यो माया के हो कुन्नि विल्दै मन झर्न खोज्छ
कालै भए’नि बादल जल चीसो पर्न खोज्छ ॥
बुढै भए’नि तनमा मन बन्छ उग्र उग्र
देखेर बैंश मनको कालै पो टर्न खोज्छ ॥
पाइन्न टिप्न तारा झुटा छ सारा सपना
बुद्ध छ अहिले फेरी क्रान्ति पो गर्न खोज्छ ॥
तरवार टुक्रे कत्ति बादशाह र वीर हारे
झुक्दैन जिद्धी माया लङ्कै पो तर्न खोज्छ ॥
तारा र चन्द्र प्यारा आँखाको दूरदेखि
जब सँगसँगै जिउँछन् युद्धै पो गर्न खोज्छ ॥
नपाए मीठो अङ्गुर पाएर ब्यर्थै खट्टो
पहाड झैं अटल मन हठात् सर्न खोज्छ ॥
चाहिन्न अर्को कोही वाचा कसम हजारौं
दाम्लो चुडाइ हरियो घाँसैमा चर्न खोज्छ ॥
धोखा रहेछ माया घाम र छाँया जस्तो
खाली छ दिलमा ”सुशील” सच्चाइ भर्न खोज्छ ॥
– हाल, काठमाण्डौं