Skip to content


मित्रलाल पंज्ञानी विभिन्न विधामा साहित्य सिर्जना गर्ने सिद्धहस्त स्रष्टा हुन् । विशेषतः छन्दमा लेखिएका उनका कविताले थोरैमा पनि धेरै कुरा भन्ने सामर्थ्य राख्छन् । सहजरूपमा कविताको विषयवस्तु उठान गरेर व्यङ्ग्यात्मक शैलीमा प्रभावपूर्ण कविता लेख्नु पंज्ञानीको विशेषता नै हो ।

उनको ‘पृथ्वी कसको ?’ नामक पछिल्लो कविता कृतिमा विभिन्न शीर्षकका ५५ वटा कविताहरू सङ्गृहीत छन् । आत्मापरक शैलीमा लेखिएका उनका कविताहरूमा राम्रो नराम्रो गुण, स्वभाव मानिसभित्र नै रहेको हुन्छ र मान्छेले राम्रा गुणलाई अँगाल्नुपर्छ, नराम्रालाई हटाउनुपर्छ भन्ने भाव व्यक्त गरिएको पाइन्छ ।

आमाको स्नेही वात्सल्यभाव होस् वा आफूले गर्नुपर्ने कर्तव्य नगर्दा पछुताउभाव होस्, बढी मार्मिक ढङ्गले प्रस्तुत भएका छन् उनका

कवितामा ! देशको समसामयिक परिस्थितिमा अब न्यायका लागि जनताले अघि सरेर बोल्नैपर्ने, लड्नैपर्ने भाव कवितामा प्रशस्त अभिव्यक्त भएका छन् । यहाँ बाँच्नेहरूको नै जित हुन्छ भन्ने आशावदी भावचित्रका साथै देशका लागि लडेका सपुतहरू मरेर पनि बाँचिरहेकै हुन्छन् भन्दै पाठकलाई अन्याय, अत्याचार, शोषण र दमनविरुद्ध लड्न प्रेरित गर्दछन् ।

यस कृतिमा भएका केही कविताहरू मुक्तक आकारका चार लाइनका छन् भने केही कविताहरू मझौला छन् ।

‘फाँडौँ यो मार्गको ढुङगा, माडौँ यो पथको दिशा
तोडौँ यो जीर्णतालाई छोडौँ एक्लो जिजीविषा’

उनका कविताले यसरी परिवर्तनका लागि सङ्घर्षको आहृवान गरेका छन् । माथिका पङ्क्तिमा मै खाऊ, मैलाउ, भन्ने मानिसभित्रको तुच्छ प्रवृत्तिमाथि व्यङ्ग्य प्रहार गरिएको छ ।

राष्ट्र होँक्ने नेतृत्व वर्गले सत्ता प्राप्तिका लागि गर्ने स्वार्थीपनको खेलप्रति कवि क्रुद्ध छन् । जसका लागि पनि जुन पेसामा पनि ‘शिक्षा सुन्दर शान्त तपोध्यन हो’ भन्ने सुन्दर कविताका सर्जक मित्रलालले यस कृतिका कविता मार्फत् नेताहरूलाई धनको पिचास नहुन आग्रह गरेका छन् । त्यस्तै, वैँसमा मानिस राम्ररी चल्न सके जीवन सुन्दर हुन्छ, नत्र नरक हुन्छ भन्ने तथ्यलाई सङ्केत गर्दै वैँशालु मनलाई सतर्क गराएका छन् । कविले प्रकृतिपरक भावका कविताहरूमार्फत् पनि देशको स्थितिमा खबरदारी गरेका छन् । पद, पैसा र शक्तिले संवेदना रिक्तिएर मैमत्त भएकाहरूको मनोदशालाई उतार्ने प्रयत्न गरेका छन् । बाहिरी आभूषणभन्दा आफैँभित्रको उज्यालो नै हीरा, मोती हुन् भन्ने भावका कविता पनि स्वादिलो पारामा प्रस्तुत भएका छन् । बैनी सम्झाएको वा परदेश गएका दाजुका अनपढ श्रीमती (भाउजूहरू) को मनोदशा होस् वा जन्मस्थानप्रतिको अनुराग व्यक्त गर्दा होस् या मानिसको बसमा हुन नसकेर विकृत भएका इच्छाशक्तिको प्रस्तुति होस् मानिसको नियतिका अनेक कोणलाई देखाउँदै प्रगतिशील दृष्टिलाई कविले आफ्ना कवितामा व्यक्त गरेका छन् । भन्नुपर्ने कुरा बाँकी नराखी सबै प्रष्ट भन्ने पंज्ञानीको कवि मानसको विशेषता यो पङ्क्तिले पुष्टि गर्छ ।

‘रक्षा गर्छु’ भन्यो भने मार्छ भन्ने जान्नु
‘तान्छु’ भन्दै हिँड्यो भने झार्छ भन्ने जान्नु
आज मैले यो देशमा के देखेँ नि ठूली
भोकै सुत्छन् छोराछोरी एक्लै खान्छन् मूली ।

कृति ः पृथ्वी कसको ? (कवितासङ्ग्रह)
कवि ः मित्रलाल पंज्ञानी
प्रकाशक ः लोकप्रसाद न्यौपाने
पृष्ठ ः ७८+६
मूल्य ः रु. ७०

Leave a Reply

Your email address will not be published. Required fields are marked *