Skip to content

राष्ट्रकवि घिमिरेद्वारा अनूदित दुर्गा सप्तशती

  • by


बडा दसैँ नेपालीहरूको संस्कृतिको प्रतीक बनेको छ । यो अन्याय अत्याचारको नाश, नैतिकताको प्रदर्शन, आस्थाको प्रतीक बनेको छ । यसले अन्धविश्वास रूढी-कुरीतिको विरोध गर्दै सत्धर्म र विवेक स्थापना गर्न प्रयास गरेको छ । यो कर्मको रूपमा संस्कृतीय बनेर नेपाली जनजीवनमा छाएको छ । यसलाई कुनै धर्म वा जातसँग सम्बन्धित नभई जनताको कल्याणको रूपमा लिनुपर्ने आवश्यकता छ । दसैँमा पाठ गरिने मातृभक्तिको रूपमा रहेको ‘दुर्गा सप्तशती’को नेपालीअनुवाद संस्कृत नजान्ने नेपाली पाठकका लागि तुलनात्मक ज्ञान वृद्धिका लागि उपयोगी छ ।

हामी कैयौँ कृति तिनको मूलमर्म नजानी अशुद्धरूपमा पढ्छौँ, घोक्छौं । अझ धार्मिक कृतिहरू त बिना अर्थ, बिना मर्म पाठ गरिरहन्छौँ । यसै सन्दर्भमा राष्ट्र कवि माधवप्रसाद घिमिरेको प्रौढ कवि व्यक्तित्वले अनुवादकका रूपमा प्रस्तुत गरेको दुर्गा सप्तशतीको अनुवाद नेपाली वाङमय संसारमा आएको छ । घिमिरेबाट अनूदित कृतिमा उषा चरित्र (१९८७), नागानन्द (२०६२) ऋचा (२०६०) उल्लेख छन् ।

दुर्गा सप्तशतीको महत्व दर्शाउने नेपाली कृति कवि माधव घिमिरे (१९७६) (अनूदित) लेखन २००२/परिमार्जन २०५८ सागरमणि आ.दि.को विस्तृत जगदम्बा प्रकाशनको ९५ औँ ग्रन्थका रूपमा बजारमा उपलब्ध छ । पृ. ७५ को मूल यस कृतिमा अलग्गै भूमिका मात्र ५५ पृष्ठ छ । यस कृतिको पारम्भमा ऋग्वेदीय देवीसूक्त रहेको छ । यसमा देवीको महत्व दर्शाइएको छ । देवीको महत्ता, नीतिसँग सम्बन्धित कुरा, राष्ट्रियता, साम्राज्यवादी असुरहरूको विरोधको कुरा यस कृतिमा दर्शाएको छ । दुर्गा सप्तशतीमा आर्य जातिको सङ्गठन शक्तिको विधान बन्न सक्ने गरी प्रस्तुत छ । यसमा सङ्गठित शक्तिको विशेष वर्णन छ । यसमा राजनीतिको मुख्य सिद्धान्त शक्ति विज्ञान छ । प्रत्येक व्यक्तिलाई संसारमा कुशलतापूर्वक सभ्य जीवन बिताउन सक्ने राजनीतिक विज्ञानको ज्ञान यसबाट उपलब्ध हुन्छ ।

संसारमा देवताको स्वभाव र दानवीय स्वभाव अलग हुन्छ । राक्षसहरू अन्यायी, अत्याचारी, डाहाडे हुन्छन् । तिनीहरूको अत्याचारबाट बाँच्न एकत्रित भई सङ्घर्ष गर्नुपर्दछ ।

पुराणमा देवीको आराधना गरेर ऐश्वर्यकामी राजा सुरथले अखण्ड साम्राज्य पाएको बताएको छ । यस्तै, वैश्यले वैराग्यबाट दुर्लभ ज्ञान पाइ मोक्ष प्राप्ति गरेको कथन छ । दुर्गा सप्तशतीमा भगवती दुर्गालाई सर्वमान्य माताका रूपमा विशेष प्रेमपूर्वक श्रद्धा अर्पण गरिन्छ । श्रद्धाभक्तिका साथ जगदम्बा दुर्गाको आराधना गर्नु बडादसैँको एक महत्वपूर्ण पक्ष हो ।

दुर्गा सप्तशतीको प्रथम अध्यायमा मेघाऋषिले राजा सुरथ र समाधिको प्रसङ्गमा भगवतीको महिमा बताइ मधु-कैटभ दानवको बध गरेको सुनाइएको प्रसङ्ग छ । दोस्रो अध्यायमा देवताहरूको तेजसमेतले देवीको प्रादुर्भाव र महिषासुरका सेनाका बधको कुरा उल्लेख छ । अध्याय तीनमा देवीबाट महिषासुर सेनापति र स्वयं महिषासुरको बधको सविस्तार वर्णन छ । अध्याय चारमा इन्द्र आदि देवताहरूद्वारा देवीको स्तुति गरिएको छ । अध्याय पाँचमा देवताहरूद्वारा चामुण्डाद्वारा देवी अम्बिकाको रूपको प्रशंसा सुनेर बिहेको प्रस्ताव साथ दूत पठाएको प्रसङ्ग छ । अध्याय छैठौँमा देवीद्वारा धुम्रलोचन बधको उल्लेख्य छ । अध्याय सातौँमा चण्ड र मुण्डको बध र अध्याय आठौँमा रक्तबीजको बध र सविस्तार उल्लेख छ । अध्याय नवौंमा निशुम्भको बध अध्याय दशौँमा शुम्भ बधको कुरा वणिर्त छ । एघारौँ अध्यायमा देवताहरूद्वारा देवीको स्तुति र देवीद्वारा देवताहरूलाई वरदान दिएको कुरा उल्लिखित छ । अध्याय बाह्रमा देवी चरित्रको पाठ (स्तुति) महात्म्य, अध्याय तेह्रमा राजा सुरथ र व्यापारी वैश्यलाई देवीबाट प्राप्त बरदानका बारेमा उल्लेख गरिएको छ ।

दुर्गा सप्तशतीमा पहिलो अध्यायमा १०७, दोस्रो ६९, तेस्रोमा ४४, चौथोमा ४२, पाँचौँमा १२९, छैठौँमा २४, सातौँमा २७, आठौँमा ६२, नवौँमा ५६, दशौँमा ३२, एघारौँमा ५५, बाह्रौंँमा ७२, तेह्रांँमा २८ श्लोक रहेका छन् । यी श्लोकमध्ये मार्कण्डेयऋषिले भने, वैश्यले भने, राजाले भने ब्रहृमाले भने, भगवान्ले भने, देवीले भनिन्, देवताले भने, दूतले भन्यो ५४ श्लोकका विभिन्न अध्यायमा छन् । अर्द्धश्लोक विभिन्न अध्यायमा ४२ रहेका छन् ।

दुर्गा सप्तशती उवाच-६, अर्द्धश्लोक-११, श्लोक-१२, एवं २९, श्लोक ५३२ अवरानादि ६६ गरी ७०१ श्लोक रहेका छन् । यसमा १ हरफे श्लोक पनि रहेका छन् ।

विजया दशमीमा दुर्गा सप्तशतीको पाठलाई अत्यन्त महत्वपूर्ण पक्ष मानिन्छ । माता पार्वती देवी महात्म्यमा श्लोक, अर्धश्लोक, उवाच, गरी सम्पूर्ण सात सय मन्त्र रहेका छन् । यी मन्त्रहरूबाट जगदम्बाले अर्थ, धर्म, काम, मोक्ष गरी चार पुरुषार्थ प्रदान गर्ने कार्य हुन्छ भन्ने विश्वास रहेको छ । महाकाली दशभुजा, महालक्ष्मी अष्टादश भुजा, महासरस्वती, अष्टभुजा रहेको प्रचलित धारणा छ ।

दुर्गा सप्तशतीमा कालीको स्वरूप यसरी वर्णन गरिएको छ ः

लिदी विचित्र सटवाङ्ग धर्दी राधे बगम्बर
लाउँदी मुण्डको माला हद्द दुब्ली भयङ्कर
जिब्रो ल्याम्ल्याम् चलाएर हाम्राङे मुख बाउँदी ।
आँखा राता गडेकी र चर्काे डाँको फिजाउँदी । (७/६-९)

शासकले/राजाले पूजा वा जनतालाई, छोराछोरीझैँ पालन गर्नुपर्ने कुरा उल्लेख गरिएको छ ः

“आफ्नै छोरीसरी गर्थे ती प्रजालाई पालन (श्लोक ५)

देशमा राजा कमजोर भएमा देशको दुरावस्था कस्तो हुन्छ” भन्ने कुरा यसरी चित्रित छ ः

राजा कमजोर देखेर दुष्ट मन्त्रीहरू उठे,
लुटेफौज कौशी त्यति राज्य पनि लुटे ।।

दुर्गा सप्तशतीमा देवीको महत्तालाई यसरी दोहोर्‍याइएको छ ः

मार्कण्डेय ऋषि अनुसारः

देवी नै सिर्जना गर्छिन् यो सम्पूर्ण चराचर
मान्छेलाई उनै दिन्छिन् खुशी भई मुक्तिको वर श्लोक ५६

संसारलाई भुलाउने, चलाउने महामाया देवी नै हुन्, अरू होइनन् भन्ने कुरा कृतिमा उल्लेख छ ।

हुँदाहुँदै पनि ज्ञान महामाया भुलाउँछिन्
संसारी यस मायामा यो संसार चलाउँछिन्
ममता भुमरी तुल्य मोह खाडल तुल्य हो ।
रिङ्छन्, डुब्छन् त्यही सारा यो उनैको प्रभाव हो । (१/५३)

अरू त के ब्रहृमा, विष्णु, र महेश्वरका रचयिता पनि महामाया देवी नै भएको कुरा तिनबाटै ईश्वरले मानेको कुरा उल्लेख छ । ब्रहृमा भन्छन् ः

तिमीले नै रच्यौ हामी ब्रहृमा विष्णु महेश्वर
जानेर महिमा तिम्रो स्तुति को गर्न सक्छ र ? (१/८४)

देवी अत्यन्त सुन्दरीका रूपमा देखापर्छिन्, जसको सौन्दर्य अनिन्द्य छ । महिषासुरले देवी देख्दा परेको प्रभाव ः

देख्यो त्यल्ले त्यहाँ देवी-जगतै जग्मगाउँदी
कोल्टयाई पाउले पृथ्वी स्वर्ग श्रीपेचले छुदी । (२/३८)

ऋषिको कथनमा महिषासुरको बध गर्न देवीले अर्कै स्वरूप ग्रहण गर्नु पर्‍यो । उनले रणचण्डीसम्म हुनुपर्‍यो ः

रणचण्डी रिसाएर आँखा लाल गरीगरी
मदिरा भीर मौरीको प्युँदै हासिन् घरीघरी ३।३४

ऋषिले देवीबाट महिषासुरको बध भएपछि इन्द्रादि देवताद्वारा देवीको स्तुति गरिएको निम्नानुसार छ ः

धर्मीको मनमा सुवुद्धि घरमा बस्छौ सुलक्ष्मी बनी
पापीको मनमा कुबुद्धि घरमा बस्छौ अलक्ष्मी बनी ।
श्रद्धा सज्जनमा, कुलीन जनमा छौ लाजकी भावना
हे देवी गर पालना सकलको यै गर्दछौँ प्रार्थना (।।४/५।।)

यसरी चौथो अध्याय देवीको स्तुतिमा केन्द्रित गरिएको छ ।

देवीको महिमाको सम्बन्धमा देवताहरू स्तुति गर्दै भन्दछन् ः

हे विश्वेश्वरि ! देवी विश्व सब यो गर्छ्यौ तिमी पालन
आफैँ विश्व बनेर विश्व सबै यो गर्छ्यौ तिमी धारण
छौ विश्वेश्वरले समेत सहजै मान्ने तिमी निश्चिय
तिम्रा नमित भक्त विश्वजनको बन्छन् स्वयं आश्रय (११/३३।।)

× × × ×

तिमी त्रिलोककी मान्या, पाउ पर्छाै-प्रसन्न हौ
हरी त्रिलोकको बाधा, वर त्रिलोकलाई द्यौ (११/३५)

देवताको स्तुतिपछि देवताहरूलाई आश्वासन दिँदै देवी भन्छिन्

देलान् दानवले बाधा जैल्ये जैल्यै यसै गरी
तैल्यै तैल्यै म आएर मार्नेछु ती सबै अरि (११/५५)

देवीको अघि कथन छ ः

नित्य यै स्तुतिले गर्छ स्तुति जो एक भै
त्यसका सब बाधा म हरिदिन्छु अवश्य नै (१२/२)

तपस्याबाट देवी प्रसन्न भएपछि राजा सुरथ र वैश्यले

मागे सुरथले राज्य अविनाशी परत्रमा
अकण्टक यही राज्य शत्रुनाशी परत्रमा (१३/१७)

× × × ×

मागे वैराग्यले गर्दा वैश्यले ज्ञानकै वर ।

मेरो भन्ने म हुँ भन्ने फन्दा घट्ने सबैतिर (१३/१८) यसरी देवी महात्म्य उल्लेख छ ।

आर्य देशमा मात्र नभई भूमण्डलभर महाशक्तिको उपासना प्रचलित छ । शक्ति बिना कोही शक्तिमान् हुन सक्दैन । शक्तिलाई आधा प्रकृति, आदिशक्ति, चिच्छक्ति, महामाया भनिन्छ । ब्रहृमाण्डको सारा प्रपञ्च शक्तिबाट रचिन्छ, कायम रहन्छ र नासिन्छ ।

भिन्नभिन्न शक्तिपुञ्जको विराट समुदाय ‘आद्याशक्ति’ हो । यही शक्ति तत्वको आराधना हिन्दू जातिले गर्छन् ।

मानव जातिको आत्मगौरव र मानव शक्तिको सङ्गठित प्रभावले संसारमा कार्य गर्न सक्छ ।

स्वराज्य पालन रूप, स्वधर्मको पालना गर्ने राज्यच्यूत राजा सुरथको र राज्य सञ्चालन निष्काम मुक्तिको कामना गर्ने वैश्यवरसाहू समाधिले शक्तिको सामर्थ बताएको छ ।

ऐक्यशक्तिको महात्मा प्राचीनकालमा आर्यहरूले मानव धर्मको प्रचार गरेर शान्ति स्थापना गरेका थिए । केही समयपछि आर्य बाह्य संसार विमुख भए । आर्य जातिहरूमा प्रमोद, आलस्य र असावधानका परिणामत असुर जाति प्रबल हुँदैआएर उनीहरूले मानवता र त्यसको प्रचारक तथा संस्थापक आर्यहरूको देशमाथि प्रहार गर्ने आँट गरे । त्यसबेला देशको सैन्यबल काम लागेन कारण जनता जनार्दन मोह निद्रामा थिए । प्रमाद, असावधानी र आलस्यको विरोधमा सबै एकजुट भएर पुनः आसुरी अत्याचारी प्रवृत्ति राक्षसहरूलाई जिती राजा सुरथ राज्य चलाउन लागे ।

असुर विदेशी, साम्राज्य विस्त्ाारको कारणले आर्यको जाति संस्कृति र धार्मिक प्रवृत्ति नाश भएकाले राज्य प्राप्तिका लागि सबैले परस्पर भेदभाव, कलह फाली एकजुट भई काम गरेर परस्पर मतभेद र जातीय विरोध त्यागेर काम गरियो । यसको लागि महाशक्ति देवीको अवतरण भयो । ऋषि भन्छन् ः

अनौठो तेज त्यो द्यौताबाट निस्केर सत्वर
नारी रूप बन्यो पारी तीनै भुवन तिर्मिर (२/१३)

आर्यहरूको सम्मिलित शक्तिका प्रभावले असुर-साम्राज्यको पतन भयो । आर्यहरूले आफ्नो गुमेको राज्य प्राप्त गरे ।

शुम्भ निशुम्भले दानव जातिको पक्षपात निरङ्कुश साम्राज्य प्रभुत्व बनाउन खोजे । यसको विरुद्ध हिमालमा भेला भए, जुनसुकै देश, जाति वा धर्मको प्रतिष्ठा एकतामा नै रहन्छ । एकताको जस्तो बल अरू कसैमा छैन ।

“जुन देशमा एकता रहन्छ त्यसदेशका सङ्कटरूपी सब रोग नाश हुन्छन् ।” (सागरमणि भूमिका पृ.४५)

यसमा तीन चरितमा वणिर्त देवासुर सङ्ग्रामको कथाले समस्त भूमण्डलाई एकता स्थिर गरी मानवता र भ्रातृत्वभावमा जोड दिँदै साम्राज्य र अन्यायको प्रतीक राक्षस/असुर प्रवृत्तिको हार देखाइएको छ ।

मार्कण्डेय पुराण अनुसार राजा सुरथले दुर्गापूजाको प्रथा चलाएका थिए । आधुनिक दुर्गा पूजाको प्रवर्तक श्रीराम हुन् । उनले दशमीमा दुर्गा उपासना गरेर जनताको सङ्गठनबाट ऐक्यशक्ति प्राप्त गरेका थिए । त्यस समयदेखि नै आसुरी शक्तिमाथि दैवी शक्तिले विजय प्राप्त गरी विजयादशमीको उत्सव मनाउने प्रथा चलाएको सन्दर्भ उल्लेख छ ।

राम-रावण युद्ध दैवीशक्ति र असुरी शक्ति, आर्य र अनार्य संस्कृतिको सङ्घर्षको कथा हो । मानवताले दानवतामाथि विजय पाएको इतिहास हो ।

चण्डी दुर्गाको पर्यायवाची शब्द हो । दुर्गा, काली, चण्डिका आदि ऐक्यशक्तिका नाम हुन् । दुर्गा तत्वको रहस्य यही हो । देशमा छरिएर रहेका जाति जनजाति सबै एकजुट भए मात्र पराइसँगको लडाइँ जित्न सकिन्छ भन्ने यसको सन्देश हो ।

असीम बलधारणी, अनन्तशक्ति सम्पन्न, दिव्य तेजमयी दुर्गा, लक्ष्मी, सरस्वतीको शुद्ध हृदयले उपासना गर्नुपर्छ । संसारले शक्तिशालीलाई मान्छ, उसकै आदर गर्छ, शक्तिकै उपासक छ, शक्तिमै अडेको छ ।

सृष्टि, पालन, संहार गर्दी शक्ति सनातन ।
गुण मूर्ति ! गुणधारा ! नारायणी ! नमोनमः !
शरणागत दुःखीको रक्षामा नित्यतत्पर
साराको कष्ट हर्ने हे देवी ! नारायणी नमोनमः (।।११ /१२।।)

अन्त्यमा राष्ट्रकवि माधव घिमिरे अनूदित दुर्गा सप्तशतीले नेपाली जाति मात्रमा राष्ट्रिय एकता, अखण्डता, स्वतन्त्रता, सार्वभौमिकताका लागि एक सशक्त सन्देश दिन्छ । यस्तै, यसले विदेशीले, साम्राज्यवादीले आक्रमण गरेमा सबैले एकत्रितभई सामना गर्नु पर्दछ भन्ने आफ्नो मान्यता राख्छ । अन्यायको सदैव हार हुन्छ, शक्तिको उपासनाले विजय हुन्छ, भन्दै देवीको उपासनाबाट इच्छित वर प्राप्त हुन्छ भन्ने कुरा उजागर गर्छ ।

दुर्गा सप्तशतीलाई नेपालीमा अनुवाद गरेर माधव घिमिरेले साहित्यिक योगदान गरेको कुरा बिर्सन सकिँदैन । घिमिरेको योगदान उनको निम्न अनुवादबाट स्तरीय अनुवादको प्रशंसा गर्नैपर्छ ।

त्रैलोक्य इन्द्रले पाऊन् खाऊन् द्यौताहरू चरू ।
जाओ पातालमा, बाँच्ने भए इच्छा तिमीहरू ।
हैन, सङ्ग्राम नै खोज्छौ भने आफ्नो घमण्डले ।
लड्न आओ, शिवाशक्ति अघाऊन् दैत्यमांसले (८/२७)

राष्ट्रकवि माधव घिमिरेको सुन्दर अनुवादले नेपाली अनुवाद साहित्यमा महत्वपूर्ण आयाम थपेको स्पष्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *