिए तर पनि भानुलाई कता कता मनमा आज आफ्नी स्वास्नी रुपा सन्धै झैं खुलेर नबोलेको हो कि जस्तो नलागेको पनि हैन तर उसले सोध्ने चेस्टा गरेन, सामान्य रुपमा लियो। जब काममा जानु अगाडि करिब पौने नौ बजेतिर खाना खान बसेको थियो अनि उसलाई महसुस भयो कि आज उसकी स्वास्नी सन्धै झैं मुस्कुराएकी छैन चुपचाप खाना पस्किरहेकी छ नबोली नबोली । रुपा सन्धै लोग्नेलाई खाना पस्केर दिन्छे र लोग्नेलाई खाना पुर्याएपछि आफूलाई पनि पस्केर खान बस्छे। उसमा अँझै पनि लोग्ने सँगसँगै खान हुन्न भन्ने मान्यता छ तर आज त आफ्नो थालमा खाना नपस्कि चुपचाप टोलाइरहेकी स्वास्नीलाई देखेर भानु अचम्म पर्छ र खाँदा खाँदैको गास रोकेर सोध्छ किन आज तिमी आफूलाई खाना नपस्केको ? अनि रुपाले ठसक्क पर्दै अलिक झर्केजस्तो गरेर आज सञ्चो छैन हिजो बेलुका खाना नखाई सुतेकोले होला पेट दुखिरहेको छ चक्कर पनि लागेको छ भनेर जवाफ फर्काउछे। अनि लोग्ने चाहिंले “किन त हिजो खाना नखाई सुतेको?” भनेर सोध्छ अनि त एकैचोटी ज्वालामुखी फुटे जस्तो स्वास्नी चाहिं आक्रोसित हुँदै “ए आफू बिहेमा गएको लोग्ने भनाउँदो रातभरि दुनिया भरका छडुलि हरुसँग रल्लिएर आधा रात उतै बिताएर घर आउने, उतै बसेको भए हुन्थ्यो नि किन आउनु स्वास्नी भन्दै ? आएर पनि स्वास्नीले खाना खाइ कि खाइन सोध्नु छैन उता फर्केर सुत्ने, म भने कतिबेला लोग्ने आउलान रसँगै खाना खाउँला भनेर पर्खेर बसेको त कुनै अत्तो पत्तो छैन बिहेमा गएको मान्छेको। अनि खाना थङ्क्याएर त्यत्तिकै सुतेको। बिहान उठेर त्यो खाना भैंसीलाई खोले पकाउने ताउलोमा हालिदिएको। यस्तो लोग्ने बेहोर्नु परेको मलाई, झन् सोझो भनेर कस्ता कस्ता माग्न आउँदा पनि नमानेर बिहे गरेँ तर आज बल्ल थाहा पाएँ कस्तासँग बिहे गरेञ्छु” भनेर भन्दै निकै फत्फताउन थाली। अनि बल्ल पो उसले थाहा पायो कि स्वास्नी आज बिहानै देखि नखुलेकी भनेर।ऊ पनि के कम थियो र स्वास्नीलाई फकाउनुको साटो उल्टै गाली गर्दै “ए खाना खाँदा हो त किच किच गर्ने ? अरु समय थिएन र खाना खाएको बेलामा किच किच गर्नु पर्ने ? खाना खाँदा त कैदीले पनि सुख पाउँछ हाम्रो भने खाना खाने बेलामा स्वास्नीको रडाको यस्ता आइमाईले रिसाई रिसाई खाना दिएको पनि के खानु” भन्दै खाना खाँदै गरेको थाल कचौरा हातले जोरसँग स्वास्नी तर्फ हुत्त्याएर पानीको अम्खोरा लिएर चुठ्न बाहिर निस्कन्छ। अनि त ऊ चुठेर भित्र पस्न नभ्याउँदै स्वास्नी चाहिं रिसले आगो हुँदै धमाधम भित्रबाट खाना सहितका भाँडा हरु, थाल कचौरा बाहिर आँगनमा फाल्दै “यस्तासँग लोग्ने भनेर बस्दिन, आजै माइत जान्छु कुन छडुलिलाई ल्याउन मन छ र मलाई हेला गरेको,त्यसैलाई ल्याएर बसे हुन्छ, मलाई स्वास्नी भनेर खोज्नु पर्दैन म मरे पनि मर्छु जे गरेनी गर्छु” भन्दै उफ्रन थालि। आँगन भरि भात तरकारी सहितको कसौण्डी कराई र थाल कचौराले छरपस्ट भयो। लोग्ने चाहिं पनि के कम थियो र “जहाँ जाने हो जा म पनि कसैको घुर्कीले डराउने वाला छैन यस्ता स्वास्नी हुनुभन्दा बरु एक्लै बस्छु जे मन लागेको गर” भन्दै आँगन छेउको धारो तर्फ लाग्छ स्वास्नी चाहिं त्यो आँगनमा छरिएको भाँडा कुँडा नउठाई सुत्ने कोठामा पसेर रुन थाल्छे।

भानु पनि केहीबेर बाहिर त्यत्तिकै के गर्ने भन्ने असमञ्जसमा परेर टोलाउँछ अनि काममा जाने बेला भएकोले भित्र स्वास्नी पसेकै कोठामा कपडा फेर्नको लागि पस्छ तर यसपाली दुवै फेरि झगडा गर्दैनन्। स्वास्नी चाहिं मसिनो स्वरमा म अब बस्दिन आदि के के भन्दै थिई उसले जवाफ फर्काउदैन फटाफट अर्को कपडा र गोल्ड स्टार जुत्ता लगाएर बाहिरिन्छ। पल्लो गाउँमा झोलुङ्गे पुल बनाउने ठाउँमा मजदुरीको काम गर्छ उसले, त्यतै तर्फ तर्फ पाइला चाल्न के लागेको थियो झल्याँस्स एउटा कुरा सम्झन्छ कि करिब पन्ध्र दिन पहिले उसकी स्वास्नीले महिनाबारी रोकिएको र वाकवाकी लाग्ने चक्कर लाग्ने र खान खान मन नलाग्ने कुरा गरेकी थिइ। अनि दुवै जना घरमा नयाँ पाहुना आउने कुराले निकै खुशी भएका थिए, विभिन्न सपना बुनेका थिए। छोरो या छोरी जे जन्मेपनि राम्रोसँग जन्मोस त्यही नै खुशीको कुरा हो भन्दै हर्षित भएका थिए। आजको भाँडभैलो र उसको माइत जाने घुर्कीले भानुलाई अलिक अफ्ट्यारो पक्कै पार्यो तर फकाएर माफी माग्ने या श्रीमतीलाई माइत जानबाट रोक्ने कसरी भन्ने उपाय खोज्न थाल्यो, सिधै स्वास्नीलाई केही भन्ने मनस्थितिमा पनि थिएन उ। यत्तिकैमा उसले स्वास्नीलाई फकाएर रोक्ने सबैभन्दा विश्वासिलो मान्छे आफ्नी आमालाई सम्झ्यो र आमा बस्ने घर तर्फ लाग्यो आमालाई धारोमा भाँडा धुँदै गरेको देख्यो।अनि अरु केही उपाय नलागेपछि जसरीपनि स्वास्नीलाई माइत जनाबाट रोक्नुपर्छ भन्ने मनसायले आमालाई बोलाउँदै धारोमा पुग्छ अनि आमैले हात धुँदै “के भयो भानु तेरो काममा जाने बेला भएन र यता आउँदै छस त” भनिन् अनि उसले झगडाको कारण पुरै त बताएन तर आफूहरुको निकै झगडा परेको र स्वास्नी रुपा यो घरमा बस्दिन माइत जान्छु भनेर घुर्की देखाएकी कुरा गर्यो। अनि आमैले ए तैंले खान नखाई काममा जान लागेको रैछस यहीं खाएर जा भनेर खाना खान आग्रह गरिन तर उसले अलिअलि आधासरो खाएकोले खासै भोको