कोरोनाले देश झनै भाँडिएको देखें मैले
आफ्नासँग आफ्नैहरू टाढिएको देखें मैले
सबैलाई आफ्नै ज्यान प्यारो लाग्दो रहेछ
दूरी मात्र होइन मनै बाँडिएको देखें मैले
कोरोना त आउँछजान्छ जीवन अँझै बाँकी छ
संसार सकिए झैं सबै छाडिएको देखें मैले
सीमातिर नेपालमै बाटो बनाइसक्यो भारत
यता गाउँ टोलमै पिल्लर गाडीएको देखें मैले
भए पनि देशमा दुई तिहाइको हाम्रो सरकार
गरीबको त हालत झनै काढिएको देखें मैले
भ्रष्टाचार कालोबजारी गर्नेलाई भो मालामाल
यही हो मौका भन्दै कोही साँढिएको देखें मैले
नकारात्मक प्रभाव छैन सबैतिर कोरोनाको
वर्षौंदेखि बाँझो जमिन फाँडिएको देखें मैले