जप्दै अहिंसा अब बुद्ध मान्छे
लड्दैछ तेस्रो नव युद्ध मान्छे
न शस्त्र अस्त्रै न त बारुतै छ
विषाणु लड्ने पथ मारुतै छ ।।१।।
मारेर हाँसो डरको कजाइँ
पारेर पाशो यमको रजाइँ
विषाणु त्यो को भीड नाच हेर
नाच्दैछ सिङ्गो जग–मा–र–मेर ।।२।।
भन्दैन हे–मा–लय को तराई
छान्दैन आफ्नो अनि को पराई
पहाड बेँसी छ निशा नभैमा
धर्ती र आका श मता सबैमा ।।३।।
तृप्तिन्न कैल्यै किन यो बिहानी
चित्कार सुन्ने उसको छ बानी
लुकेर बस्ने जुन वस्तुमा नि
रहन्छ ज्युँदो भीडमा नजानी ।।४।।
दिएर मान्छे मरने सराप
थापेछ चारैतिर ऊ धराप
उस्तै छ बाकीँ तर सृष्टि सारा
मात्रै छ मान्छे किन बेसहारा ।।५।।
थुनेर मान्छे घर पिँजडामा
राखेछ कस्तो विषको घडामा
खाएर लाखौँ नरको परान
डुल्दै छ सारा जनको घरान ।।६।।
कि खान्छ भित्रै घर भोकले नै
कि खान्छ भित्रै डर शोकले नै
निस्केर हिँड्ने परको सुखैमा
धेरै विलाए यसको मुखैमा ।।७।।
लाग्दैन निद्रा न त भोक जाग्छ
लाग्दैन यो कोभीड शोक भाग्छ
जल्दै छ चिन्ता मुटुमा छुनाले
अवश्य खानेछ कि कोरनाले ।।८।।
छ जात यौटै उसको कुकर्म
अधर्म यौटै उसको सुधर्म
ऊ पूज्छ द्यौता जुन मृत्यु पूज्छ
ऊ बुझ्छ यौटा जुन मृत्यु बुझ्छ ।।९।।
बुझ्दैन भाषा अब आँसुको ऊ
बुझ्दैन माया तन मासुको ऊ
देख्दैन केही तम शून्यतामा
बसेछ लौ यो कलि पूण्यतामा ।।१०।।
भेटेसि मान्छे न धनी न साना
पिउँछ रातो जल तिर्सनामा
चुँडेर फूलैफुलको जवान
उजाड पार्दै छ नि यो बगान ।।११।।
हुँदैन रातै दिन फिर्नु पर्छ
चढे नि डाँडा पछि गिर्नु पर्छ
आउँछ पक्कै दिन त्यो घुमेर
बाला युवा औँ वयको उमेर ।।१२।।
हार्दैन मान्छे सुन यत्तिकैमा
मार्दैन मान्छे गुन यत्तिकैमा
जितेर यो कोभीडको लडाइँ
गर्नेछ मान्छे जयको बडाइँ ।।१३।।
(छन्दः उपजाति)
बी एस नीरव
फलेवास – ७, पर्वत