नभाको कुरा गर्यो अनि जसरी पनि रूपालाई माइत जान नदिनुस् फकाई फुलाई जसरी हुन्छ रोक्नु पर्यो भन्दै आमासँग बिन्ती बिसाउँछ। आमैले पनि “तिमीहरू त कहिल्यै झगडा गर्थेनौ आज के भयो? जम्मा दुइजना लोग्ने स्वास्नी मात्रै छौ घरमा त्यैपनि यस्तो झगडा गरेका, कि तैंले केही नराम्रो भनिस कि निस्केर जा मेरो घरमा नबस भनिस कि कतै पिटिस कि रूपालाई” भनेर खोजीनीति गर्छिन तर उसले त्यस्तो भनेको त केही हैन तर आजको झगडा ठुलै भएको हो र जसरी पनि उसलाई माइत जानबाट रोक्नु भनेर फेरि अनुरोध गर्छ। आमैले “ए त्यो त दुई जिउकि पनि छे क्यारे,अस्ति पर सर्ने महिना घर्किसक्यो” भन्छिन। अनि उसले सही थाप्दै “त्यसैले त आमा यस्तो बेलामा जति घुर्की देखाएपनि घर छोडेर जानबाट रोक्नु पर्छ मलाई रिस उठेपछि फकाउन आउँदैन हजुरले जसरी पनि रोकिदिनु पर्यो” भन्छ। अनि आमैले “ल ल मानी भने म फकाउँछु क्यारे अब अड्डी नै कसेर हिण्डी भने मेरो पनि के लाग्छ र” भन्छिन। अनि फेरि भानुले “हेर्नुस यतिञ्जेल त जे भएपनि हाम्रो झगडा हामी तीन जनाभन्दा अरु कसैलाई थाहा छैन ऊ माइत गइ भने त यहाँ टोल छिमेकमा समेत हल्ला चल्छ नै उता उसका माइती र आफन्ततिर पनि पुरै नराम्रो हुन्छ त्यसैले यसपाली उसलाई रोक्न सकियो भनेपछि अरु कुरा बिस्तारै मिलाउँला” भनेर ऊ भारी मन लिएर काम तर्फ लागेको थियो।

आज पुल निर्माणमा काम गर्ने ज्यामी साथी हरुसँग ऊ सधैं झैं खुलेर र हाँसेर बोलेन,हिञ्जोको अनिदो र त्यति सञ्चो पनि नभएको बहाना बनायो तर उसको मनमा दिनभरि भूइँचालो गइरहेको थियो कि स्वास्नी चाहिं आमाले भनेको मानेर बसी कि जिद्दी गरेर हिण्डी भन्ने कुराले। आजको काममा पनि सधैं झैं जाँगर चलेको होइन, उसलाई केवल कतिखेर बेलुकीको छ बज्ला भन्ने कुराले मात्रै उसको दिमागमा घण्टी हानिरहेको थियो। केही बाटो आफ्ना केही साथी हरुसँगै हिण्डेपछि छुट्टिएर ऊ एक्लै त्यो थुम्कोबाट लुरु लुरु तलतिर झर्दै थियो। जति जति घर नजिक आयो उति उति उसको मुटुको चाल जोर जोरसँग बढ्दै थियो, यस्तो लाग्थ्यो कि आज आकाशमा निकै बादल गड्याङ्गगुडुङ्ग गर्दै मेघ गर्जन गर्दै छ, अब केही बेरमा असिना पानी दर्कने वाला छ। यत्तिकैमा ऊ घरको तगारोमा आइपुग्छ नभन्दै घरको दुइटै ढोका खुल्लै देखेर उसकी स्वास्नी घरै रहिछ भन्ने अनुमान लगाउँछ र एक किसिमको खुशी र आनन्दको अनुभूति लिन्छ । उसकी स्वास्नी उता भान्सा कोठामा केही गर्दै रहिछ यतै भाँडा कुँडा बजेको सुन्छ अनि एक चोटी भगवानलाई सम्झन्दै धन्य भगवान मेरो पुकारा सुनिदियौ भन्छ र उसको मनमा स्वास्नी प्रति पनि माया लागेर आउँछ। कपडा फेरिसकर चुपचाप भान्सा कोठामा पस्छ स्वास्नीले खाजा बनाउँदै रहिछ, लोग्ने भित्र पसेको चाल पाएर छड्के पारामा “खुब स्वास्नीलाई जतासुकै जा भन्नेले किन आमालाई फकाउन लगाको नि ? स्वास्नी नभई नहुनेले आफै फकाउन सकिन्न र ? स्वास्नी बिना एक छिन बस्न नसक्नेले अँझै घुर्की देखाएर जहाँ गए नि जा रे म गएको भए के के हुन्थ्यो थाहा छ?” भन्दै आफूले जितेको जस्तो फुर्ति लगाउँछे अनि लोग्ने चाहिंले “तिमी आफै घमण्डी भएर त होनि, एक दिन बिहेमा जाँदैमा पहाड नै खसेको थिएन, अर्की स्वास्नी लिएर आएको थिइन मेरो गल्ती यत्ति थियो कि राति आएर तिमीले खाना खायौ कि खाइनौ भनेर सोधिन, तिमी निदाएजस्तो लाग्यो अनि नब्युझाईकन उता फर्केर सुतें”। अनि स्वास्नीले “ए म निदाएकै थिइन, साढे बाह्र बजेसम्म खान पोइ खाना खान आउलान रसँगै खाउँला भनेर पर्खेर बसें अनि त्यत्तिकै उता कोठामा गएर सुतेको सबै कुरा थाहा पाएकी थिएँ लोग्ने आएर खाना खायौ कि खाइनौ भनेर सोध्लान रसँगै खाउँला भनेको त उतै खाएर आएको रहेछ र मलाई नसोधी चुपचाप सुतेको म त रातभर निदाएकि पनि छैन” भन्छे। अनि लोग्नेले “बिहेमा गएको मान्छेले उतै भतेरमा खाएर आउँछ होला भन्ने पनि त लाग्नु पर्ने हो मैले त तिमीले खाएर सुतेको होला भन्ने लाग्यो” भन्छ। स्वास्नी चाहिंले “कहिले पो पोइलाई नखुवाई खाएकी छु र हिजो खान्थें र ? कि त म आज उतै खाएर आउँछु मलाई नपर्ख तिमीले खाऊ भन्नु पर्थ्यो अर्कालाई सताउन मात्रै जानेको” भन्छे। अनि लोग्ने नरम हुँदै “ल ल भैगो नि त मेरै गल्ती रैछ अब त भयो” भन्छ अनि स्वास्नीले “रुपालाई जसरी पनि फकाइदिनु होला है आमा भनेर भानु त साह्रै रोला जस्तो गरेर काममा गएको छ भन्नुभयो र आमाको कुरा मानेर मात्रै बसेको नत्र यतिबेला माइतमा हुन्थेँ” भन्छे। अहिले भने दुवै लोग्ने स्वास्नी नरम रुपमा एक अर्कोलाई सफाई दिइरहेका हुन्छन यत्तिकैमा झगडाको कुरा छोडेर विषयलाई अन्यत्रै मोड्दै लोग्नेले “हाम्री काली बाख्री ब्याउने कहिलेलाई रे ?” भन्दै स्वास्नी तर्फ व्यङ्ग्य हान्छ स्वास्नी लोग्नेको मुखमा हेरेर लजाउँदै मसक्क परेर उता फर्कन्छे। यतिञ्जेलमा स्वास्नीले खाजा तैयार गरिसकेकी हुन्छे, दुइटा थालमा रोटि र प्लेटमा अचार लिएर दुवै जना खान थाल्छन लोग्नेले “आजको अचार त अलिक पिरो बढी भएछ नि त” भन्छ। स्वास्नीले “मैले बनाएको अचार आज त अरु दिनभन्दा बढी पिरो त हुने नै भयो नि” भन्छे दुवैजना गललल्ल हाँस्छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *