Skip to content

देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा

  • by


ऊर्दूका महाकवि गालिबले लेखेका छन् ,
थी खबर गर्म, कि गालिब के उडेंगे पुर्जे
देखने हम भी गए थे , प तमाशा न हुआ ।
यस्तै तमाशा हेरे नेपालीले देवकोटाकालीन नेपालमा । देवकोटा अघिल्लो शदीका यस्तै एक मिथक बने । उनको जीवन, जगत् र कृतिले नेपाल र नेपालीलाई अत्यधिक प्रभाव पारेको छ । उनले कविता गीत, निबन्ध सारा विधामा आफ्नो उपस्थितिलाई सदैव तज्जन्य आकर्षण दिए । उनी सर्वत्र, सदैव एक सरल प्राणीका रूपमा देखिए ।
अघिल्लो शताब्दीमा लेखिएको गालिबका ई मिसराले नयाँ शताब्दीका देवकोटाको जीवनको अन्तिम झलकलाई आकलन गरेको सत्यातीत हुन्छ । इतिहासको त्यो चरणमा तर दुवैले एकअर्कालाई भेट्ने संयोग मिलेन । गालिबले त देवकोटालाई देख्न पाएनन् तर देवकोटाको जीवनले गालिबकै जस्तो सङ्घर्षपूर्ण जीवन नै चयन गर्‍यो पछि । कैंयन् कथा र उदाहरण त मान्छेले गालिबबाट देवकोटाको जीवनमा पनि सारेका छन्, गालिबको दुनियाँ पनि देवकोटाको भन्दा पृथक थिएन ।
गालिब र देवकोटाका समतुल्य पक्ष धेरै थिए, दुवै दयालु र हृदयशील प्राणी त थिए नै । गालिब आफूले कमाएको तलब लिएर कहिले घर आउँदैनथे भने देवकोटाको हातमा पनि सङ्क्रान्तिका दिन तलब हातमा हुन्नथ्यो । गालिब पनि राजशाहीका बेला पीडित कवि थिए जस्तो देवकोटा पनि त्यस्तै समयका प्रतीक बने । गालिबका बेला तत्कालीन शासक बहादुर शाह जफर पनि कवि थिए, देवकोटका समय पनि तत्कालीन शासक महेन्द्र कवि थिए ।
गालिबले दुइओटा शासनपद्धतिलाई आफ्नै आँखाबाट देखे, ढल्दै गरेको मुगल साम्राज्य र बि्रटिस शासन । देवकोटाले पनि ढल्न लागेको राणाशासन र त्यसपछिको राजशाही ।
दुवै आ-आफ्नो भाषाका महाकवि थिए, गालिब उर्दूका र देवकोटा नेपालीका ।
सन् १८५७ मा चर्चामा पुगेका गािलब र सन् १९५७ मा चर्चाको शिखरमा पुगेका देवकोटा दुवै आफ्ना समकालीनबाट पीडित थिए ।
स्रष्टालाई चिन्ने दुई आधार स्पष्टतः हुन्छन्, कृतित्वको आधारमा र व्यक्तित्वको आधारमा । देवकोटाका कृतिबाट जति मान्छे प्रभावित भएको पाइन्छ त्यति नै मात्रामा उनको व्यक्तित्वबाट पनि बीसौँ शताब्दीका उच्चतम प्रतिभा प्रभावित भएको पाइन्छ ।
बीसौँ शताब्दीका त्यस्ता दुई होनहार प्रतिभामा पूर्वीय कवि एवं दार्शनिक डा. हरिवंशराय बच्चन र पश्चिमिया ग्रन्थकार डम मोरे । यी दुवै विदेशी स्रष्टाले देवकोटालाई भेटेको क्षणको ईश्वरीय व्याख्या गरेका छन् ।
भारत वर्षका प्रख्यात कवि एवं अद्वितीय आख्यानकार बच्चनले महाकवि देवकोटालाई भेटेपछि आफ्नो संस्मरणकृति ‘बसेरे से दूर’ को पृष्ठ १८२ मा लेखेका छन् , ”……नेपालका जति पनि कविहरूको नाउँ मलाई अहिलेसम्म स्मरण छ, ती हुन् श्री बालकृष्ण सम, श्री देवकोटा, श्री घिमिरे, श्री केदारमान व्यथित र श्री भवानी भिक्षु । समजी नेपाली नाट्यकार र अभिनेता हुन्- उनले आफ्ना केही नाटकहरूका अंश अभिनेताका मुद्रामा सुनाए, जुन प्रभावकारी थियो । जुन कविसित म सबभन्दा बढी प्रभावित भएँ, उनी थिए श्री देवकोटा । …”
नेपाल देशको इतिहासबाट अति प्रभावित मानिने डा. बच्चन नेपाल आएपछि नेपालको कला, कौशलबाट जति प्रभावित भए त्यसभन्दा बढी उनी देवकोटाको जीवनशैली र व्यक्तित्वबाट प्रभावित भए । हिन्दीका महाकवि सुमित्रानन्दन पन्तका पि्रय कवि बच्चन सन् १९६१ म्ाा प्रथमपटक नेपाल भ्रमणमा आएका थिए, उनले देवकोटासितको पहिलो भेटलाई जीवनभर भुल्न सकेनन् र उनले सत्र वर्षपछि सो संस्मरणलाई आफ्नो कालजयी कृति बसेरे से दूरमा लिपिबद्ध गरे । विश्वकवि रवीन्द्र ठाकुर गिताञ्जलीका निम्ति जग-प्रसिद्ध भए भने मधुशालाका निम्ति हरिवंशराय बच्चनलाई त्यही सौभाग्य मिलेको छ । पद्मभूषणबाट सम्मानित डा. बच्चनले आफ्ना समकालीन छिमेकी लेखकलाई सम्मान दिएर अग्रपङ्क्तिमा यस्तो लेखेका छन्, ”..श्री देवकोटा-शरीरले हृष्टपुष्ट, कदले अग्ला, उनका कविताको आधुनिकता यस्तो कि पश्चिमका आधुनिक कविताहरूसित जोरी खोज्ने, नेपालीमा उनको प्रयोग एकदम नयाँ, स्वरमा प्रखरता, आक्रोश, व्यङ्ग्य । राजनीतिमा पनि दख्खल राख्दथे । पछि गएर उनी कुनै विभागका मन्त्रीका रूपमा नेपाल शासनसित सम्बद्ध भए । उनी मज्जाले चुरोट पिउँथे- जस्तो नेपालमा उच्चवर्गीय पिउँछन्, उनको मुखमा टाँसिएको चुरोटको शृङ्खला टुट्दै-टुट्दैनथ्यो । जवानीमा उनलाई क्यान्सर भयो जुन असाध्य सिद्ध भयो, अनि पारिवारिक प्रथाअनुसार आफ्ना सारा आधुनिकताका बाबजूद सम्भवतः उनको सहमतिमै पशुपतिनाथ मन्दिरमा उनलाई राखियो जहाँ असमय उनको मृत्यु भयो ।”
उमेरमा देवकोटाभन्दा दुई वर्ष जेठा बच्चनले क्याम्बि्रज विश्वविद्यालयबाट पीएचडीको डिग्री लिएका थिए, उनी कविता वाचन गर्दै भारतमा आय बनाउने कवि मानिन्थे । दोस्रो विवाहपश्चात् अत्यन्त निर्धनको जीवन सुरु गरेका बच्चनलाई राज्यले उचित सम्मान र आकर्षण दिएका कारण उनी छिट्टै सम्पन्न भए । ठीक विपरीत अवस्था थियो हाम्रो देवकोटाको । देवकोटा पनि बच्चनजस्तै अङ्ग्रेजीका ज्ञाता थिए ।
देवकोटा पनि बच्चनजस्तै कलेजमा अध्यापन गराउँथे ।
बच्चनले नेपाल गमनका बेला देवकोटाका नेपाली र अङ्ग्रेजी भाषाका दुवै बोलीका कविता उनकै सान्निध्यमा बसेर काठमाण्डूमा सस्वर सुन्ने अवसर पाएका थिए । त्यही आधारमा उनले देवकोटाको कवि व्यक्तित्व, राजनीतिक जीवन र नवनिर्मित नेपाली जनस्थानमा उनको उपस्थितिकोे विद्रोहलाई रूपायित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *