Skip to content

भवानी भिक्षुः शतवाषिर्की विशेष ‘नेपालको छोरा, म कसरी अनेपाली’

  • by


भवानी भिक्षुको जन्म वि.सं.१९६६ साल जेठ २१ गते बृहस्पतिवार भएको हो । पश्चिम नेपालले दुईवटा सुपुत्र जन्माउने सौभाग्य प्राप्त गरेको छ । एउटा गौतम बुद्ध जसलाई ‘एसियाको प्रकाश’ भनिन्छ र जसमाथि नेपालले मात्र होइन विश्वले नै गर्व गर्न थालेको छ । हाम्रो देश नेपाल गौरवान्वित भएको छ, सम्मानित भएको छ र लाभान्वित भएको छ । हाम्रो शिर सगरमाथाभन्दा पनि बढी उचो भएको छ, उन्नत भएको छ । अर्को सुपुत्र भवानी भिक्षु हुन जसमाथि नेपाली वाङ्मय गौरव गर्दछ । नेपाली वाङ्मयका तीन प्रसिद्ध विधा उपन्यास, कथा र कवितामा समान अधिकारसाथ समानान्तर रूपमा सतत लेख्ने काम गरे उनले । फलतः तीनटै विधाहरू समृद्ध भए र सम्पन्न भए । उनले लेखेका कथासंग्रहहरू हुन्- गुनकेसरी (२०१७), मैयाँसाहेब (२०१७), आवर्त (२०२४) र अवान्तर (२०३४), कविता संग्रहहरू-छायाँ (२०१७), प्रकाश (२०१७), र परिष्कार (२०१७) उपन्यासमा १. सुभद्रा बज्यै (२०१९), २. आगत (२०३३), पाइप नं. २ (२०३४) र सुन्तली (अपूर्ण २०४०) ।

यस बाहेक ‘पर्दापछाडि (एकाङ्की)- २०३० सालमा उनले लेखे । यसप्रकार के भन्न सकिन्छ भने भवानी भिक्षु निपुण गद्यकार हुन् । गद्य लेखन दुष्कर र दुरुह कार्य मानिन्छ । संस्कृतमा पनि भनिएको छ- ‘गद्यं कविनां निकषं वदन्ति ।’ उनी पद्य भन्दा गद्य क्षेत्रका सिद्धहस्त र सिपालु साहित्यकारको रूपमा सुपरिचित हुन् । उनले प्रसिद्ध लेखम भिक्टर हृयूगोका प्रसिद्ध प्रेमकथाहरूको पनि अनुवाद गरेका हुन् । यो पनि उनको गद्य लेखन क्षेत्रमा निपुणता र दक्षताको कसी हो । यसको अतिरिक्त उनले विभिन्न साहित्यिक पत्रपत्रिकाहरूमा फुटकर निबन्ध लेखेर पनि यस कुराको समर्थन गरेका हुन् । उनले दिएका विभिन्न अन्तर्वार्ताहरू जस्तो ‘स्रष्टा र साहित्य’ (२०२३), ‘बिहान’ वर्ष र अङ्क ४ २०३७,’रचना ‘ (२०३६ भदौ मङ्सिर) तथा ‘रत्नश्री’ को वर्ष ३, अंक ३ मा प्रकाशितबाट पनि उनको गद्य लेखनको उत्कृष्ट उदाहरण स्पष्ट हुन्छ ।

भवानी भिक्षु एउटा चिन्तक पनि हुनुहुन्थ्यो । आफ्नो चिन्तन मननबाट आफ्ना कृतिहरूका लागि वण्र्य विषय बनाई अभिव्यक्ति दिनुहुन्थ्यो । यस सन्दर्भमा उहाँको एउटा सूक्ति प्रस्तुत गरिन्छ जसबाट उहाँको चिन्तक व्यक्तित्वमाथि प्रशस्त प्रकाश पर्न सक्तछ- ‘शक्तिको अभावभन्दा हजारौं दोब्बर बढ्ता अभाव प्रवृत्तिको हुन्छ । प्रवृत्तिकै अभाव हटाई स्वभाव बनाउन सके शक्तिको अभाव रति पनि लाग्दैन । त्यो आफै भागेर जान्छ ।’ यस उद्धरणबाट अर्को गद्य लेखन शैलीको पनि एउटा रूप प्रस्तुत र प्रदर्शित हुन्छ ।

भवानी भिक्षुको प्रारम्भिक साहित्यिक लेखन हिन्दी भाषाबाट सुरु भएको पाइन्छ । उनले हिन्दी साहित्यको पनि प्रशस्त अध्ययन गरेका थिए । यसबाहेक बंगाली साहित्यका अमर साहित्यकारहरू रवीन्द्र ठाकुर तथा शरद्चन्द्र चट्टोपाध्यायका पनि उनी प्रशंसक थिए र उनीहरूको लेखनबाट प्रभावित र प्रेरित पनि । उनी हिन्दी भाषामा लेख्दथे भन्ने कुरो निम्नांकित आत्मस्वीकृतिबाट प्रमाणित हुन्छ- ‘सुब्बा ऋद्धिबहादुर मल्लज्यूले नै हिन्दीमा लेखिएको भिक्षुको लेखलाई ‘आलोचना र आलोचक’ नाउँले अनुवाद गरी १९९३ साल कार्तिक अङ्कको ‘शारदा’ मा प्रकाशित गर्नुभो, र यसरी … नेपाली साहित्यलाई चिनारी गराइयो- ‘मधेसे नेपाली लेखक !’ -भिक्षुका आत्मस्वीकृतिबाट ।

भवानी भिक्षु आफ्नो देश र देशको माटोप्रति सर्वतोभावेन समर्पित साहित्यकार हुनुहुन्थ्यो । उहाँ देशभक्त र भाषाभक्त लेखक हुनुहुन्थ्यो । अनेपाली भाषाभाषी भएर पनि उहाँ नेपाली भाषाका अनन्य सेवक हुनुहुन्थ्यो । उहाँ अवधी भाषा, भाषी हुनुहुन्थ्यो तर त्यस भाषामा उहाँले कलम चलाउनु भएको कुनै प्रमाण पाइँदैन । बरु सम्पर्क भाषा हिन्दीमा उहाँले धेरै योगदान दिनुभएको छ । कालान्तरमा हिन्दी भाषामा आफ्नो लेखन बन्द गरेर नेपाली भाषामा लेख्नु उहाँको राष्ट्रभाषा नेपाली प्रतिको असीम प्रेम तथा अनन्त श्रद्धाको द्योतक हो । आफ्नो देशप्रति र देशको भाषाप्रति उहाँको निम्नांकित उद्गार अभिनन्दनीय, प्रशंसनीय र सराहनीय छ- ‘देश र माटो असाधारण आशक्ति हो । स्वर्गको सम्पूर्ण सान्त्वना लिएर जान लागे पनि यही माटोकै भाषामा मानिसलाई अथाह पीर खप्नुपर्छ ।’

उहाँ अनेपाली भाषाभाषी हुनुहुन्थ्यो तर अनेपाली होइन । अनेपाली भाषाभाषी भन्नाले उहाँको मातृभाषा नेपाली थिएन तर उहाँ नेपाली नागरिक हुनुहुन्थ्यो । कविवर केदारमान व्यथित र युगकवि सिद्धिचरण श्रेष्ठ नेपाली हुनुहुन्थ्यो तर उहाँहरूको मातृभाषा नेवारी थियो । यहाँ एउटा प्रसङ्ग उल्लेखनीय हुन सक्तछ । खर्साङको एउटा अभिनन्दन समारोहमा उहाँको परिचय यसरी प्रस्तुत गरिएको थियो- ‘यहाँ जन्मले एक बिहारी हुनुभए पनि नेपाली साहित्यमा यहाँको स्थान उच्च छ । नेपाली साहित्यलाई यहाँको देन बडो सराहनीय छ । अनेपाली भएर पनि नेपाली भाषा र साहित्यको निकासमा यहाँको देन साँच्चै ठूलो छ’ । यसरी उहाँको परिचय दिएपछि उहाँको सहज र स्वाभाविक प्रतिक्रिया थियो- ‘मेरो परिचय दिंदा यहाँले मलाई अनेपाली भन्नुभो- म कसरी अनेपाली ? म खास नेपाली हुँ, नेपालको छोरो कसरी अनेपाली हुन सक्तछ र ?’ शिवकुमार राई, श्री भवानी भिक्षुः एक संस्मरणः उन्नयन पृ.१३९) हिन्दी साहित्यका प्रसिद्ध कथाकार चन्द्रधर शर्मा, गुलेरीको कथा ‘उसने कहाँ था’ अमर कथाको रूपमा स्मरणीय छ जस्तै कथाकार भवानी भिक्षुको कथा ‘त्यो फेरि र्फकला’ पनि नेपाली साहित्यमा अमर हुनगएको छ ।

नेपाल तराईका बासिन्दा भएकाले भवानी भिक्षु त्यहाँको रहनसहन, रीति-रिवाज, खानपिन, पहिरन, र जीवनशैलीसित पूर्ण परिचित हुनुहुन्थ्यो । अतः उहाँको कथा ‘हारजीत’ शीर्षकमा त्यहाँको ग्रामीण जीवनको यथार्थ चित्रण गरिएको छ । भवानी भिक्षुले ‘हारजीत’ शीर्षक कथाबाट नेपाली साहित्यको आञ्चालिक परिवेशलाई अङ्कति गरेर एउटा प्रशंसनीय काम गर्नुभएको छ । नेपाल तराईको आञ्चालिक परिवेशमा लिखित यो नेपाली साहित्यको पहिलो उपन्यास नै हुन सक्तछ । यस आञ्चलिकताको बीजारोपण उहाँको कथा ‘हारजीत’ मा भइसकेको थियो तर भवानी भिक्षुले ‘आगतमा नै आञ्चालिकताको नटबृक्षको स्थापना गर्नु भएको हो जस्तो लाग्दछ । भिक्षु स्वयं तराईबासी भएकाले आफ्नो आगत’ उपन्यासमा आञ्चालिक परिवेशको जीवन्त निरूपण गर्न निपुण साहित्यकारको रूपमा देखापर्नु कुनै आश्चर्यको कुरो होइन । उहाँको यस वर्णनमा मौलिकताको पुट पाइन्छ ।

सम्पूर्ण तराई आफ्नो सामाजिक संरचनासहित यहाँ प्रस्तुत छ । तराईको प्राकृतिक सौन्दर्यको साथै भौतिक वातावरण पनि यहाँ सजीवतासँग उद्घाटित छ । त्यहाँको ग्रामीण जीवनको सम्पन्नताको भेटिन्छ । तराईको ज्वलन्त समस्यालाई पनि यहाँ उपन्यासकारले दर्शाउने कोसिस गर्नुभएको छ ।

भवानी भिक्षुको ‘आगत’ उपन्यास वास्तवमा तराईको जीवनको ऐना हुन पुगेको छ । हिन्दीका प्रसिद्ध उपन्यासकार फणेश्वरनाथ ‘रेणु’ को ‘मैला आञ्चल’ जस्तै स्तरीय, पठनीय तथा संग्रहणीय उपन्यास भएको छ भवानी भिक्षुको ‘आगत’ उपन्यास पनि । मदन पुरस्कार गुठीले यस उपन्यासलाई मदन पुरस्कारबाट पुरस्कृत गरेर प्रशंसनीय काम नै गरेको प्रमाणित भएको छ ।

नेपाली साहित्यका अमर साहित्यकार भवानी भिक्षुले बडो इमान्दारीपूर्वक आफू प्रभावित र प्रेरित हुने साहित्यकारहरूप्रति आभार प्रकट गर्दै भन्नुभएको छ- ‘प्रेरणा र प्रभाव बारेमा भिक्षुको स्वीकारोक्ति- ‘ममाथि पहिलो प्रभाव शरतचन्द्रको परेको थियो, म उनलाई गुरु मान्छु । कथाको अभिव्यक्तिमा जैनेन्द्रकुमार, बाल्जाक, मोपांसा, दस्तावस्की, एमिल जोला, उत्प्रेक्षा र भनाइमा विदग्धताका लागि ममाथि बनार्ड शाको छाप परेको छ । वाणी विच्छेद र शिल्पका लागि देवकोटा र सुकोमल भावको अभिव्यक्तिको निम्ति सिद्धिचरण मलाई मन पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *