Skip to content

एउटा असफलताको कथा


आज फेरि म असफल भएको छु । यसको प्रमाण, मेरो यही लेखाइले दिएको छ । जब जब म असफल हुन्छु, त्यही बेला मेरा लेखनहरू सक्रिय हुन्छन । अनायास औलाका गतिहरू तीब्र हुन्छन् अनि भावनाहरू एकाएक पोखिन थाल्छन् पानामा । अनि यही पानाहरू नै मेरो जीवन रुपी संस्मरण बनेको छ । मेरो जीवन एउटा खुल्ला किताब जुन अहिलेसम्म लेखिइरहेको छ । मेरो मृत्यु पछि सायद यसले आफ्नो पूर्ण रुप पाउला जसको अन्तिम पृष्ठमा मेरो अन्त्य लेखिएको हुनेछ ।अनि त्यस किताबको लेखक म स्वयं हू, असफल मान्छे !

खै यो कुरा कताबाट सुरु गर्ने हो अनभिज्ञ छु तैपनि सबिस्तार गर्ने कोशिस गर्छु ।

असफल मान्छेहरू रुढीवादी हुन्छन्, मलाई यस्तै लाग्छ । किनभने म पनि त्यसै विधा अन्तर्गत पर्छु । त्यसैले म अहिलेपनि सुरुवात गर्छु मैले धेरै अगाडि देखेको एउटा स्वप्नबाट –

“म वरिपरि हेरी हेर्छु, पुष्पहरू जताततै मनमोहक सुबाशको साथ हासिरहेको हुन्छ, आफ्नो मधुर स्वरमा चरा चुरुंगी गीत गाउँदै नाचिरहेको हुन्छ । त्यसबखत म आफू स्वयं कुनै स्वर्गीय अनि आनन्दित स्थानमा आइपुगेको महसुस गर्छु जहाँ मलाई स्वागत गर्नका लागि रङ्गीचङ्गी फूल अनि चराहरुबसेका छन् । एकाएक एउटा सुन्दर आकृति देखा पर्छ जसको बर्णन गर्न मसँग कुनै शब्द नै छैन । सायद कुनै साहित्यकारले देखेको हुदो त चन्द्रमा, अप्सरासँग तुलना गरी लेख्दो हो तर मैले न त अप्सरा नै देखेको छु नत चन्द्रमालाई स्त्री रूपमा हेरेको छु । जेहोस् प्रकृतिले रचना गरेको र आजको मितिसम्म देखेको सबैभन्दा सुन्दर आकृति नै यही हो झैँ छ त्यो । खै के हो आकर्षणले हो कि केले म उनी भए तर्फ जान्छु । आत्तिएर अथवा किन हो उनी झन् मसँग टाढा भाग्न थाल्छिन र नजिकैको गुलाबको बगैचामा अलप हुन्छिन । यताउता सबै ठाउँ हेर्दा कोही देखिन्न सिवाय त्यस बगैचामा फुलेको एउटा सेतो रंगको गुलाब ! मैले टिप्न मात्रै खोज्दा काडाँले घोचेर मेरो रगत जमिनमा पोखिन्छ र अचम्मसँग त्यही अर्को रगतसँग मिसिन पुग्छ । अलिक पर हेर्छु इन्द्रेणी लागेको छ ।”

म निद्राबाट विउझन्छु र सोच्न थाल्छु त्यो भुइँमा पहिलेनै पोखिएको रगत कसको थियो ? म मान्छु कि मेरो सपनाले कुनै न कुनै अर्थ लगाइरहेको हुन्छ । त्यसोभए त्यो सपनाको अर्थ के थियो ?

मान्नै पर्छ, त्यस बखत म भित्र भित्रै कसैलाई मन पराउन थालिसकेको थिए अञ्जानमै तर उसलाई यो कुराको केही पत्तो थिएन । सायद आकर्षण मात्र पो थियो कि ? जेहोश म भावनात्मक तवरले उनीसँग नजिकिदै थिए । उनको एक प्रेमी छ भनेर सुन्दा पनि उनी प्रतिको आकर्षणमा कुनै कमि आएको थिएन । केटा साथीहरू माझ पहिले पहिले उनलाई देख्दा खासै त्यस्तो केही नलागेपनि पछि पछि भने म निरास हुन थालिसकेको थिए । अनि उनको बारे केही नराम्रो सुने दुखी हुन थालेको थिए म । यस्तो हुनु नै सायद माया पो हो कि ? मेरा केही साथीहरुलाई यसबारे अलि अलि छनक थियो । यसबारे उनीहरुको के राय छ, मैले अहिलेसम्म सोधेको छैन । जहाँसम्म लाग्छ, सधैं जिस्किरहने म, उनीहरू मेरो यो भावनालाई जोक मान्छन् होला । जे होस् समयले सबै बताउने नै छ ।

कहिलेकाहीं मनमा अनेकथरी कुराहरू प्रश्न तथा उत्तरहरू खेलिरहेका हुन्थे, जस्तै कि –

“उनको लागिमा क गर्न सक्छु? “

“जे पनि ।”

“जस्तै ?”

“म-यौ भने के उनलाई पाउछौं ? ”

उत्तर छैन ।

तर पनि उनैलाई लुकिछिपी हेर्नु, सम्झनु अनि उनकै बारेमा सोच्नु मेरो दैनिकी भएको थियो ।

साहित्य प्रतिको लगाव भएको मैले त्यस्तो सपना देखेको ४-५ दिनपछि विश्वेश्वरप्रसाद कोइरालाबाट सृजना भएको “श्वेतभैरवी ” कथा पढ्ने मौका मिलेको थियो । साच्चै नै त्यो कथा पढेर म अचम्मित भए । अनि त्यस कथालाई म आफ्नो सपनासँग तुलना गर्न थाले । सपनालाई फेरि याद गरेर सोच्न थाले – सपनामा देखेको त्यो बगैचामा भुइमा देखेको रगत पक्कैपनि त्यही सुन्दर आकृति हुनुपर्छ अनि त्यसमा मिसिएको रगत मेरो आफ्नै, भनेपछि सपनामा त्यस बखत त्यस आकृतिसँग मेरो चुमन भएको रहेछ । के यही नै थियो त मेरो सपनाको अर्थ? कस्तो अचम्म, सपना बाहेक कहिले पनि नदेखेको आकृतिसँग चुमन ।

म अब गज़लहरू सुन्न थालेको थिए । FMमा आउने कार्यक्रम “बुल बुल”मा एकदिन मैले बुलबुल चरा बारे एउटा कथा सुनेको थिए जुन मलाई एकदम नै राम्रो लागेको थियो । कथा यसप्रकार छ ।

“ईरानमा एक युवक एउटी महिलालाई औधि मन पराउन थाल्छ तर युवती भने त्यो पुरुषलाई मन पराऊदैन । युवकले आफ्नो मनको इच्छा त्यस युवतीसँग प्रकट गर्छ तर यसलाई पन्छाउनका निमित्त त्यस युवतीले गर्न नसकिने कार्य सम्पादन गरे मात्र यस बारे सोच्ने कुरा गर्छ र युवकलाई गुलाब फुल्ने मौसम नभएको बखत अबको दुई दिन भित्र रातो गुलाब लिएर आए मात्र त्यो प्रेम स्वीकार्ने कुरा गर्छ । अब युवक जताततै रातो गुलाबको खोजीमा निस्कन्छ । भेटिने जति सबै ठाउमा खोज्दा पनि बेमौसम भएको कारण कहीं कतै फेला पर्दैन र निराश भएर दुखी हुँदै फर्कन थाल्छ र बल्ल बल्ल एउटा सेतो गुलाब चाहिं भेट्टाउँछ । त्यो देखेर युवक झन् बेस्सरी रुन थाल्छ । उसको यस्तो दर्दनाक रुवाई नजिकै रुखमा बसेको बुलबुल चरीले याद गरिरहेको हुन्छ । युवकले त्यो सेतो गुलाब त्यही रुख छेउ छाडेर रुदै बाटो लाग्छ । अब बुलबुल चरी भने त्यही सेतो गुलाबको डाठ आफ्नो छातीमा रोपेर सुरिलो धुन निकाल्दै युवक पछि पछि लाग्छ । यस्तो गर्ने क्रममा एउटा क्षण त्यो बुलबुल युवकको हातैमा झर्छ साथै रातो रगतले सिंचिएको रातो गुलाब पनि । युवक एकछिन त अक्क न बक्क पर्छ फेरि रातो गुलाब को कारण आफ्नो प्रेम सफल हुन्छ भनी त्यस बुल बुललाई मनमनै धन्यवाद दिएर युवती भए तर्फ लाग्छ । रातो गुलाब पाए पनि त्यस युवतीले युवकलाई स्वीकार गर्दैन र गुलाब त्यही मिल्काइदिन्छ । त्यत्रो कोसिस गर्दा नि आफ्नो प्रेम अस्वीकृत भए पछि युवकले पनि त्यस युवतीलाई बिर्सन थाल्छ तर बुल्बुल्को त्यत्रो ठुलो त्याग भने त्यसै खेर जान्छ ।”

म सोच्छु कतै मेरो हृदय जसले मेरो प्रेमलाई पवित्र पाएको छ अनि जे गर्न तयार छ – यसको त्याग पनि कतै खेर पो जाने हो कि । मेरो यस पवित्र प्रेम बारे केवल मेरो हृदयलाई मात्र थाहा छ । मेरो हृदय नै मेरो बुलबुल । लाग्छ उनको र मेरो प्रेमको साक्षी मेरै हृदय हो फरक यति कि यस प्रेम बारे उनलाई केही थाहा छैन । अँझ भनुम न, मेरो हृदयले उनलाई धेरै माया गर्छ, मेरो बुलबुलले म फेरि सोच्छु बुल बुल को त्याग कहिले खेर जाँदैन । कथामा पनि त प्रेमकै लागि बुल बुलले त्याग गरेको हो, चोखो मायाको लागि त्याग गरेको हो ।

अब म उनीसँग मेरो प्रेमको बारेमा खुलासा गर्न चाहन्छु । जब जब म यसबारे सोच्छु, पहिले आफैलाई नियाल्छु, ममा के छ जसको कारण उनी पनिमा प्रति आकर्षित हुन् । ऐना हेर्दा आफैलाई कुरुप देख्छु, व्यक्तित्व हेर्दा आफैलाई घृणा गर्न थाल्छु । अनि सोच्छु म प्रेमको काबिल छैन । मसँग केवल एउटा हृदय न छ जसले जानेको छ किमा उनलाई कति माया गर्छु भन्ने तर फेरि उनलाई यो हृदय नै चिरेर देखाउन त सक्दिन नि ! अनि हरेक पटक निरासा । उनको र मेरो मिलन असम्भव । हृदयमा घाउ लागेको छ । सायद कसैले पनि सोच्न सक्दैनन् होला ममा के गुज्रेको छ ।

*********

हिजो फेरि मैले निर्णय गरे कि म उनीसँग प्रेम गर्दिन । मेरो प्रेम फुल्नु अगाडि नै ओइलाएको छ । म फेरि पराजीत भएको छु प्रेम को मामिलामा आफैसँग । तर मेरो हृदय भने यो मान्न एक रत्ति पनि तयार छैन । एक मनले भन्छ आज पनि एउटा बुलबुल (मेरो हृदय) को माया खेर जान आटयो भने अर्को मनले दृढ भएर भन्छ – “बुलबुलको त्याग कहिले खेर जाँदैन ।“

हिजै राती मेरो पहिलेको सपना एउटा नयाँ रूपमा मैले देखे । म त उनलाई पछ्याउदै रहेछु उनी भने मबाट टाढा भाग्दै रहिछन । तर जब त्यो बगैचा सामुन्ने आयो उनी त्यसैमा बिलिन हुन पुगिन फेरि राम्ररी हेर्छु त्यो बगैचा नभई काँडाको झयांग रहेछ र भुइमा देखिएको रगत त मेरो आफ्नै रहेछ । अनि सेतो फूल उनिरहिछन अनि खै किन हो मेरो प्रेम बुझ्न नसकेको भएर उनी काँडाले घेरिएर बसेकी रहिछन, अनि मैले छुन खोज्दा त्यही काँडाले घोचेर रगत बगेको रहेछ । नेपथ्यमा भने मेरो असल प्रेम बुझ्न नसकेको भएर उनले श्राप पाएको भनी कसैले भन्दो रहेछ । अनि फेरि पश्चाताप गरी आफै रगत बगाउन थालिछ। तर अन्त्य नि भएछ उनको।अनि अन्तिम पटक मसँग चुमौन भएको रहेछ । वास्तवमा सपना यस्तै अधुरो अपुरो अनि टुक्रा टुक्रामा सम्झिन्छु म । कुनै पनि कुराको किन, कसरी, केका लागि भन्ने पनि अनुत्तरित नै थिए ।

म राति नै ब्युझे । मलाई हनहनि ज्वरो आएको थियो । अनि मेरो सपनाको अर्थ पनि केही रूपमा खुलेको थियो । म सोच्छु मेरो हृदय नै वास्तवमा असल प्रेमी हो र हृदयलाई प्रेम गर्नबाट कसैले रोक्न सक्दैन । तर पनि म असफल भएको छु किनभने मैले मेरो प्रेम बारे उनलाई भन्ने आट अँझै गरेको छैन । बिना युद्ध हार मानेको छु । अनि यही त हो असफल मान्छेको नियति, स्वपराजीत अनि असफल मान्छे म अनि मेरो असफलताको कथा ।

“समाप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *