याद छ है तपाईँलाई,
ऊ पल्लो गाउँको वीरे, जनयुद्धमा होमिएको वीरे
देशको रक्षाको लागि दुश्मनको अगाडि छाती देखाउदै हिनेको वीरे
प्रत्येक कोष-कोषमा राष्ट्रियताले भरिएको वीरे
आज उसकी आमाको अङ्ग काटिन खोज्दा,
त्यही वीरे एक शब्द नि बोलेको छैन
ऊ लाटो भएको छ
ऊ अन्धो भएको छ
साँच्चै ऊ परिवर्तन भएको छ।
इतिहास साक्षी छ,
ऊ यतिकै कैयौँ वर्ष युद्धमा धाएको होइन
ऊ यतिकै कैयौँ वर्ष परिवारलाई वनवास गएको होइन
उसले यतिकै रमाइलोका लागि बन्दुक उठाएको होइन
तर त्यही वीरे आज
छिमेकी भनाउदाले सीमा मिच्दा नि केही बोलेको छैन
ऊ लाटो भएको छ
ऊ अन्धो भएको छ
साँच्चै ऊ परिवर्तन भएको छ।
त्यही वीरे जसलाई परिवार र देश रोजभन्दा देश रोजेको थियो
आलीशान महल र वनवास रोजभन्दा वनवास रोजेको थियो
देश मिच्ने फुटाउनेको लागि बन्दुक र खुकुरी खोजेको थियो
त्यही वीरे आज कैयौँ पल्ट उसकी आमा को अस्मिता लुटिदा
ऊ एक शब्द नि बोलेको छैन
ऊ लाटो भएको छ
ऊ अन्धो भएको छ
साँच्चै ऊ परिवर्तन भएको छ।
याद छ,
त्यो तल्लो गाउँको हर्केले देशको बारेमा केही अपशब्द बोल्दा
गाउँबासीलाई देश छोडी खाडी जाने बाटो खोल्दा
खुकुरी समाउदै हर्केलाई दुई टुक्रा पार्छु भन्दै हिनेको वीरे
देश द्रोहीलाई जिउदै जलाउँछु भन्ने वीरे
आज आफ्नै चेली विदेशीको कोठीमा बेचिदा
अँझै ऊ केही बोलेको छैन
ऊ लाटो भएको छ
ऊ अन्धो भएको छ
साँच्चै ऊ परिवर्तन भएको छ।
कुनै बेला
दिनरात मरिमेटि गाउँ बासी को सहयोगमा जुट्ने वीरे
गाऊँ गाउँ विकास गर्दै देश विकास गर्छु भन्ने वीरे
आमाको आँखामा एक थोपा आँसु देख्न नसक्ने वीरे
आज दिनरात आमा चिच्याउदै, कराउदै खुनको आसु झार्दा नि वीरे बोलेको छैन
ऊ लाटो भएको छ
ऊ अन्धो भएको छ
साँच्चै ऊ परिवर्तन भएको छ।
हजारौं करोडौं वीरेको सपना सपनामै सीमित भएको छ
आज उसले देशद्रोहीको पद पाएको छ।
सबै जनता को गाली पनि खाएको छ
तर उसलाई कसैले परिवर्तन को रहस्य सोधेन
त्यसैले वीरे केही बोलेको छैन
ऊ लाटो भएको छ
ऊ अन्धो भएको छ
साँच्चै ऊ परिवर्तन भएको छ।
✍️यज्ञ