Skip to content


ऊ छ । म छु अरू पनि छन् । टेम्पो खचाखच भरिएको छ । टेम्पो स्टेसनबाट गन्तव्यसम्म पुग्नका लागि केही समयका यात्रु बनेका छौँ हामी ।

घर काँ हो तिम्रो ?

गोर्खा ।

गोर्खा त म पनि पुगेको छु । गोर्खा कहाँ हो ?

पश्चिम भेग विकट गाउँ पर्छ ।

तिम्रो नाम के हो नि ?

कल्पना लामिछाने क्षेत्री ।

यसैबीच गफ चल्दै रहन्छ । काली भनिहाल्न अलि नमिल्ने, गहुँगोरी देखिन्छे । होची पनि हैन । अग्ली पनि भन्न मिल्दैन । ठीक्कको साला-खाला नेपाली कद । बाक्ला गाला, बाटुलो राम्रो अनुहार । बिहानी रश्मीको छाप पर्दा सफा देखिने हिमालजस्तै सेता टम्म मिलेका दाँत । कुर्ता सुरुवाल, त्यो माथि बाक्लो सूर्ति रङको ज्याकेट लगाएकी यौटी कर्मठ महिला ।

“घरमा कोको छ नि” मेरो सोधाइमा कत्ति पनि झर्को नमानी आफ्ना दाँत खिसिक्क देखाउँदै ऊ जवाफ दिन्छे- घरमा सबै परिवार छन् । हामी हालसाल यतै सहरतिरै छौँ । डेरा यतै इटुम्बहालमा छ ।

बाआमा पनि यतै ? मैले उसलाई कुमारीत्वमा तुलना गरेको छु । अहिले उसले मेरो प्रश्नलाई राम्रो बुझी क्यारे-हाँसेर भनी, म श्रीमान्सँग बसेकी छु । बाआमा गाउँतिरै हुनुहुन्छ ।

अनि उहाँ के गर्नुहुन्छ त ?

ठेक्कापट्टा मिस्त्री काम गर्नुहुन्छ । हाम्रो छोरा पनि छ । अहिले ऊ १४ वर्षको भइसक्यो । हामी तीन जना डेरा गरेर बसेका छौँ ।

तिमी बिहानैदेखि काममा खटिएकी छौँ । घरको काम कसले गर्छ त ?

के नै काम हुन्छ र ? श्रीमान् पनि धेरैजसो बिहानैदेखि काममा हिँड्नु हुन्छ । बिहान छोराले आफँै भात पकाउँछ, खान्छ । त्यसपछि स्कुल पढ्न जान्छ । बेलुकी ७ बजेतिर म पनि टेम्पु थन्क्याउँछु । त्यसपछि आफैँले पकाएर खुवाउँछु । यसरी नै मेरो घर चलेको छ ।

उसले यसरी खुलस्त पारेपछि मलाई लाग्यो कति मिलेको घर परिवार रहेछ । महिलाले नै खाना बनाउनु पर्छ भन्ने मानसिकता नभएको । सबैले समयमा उद्योग गर्नुपर्छ भन्ने सोचाइ ।

एक किसिमले १४ वर्षको बच्चा नाबालक गनिन्छ । त्यस्ता बच्चाको यस्तो बुद्धि । मलाई उनको कुराले समय कटाउने बहाना मात्र भएन । मन निकै छोयो । मलाई लाग्यो ‘हुने बिरुवाको चिल्लो पात’ भनेको यही हो । मैले सोधे- छोरो कति कक्षामा पढ्छ त ?

“अहिले ५ मा गयो ।” भरखर चार-पास गरेको उसले । पढ्न पनि तेजिलो छ । कक्षामा फस्ट नै हुन्छ । उसले यसरी आफ्नो सन्तुष्टि व्यक्त गरी ।

महिलाले टेम्पो हाँकेको त पाँच-सात वर्ष पुरानै कुरा हो तर अब महिलाले टेक्सी हाँकेका छन् । बस हाँकेका छन् भन्ने सुन्न देख्न पाए पनि हुन्थ्यो नि । मेरो मुखबाट खुस्कन पाएकै थिएन । उसले जवाफ दिई हाली, महिलाको कोमलतामाथि भएका नकारात्मक प्रभावका बारेमा स्पष्ट पार्न थाली, महिलाले टेक्सी पनि हाँकेका छन् । एकताका काठमाडौँमा टेक्सी हाँक्ने महिला देखिएका थिए तर के गर्नु जहाँ भन्यो त्यहाँ जानुपर्ने । अनि महिलामाथिको दुव्र्यवहार सहनुपर्ने । केहीले टेक्सी चढेर पैसा दिनसम्म नमान्ने । फटाहा प्रवृत्तिले गर्दा टेक्सी हाँकेका महिलाहरू पनि विस्थापित हुँदै गए ।

तिमीलाई त यस्तो समस्या आइपरेको छैन ? उसले भनी-टेम्पो निश्चित रुटमा-निश्चित ठाउँमा चल्ने हुनाले त्यस्तो असजिलो खेप्नु पर्दैन । फेरि बिहान उज्यालो भएपछि-बेलुकी अँध्यारो नहुञ्जेल मात्र हामी चलाउँछौ । टेक्सीजस्तो रातिमा अबेरसम्म चलाउनु पर्दैन । त्यसैले हामी टेम्पोवालालाई त्यत्ति गाह्रो छैन तर पनि कोही केटाहरूले हेप्न त खोज्छन् । म त डराउँदिन ।

उसको साहसमा सहास थप्दै मैले भनेंँ ”डराउनु पर्ने कारण छँदै छैन । आफूले होसियारी साथ हाँक्यो भने कसले के गर्न सक्छ र ? उसले पनि हाँस्दै भनी हेर्नुस्, पाँच वर्ष भो मैले टेम्पो चलाएको नहुनुपर्ने काम छ्यास्स पनि मैले गरेकी छैन ।”

तिम्रो हात सफा रहेछ -मैले भनेंँ ।

मानिसहरू काम पाइएन भन्दछन् गरे नपाइने कुरा के छ र । काम भनेको सानो ठूलो हुँदैन हैन त सर ? उसको कुरामा उत्सुकता थप्दै मैले भनेंँ ”आफूले सक्ने, जान्ने योग्यताअनुसारको कामजस्तो गरे पनि हुन्छ । समाजमा आफ्नो पसिना बगाएर परिश्रमको कमाई खान काम यो ऊ भन्न पर्दैन बुझ्यौँ ? महिलाहरू चुलाचौका डोको-नाम्लो, मेला-पात, खेती-पाती, गाई-बस्तु, मात्र भनेर घर रुँग्ने जमाना अब छैन । पुरुषसरह आयस्रोत बढाउनु पुरुषलाई आर्थिक टेवा दिन काँधमा काँध मिलाउनु महिलाको पनि उत्तिकै हक, अधिकार र कर्तव्य पनि हो । अझै पनि गाउँ घरमा चेतना पुगिसकेको छैन भन्ने ठानेको थिएँ । तिम्रो कुराले त गाउँ पनि चेतनशील भएछ जस्तो लाग्यो मलाई ।

अलि भावुक देखिएझैँ गरी उसले भनी ”काम गर्न कति मानिस विदेश गएका छन् । महिला पुरुष जो भए पनि अर्काको देशमा गएर दुःख गरेका छन् । कतिले अरब मुलुकमा काम गरेर ज्यान गुमाउनु परेको पनि सुनिँदै आएको छ । कति महिलाहरू काम नपाएर पेट पालनका लागि पुरुषका खेलौना बनेर काँच्ाो मासुको व्यापार गरेका छन् । पैसा कमाएका छन् । मैले त यो काम पाएर सन्तोष गरेकी छु । मलाई लाग्छ म भाग्यमानी नै छु ।”

कति तलब मिल्छ तिम्रो ? साहूलाई बुझाएर मलाई दिनको डेढ दुई सय बच्छ । बिचरा साहू पनि दयालु नै छन् । मीठो बोली बोल्छन्, ज्यालामा ठग्दैनन् । त्यति भए मलाई पुग्छ ।

बिहानीको भात ? मैले यत्ति बोल्न नपाउँदै उसले जवाफ दिइहाली ”बिहानको भात म होटलमा खान्छु । बेलुकीको भात डेरामा स-परिवार खुसी मनले खान्छौँ ।”

तिमीलाई दिनभर टेम्पोको स्टेरिङ घुमाउँदा थकाइ कत्तिको लाग्छ त ? नारी कोमल हुन्छन् । मन कोमल, शारीरिक बनावट कोमल । त्यसैले मैले सोधेको ।

बानी त हो नि । सुरुका एक दुई दिन थकाइ लागेको जस्तो भएको थियो । मीठोपिठो टन्न खाएपछि जीउमा रोग नभइदिएसम्म दिनको कामको थकाइ रातको आरामले मेटिँदो रहेछ । अहिले त उस्तो थकाइको महसुस नै हुँदैन । काम गरेपछि खाना राम्रो खानुपर्छ भइहाल्छ ।

उसको कुरामा मेरो पूरापूर चित्त बुझ्यो । हो, मा हो, मिलाएर मैले भनेँ तिम्रो कुरा ठीकै हो । खान नपाए मरिन्छ तर काम गरेर मरिँदैन । काम गरेर को सानो हुन्छ र ? मैले पहिला-पहिलाको महिलाहरू देख्दा अहिले खुसी मान्छु । महिलाहरूले पुरुषसरह काँधमा काँध मिलाएर काम गरेको देख्दा लाग्छ- अब भने देशको समग्र विकास हुन सक्छ । उसले मलाई अझै सचेत गराउँदै भनी-सर तपाईंलाई महिलाहरू सैनिकमा पनि भर्ना भइरहेका छन् थाहा छ । मैले जवाफ दिँदै भने । हो, अब देशको उच्च ओहदामा पुग्ने देश विकासमा उचित निर्णय लिनसक्नेदेखि कडा काम गर्ने र पुरुषभन्दा हामी कम छैनाँै भन्ने नारीहरूमा चेतनाको विकास हाम्रो देशमा भइसकेको जस्तो मलाई लाग्छ । मात्र उनीहरूले अवसर पाउनुपर्‍यो ।

भनिन्छ पौराणिक युगमा पनि पुरुषका काम महिलाले सघाएका थिए । त्यसैले त महिला सधैँ मर्यादित पनि भए । देश विकास गर्नका लागि नारी पुरुष दुवैको बराबरी सहभागिता गराउने, पारिश्रमिक पनि बराबरी बनाउने । यस्तै चेतनाको विकास दुर्गम गाउँघरसम्म पुर्‍याउन सके यो देशको समग्र विकास हुन सक्थ्यो । तिमीजस्ती चेतनशील, लगनशील महिला यो देशमा अझै खाँचै छ । जसले विलासिताभन्दा पसिनामा विश्वास गरोस् । घर चलाउने एकहात पुरुष हो भने अर्को हात महिला हो भन्ने चेतना दुर्गम गाउँमा फैलाउन सकियोस् । यसरी ऊसँग कुरा गर्दै गएँ ।

एउटी असल चरित्र भएकी, कार्यमा विश्वास गर्ने महिलाको केही क्षणको सङ्गतले मलाई लाग्यो-यो देशको कुनाकुनासम्म पनि जागरुकता आइसके छ । पुरुषसरह काँधमा काँध मिलाउन गाउँघरका महिलाहरू पनि चेतनशील भइसकेका रहेछन् । नयाँ नेपालको खाका तयार गर्ने नयाँ पुस्ताले चाहेमा विकासको फल सबै तहका नारी पुरुष बराबरी परिश्रमले चाख्न सक्ने छन् ।

फेरि एकपटक नेपालीले गर्व गर्न सक्ने छ । अटल हिमालतिर फर्केर भन्नेछ म नेपाली हुँ । आफ्नो मनको गमलामा सुन्दर फूल यसरी नै फुलाई रहृयो त्यो क्षण मेरो मनले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *