जुनी जुनी सातै जुनी तिम्रै हुँ नि भन्यौ पहिले
छामी छामी यो मुटुमा किन छुरी घस्यौ अहिले
मनको बारी आपसमा जोती खनी बीउ छर्यौ
बिरुवा सर्न थालेपछि किन हामी पर सर्यौ ।
नछुट्नु थियो छुट्यो साथ दोबटामा पुगेपछि
बस्दै गर भनी तिमी कुराएर गयौ अघि
हात दियौ साथ दियौ नछुट्टिने बाटो दियौ
फकाएर सुम्सुम्याउँदै किन बज्रपात दियौ ।
मनैभरि तिमी बोकी दूर देश घुमिरहें
उनी मेरै मात्र मेरै दुनियालाई भनी रोएँ
बदलामा घात पनि मनभरि सहिदिन्छु
तिम्रो खुशी सातै जुनी म त यसै रहिदिन्छु ।
तिमी मेरी मुना अनि मदन तिम्रो हुन्छु भन्थें
तिमीले छुँदा सगरमाथा मैले पनि छुन्छु भन्थें
अनायासै बिलाएछु हिम-पहिरोमा परी आज
उदास जीवन बाँचेको छु सयौं चोटि मरी आज ।
तिमी चुम सगरमाथा सफलताको कामना छ
सधैं तिमीलाई खुशी देख्ने म दुखीको चाहना छ
नबैलायोस तिम्रो मेरो रहर यो पिरतीको
झिली-मिली देख्न पाऊ शहर त्यो पिरतीको ।
तीर्थ (यात्री) पौडेल