Skip to content

कवि, कविता र माइली सर्किनी

RPShramik


म प्रकृतिको विलासितालाई कोरेर
मान्छेले भिराएको नारकीयतालाई छोप्न सक्दिन
किनकि म अनियन्त्रित र असक्षम कवि हुँ
र अनियन्त्रित र असक्षम कवि
प्रकृतिको मनोरमता र शुन्दरतामा
अझै नानाभाँती रंग पोतेर
कल्पनाको शुन्य दलदलमा भासिन सक्दिन
फिक्का लाग्छ त्यो – कवि र रविको तुलना ॥

म मुख हेरेर मान्छे चिन्छु
बोली सुनेर चिन्छु
किनकि त्यो प्रकृतिको कृतिमताभन्दा विचित्र छ
यसमा प्रकृतिको शालीनताभन्दा उछृङ्खलताको बिम्ब छ
र यो नाश्वर देहको जीवनचक्र
प्रकृतिकोभन्दा अथाहा छोटो छ
यसले धेरै देह फटाउँछ
र त म मेरो बाबुको दैनिकी पढ्छु ॥

यो एक तमासा बीचको नियात्रा कविता
दुर्जनहरूको भागबण्डा बीचको भविता
अशिष्ट-आसकवृत्तिको आसन्दी आख्यान
मनप्यासको उत्तेजित दासवृत्तिको बृतचित्र
यही अनुपादेय पटासीको एक बेमेल
पसिनाको पनि दुई मुल्य- लाज छोप्न
यही धरतीको एक मनश्चक्ष -एक विवक्षा
मनमाजरीको एक निर्देश
रातो कपडामा बेरिएको लोखर्के ॥

मैले जीवन खटाएर बाँच्न सकिन
त्यसैले रित्तो भएर खोजिरहेँ
रित्तो छु र त भरिन सक्छु
भरिएकाहरू पोखिन्छन् -पोखिन्छन्
त्यही यो अचलाको डर हो
कतै त्यो पोखाईले चिप्लाएर
मेरो अनुताप मार्यो भने
म अधीर जनगणना गरिरहन्छु ॥

मानव-मानवको उछित्तो भेद
स्वार्थगत आिलंगनको एक बेमेल
तर यो दिदृक्षको नामूद रहजनी
लवारपाणे वीरत्वको अहन्ता
भिल्लाहरूको पोल्टोको चिल्ला पत्थर
तनमन माथिको विवसतालाई
अपेक्षाको मरुभूमिमा -शीतलताको एक छहारी
नक्षेत्रका रश्मि छोपी
आँखा अघि स्वर्ग खोज्ने
झरना बोक्ने थाप्ले ढुंगो ॥

न बेगारी त्यो प्राप्तिको
न लाचारी दीनहिनताको
न प्रमिथस अचुक उन्मुक्तिको
न दिगम्बर त्यो जन्मजातको
केबल मुलाहिजा सस्तो छापको
क्षणिक आवेग वेदत्वको
औपचारिक ढोंगको बसिबास त्यो
आँखा खोल्दा धर्ती रुड्ढने
विवसता माथिको प्रहार त्यो
र पनि मेरा हस्तचाल-
क्यानभास भित्र आँशु जोड्छ ॥

अंग-रंगले सिँगारेर
मिथक-बिम्बले चुल्याएर
चुत्केले झै ब्याज खोज्न
सात पुस्ताको त्यो घनिघसाइ
व्यर्थ लुट बजारबाजीको
सृजना नामको जालो भित्र
गुटमुटाइ त्यो कोमल हृदयको
आखिर रहेछ कविता एक रमिता
र त म त्यहिँ झुमी छमछमी नाच्छु ॥

तृणकुटी भित्रको अँध्यारो वस्तुमा
लाजै मर्दो चीरहरण
आँशुहरूको जलधि भिध
प्रचारबाजीको गरिष्ट दर्प
भग्नावशेषको भोको आँत
उचाईको विपुल प्यास
समता बन्धुत्व र कर्मको मुल्यसूची
हाडछाला घोटिघोटी चन्दनको आश
कृतध्न जनजन्तुको एक मुस्कान
टीठ-उपकारको पतित ढोरंगभित्र
एक आँशु मानवको
आखिर छोटो स्वभाविकतामा
म कवि नामको दलाली
बचेखुचेका थोरै मानवलाई
हुर्काउने अहम सिसिफस – तुहेत्रो ॥
खुट्टा बाँधी हिड्न खोज्नु
आँखा छोपी हेर्न खोज्नु
कान थुनी सुन्न खोज्नु
त्यस्तो कल्पनाको मझेरीमा
अझै पतनको हार गुहार गर्नु
अर्को कविताको देह जोड्न
आखिर यति नै रहेछ कविता
र त म माईली सर्किनीले छोएको पानी खान्न
किनकि म ब्राम्हण कवि हुँ ॥

२०६६ साल

1 thought on “कवि, कविता र माइली सर्किनी”

  1. आर पी जी , यथार्थ अभिव्यक्ति

    आर पी जी , यथार्थ अभिव्यक्ति र सुन्दर शब्द हरुको संयोजन -तपाइको कविता उत्कृष्ट लाग्यो
    मझेरीमा पढ्ने अबसर दिनु भएकोमा धन्यबाद

    शरण आँसु

Leave a Reply

Your email address will not be published. Required fields are marked *