Skip to content

समुच्च विचारको नारीवादी कविता

  • by


नेपाली साहित्यमा करिब दुई दर्जनजति साहित्यिक आन्दोलनहरू आइसकेका छन् । जसमध्ये नारीमाथि केन्दि्रत वा नारीद्वारा घोषित कुनै साहित्यिक आन्दोलन वा अभियान आउन सकेको छैन । हुनसक्छ, यही अभावलाई पूर्ति गर्ने उद्देश्यले नारी समानता र स्वतन्त्रताको उद्घोष गर्दै कवयित्री दीपा एवाई राईले समुच्च विचारको प्रतिपादन गरेका छन् । उनले समुच्च साहित्य/विचार शृङ्खलाको रूपमा अर्धवृत्त कवितासङ्ग्रह प्रकाशित गरेका छन् ।

कवयित्री दीपा एवाई राईले हङकङबाट शुरुवात गरेको समुच्च विचारका पाँचवटा मान्यता छन् । अस्तित्व, भिन्नता, शून्यता, प्रकट र सौन्दर्य । यी पाँच बुँदालाई चेतनामूलक ढङ्गबाट साहित्यिमा प्रवेश गराउन अर्धवृत्त कवितासङ्ग्रहको प्रकाशन गरेको कवयित्री राईले उल्लेख गरेका छन् । नारीद्वारा नारीको स्वतन्त्रताको लागि लेखिएका १६ वटा नारीवादी सङ्ग्रहमा छन् । साजमा प्रचलित अन्धोपरम्परा, रुढीगत संस्कार र धर्मको नाममा नारीपुरुषबीच भएको असमानता र अन्यायको विरोधमा समानता र न्यायका लागि सङ्ग्रहका कविताहरूले जोडदार वकालत गरेका छन् । धार्मिक ग्रन्थहरूका कारण विगतदेखि वर्तमानसम्म नै नारीहरू दोस्रो दर्जामा रहनुपर्ने भेदभाव कायमै छ । नारीको अस्तित्व स्वीकार्न नसक्ने पुरुष मानसिकताको बाहुल्यताको कारण अहिलेको २१ औँ शताब्दीमा पनि नारी पीडित हुनुपरेको विरोधमा क्रान्तिको आवाज उठाइनुपर्ने आहृवान कवितामार्फत् कवयित्रीले गरेका छन् । धार्मिक पुराणका पात्रहरूलाई कठघरामा उभ्याएर विद्रोह गरेका छन् ।

श्रीमान् ।
आज युग बदलिएर
आकाश उज्यालो भएको बेला
म ‘सीता’
धर्तीबाट निक्लेर
यस अन्तर्राष्ट्रिय अदालतमा
न्याय मागिरहेको छु ।

यसरी सिङ्गभेदको विरोध गर्दै कवयित्री राईले अर्धवउत्तका कवितामार्फत् नाङ्गी द्रोपदीको विप्लव, कुमारी आमाको हुँकार, जीवित लोग्नेकी विधवाको अस्तित्वको माग, नारीको शालिकको आवश्यकताको शङ्खघोष गरेका छन् । त्यस्तै सङ्ग्रहमा नारीहरूले जीवनमा भोग्नुपरेका अभिशप्त स्थितिको चित्रण कलात्मकरूपमा गर्न सफल हुन कवयित्री राई ।

कवयित्री दीपा एवाई राईको समुच्च विचारको घोषणासहितको पहिलो सङ्ग्रह भएकोले भूमिका हुनु स्वभाविक भए पनि ७१ पृष्ठको पुस्तकमा ३० पृष्ठको भूमिकाहरू अस्वभाविक लाग्छ । नयाँ लेखकको सिर्जनामा धेरै भूमिकाकारहरूले आग्रह गदौ पाठकको अधिकार हनन् हुनेतर्फ पनि सचेत हुनु जरुरी हुन्छ । जे भए पनि ‘अर्धवृत्त’का कविताहरू आफ्नो अभियानप्रति जति इमान्दार छन् त्यति नै कविताहरू सशक्त छन् । यसबाट कवयित्री राईबाट भविष्यमा अझ बढी आशा गर्न सकिन्छ ।

पुस्तकः अर्धवृत्त (कवितासङ्ग्रह)
कवयित्रीः दीपा एवाई राई
प्रकाशकः ओरिएन्टल पब्लिकेशन
संस्करणः प्रथम, २०६६
पृष्ठः ६ ं ७१
मूल्य ः रु. १०१।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *