Skip to content

आफ्नै देशमा सुकुम्बासी भएको छु

  • by


पोहोर सालका बसन्तहरू
ईलामको चिया बगानभरि
छरिएको देख्दा लाग्थ्यो,
यसपाली चाँडै फूलहरू फुल्नेछन्
आगनका डिलभरि
सयपत्री र मखमलीसँगै
शरदले पनि खुसियाली मनाउनेछ
तर हैन!
यो मेरो क्षणिक भ्रम रहेछ,
ती फूलका डालीहरू
बिछिप्त बनेर
मृत्यु शैय्यामा लडिरहेको पाएँ
ती बसन्तहरू रुँदै रुँदैै
दार्जिलिङ्गतिर झरिरहेको पाएँ
मैले फूललाई धेरै सम्झाएँ
बसन्तलाई निक्कै फुल्याएँ
तर मेरो प्रयास निस्फल बन्यो
बिछिप्त फूलहरूलाई
मेरो माईती बिनाको
भाइटिका फिक्का लाग्यो रे
चियाबारीका बशन्तहरूलाई
मेरो ईलाम पतझड लाग्यो रे
यहाँ भाइले दाइलाई
दिदीले बहिनीलाई
पञ्च वली दिन थालेको बेला
ती फूलहरू – ती बशन्तलाई
कहालि लाग्यो रे
म निरुत्तर भएँ
मसँग जवाफ थिएन
खै ! म के भनेर फुल्याउँ ?
कुनै उल्लास ममा रहेन
आश्वासन दिने हिम्मत भएन
सूर्योदयको प्रभात सगै
युद्धले थकित कुरुक्षेत्रमा निस्के
हिजोको दश बर्षे युद्धहरू
कसैको सिउदोमा
कसैको वैसाखीमा
कसैको फाटेको भोटोहरूमा
र्निलज्ज हाँसी रहेको पाएँ
परेलीहरू ओभानो नै थिए
तर पनि अवसरवादको
अघि-पछि दगुरिरहेका
ती यान्त्रिक मानवहरूमा
मानवीय संवेदना थिएन
देश र राष्ट्रप्रति मोह थिएन
त्यही भएर कुनै रोबटको भन्दा
तिनका परिचय अरु हुन सक्दैन
रिमोटबिना तिनीहरूका जीवन
कदापि चल्न सक्दैन ।।?
निक्कै कोशिस गरे
ज्यादै मेहनत खर्च गरें
बिडम्बना,
म आफ्नै आगन बिरानो बनें
म आफ्नै समाजमा बिद्रोही बनें
जसको फल स्वरुप अब,
ईलाम मेरो रहेन – तराई मेरो भएन
पहाड अनि हिमाल पनि मेरो हैन रे
यो धर्ती – यो देश
जस्लाई मैले आफ्नो ठानेथें
माटोको टिका लगाएर
जसलाई मैले मेरो मानेथें
तर आज यो त
मेरै भाइको – मेरै दाइको
मेरै दिदीको – मेरै बहिनीको
अंशमा परेछ, एकलौटी पेवा भएछ ।
म त हजुर आफ्नै घरमा सुकुम्बासी भएकोछु
म त हजुर आफ्नै देशमा सुकुम्बासी भएकोछु ।।

स्यामुना
लेटाङ्ग—७, मोरङ्ग
हाल—दोहा, कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *