Skip to content
LekhNathPoudyal


भरी लता वृक्ष विषे टनाटन
नवीन लाखौं फूल पालुवाकन ।
वसन्त आयो कलकण्ठको अब
सुनिन्छ साह्रै कल कण्ठ-गौरव ।।

अगाडि जो दीन बनी लुकीकन
बिताउँथ्यो केवल दु:खमा दिन ।
अहो !! उही कोकिल हेर आज यो
प्रमोदले पूर्ण महासुखी भयो ।।

बसी बगैंचा-बिच मोजमा परी
नयाँ कलीला सहकारमञ्जरी ।
चपाउँदै मस्त भएर बेसरी
कुहूकुहू गर्दछ त्यो घरीघरी ।।

चलीरहेको छ सिरी सिरी हवा
झुलीरहेछन् सब मञ्जु पालुवा ।
जता दियो दृष्टि उतै खुसी मन
प्रमोदले पूर्ण नहोस त्यो किन ?।।

समीरले पुष्प परागको झरी
लगाउँदा त्यो रसरङ्गमा परी ।
झुलीरहेको छ शरीर बेसरी
मुछेर तेही रजमा घरीघरी ।।

पिएर सा–नन्द रसालको रस
घुमाउँदै नेत्र दुवै मदा-लस ।
सहर्ष खोलौं सुरिलो गलाकन
घनक्क घन्काउँछ त्यो सबै वन ।।

घरीघरी भुर्र उडी अलीकति
घुमेर शाखान्तरमा यताउति ।
बडो बहाडी रसिकै बनी तहाँ
ढलीमली गर्दछ पालुवामहाँ ।।

चुचो ठड्याईकन चट्ट मञ्जरी
ठुँगेर च्यापीकन देखिने गरी ।
फरक्क फर्कन्छ घरी पछिल्तिर
प्रसन्नता-साथ लतारि पुच्छर ।।

न शीत-बाधा, न त घामको डर
न बाग नङ्गा, न त वृष्टिको पिर ।
बसन्तका गौरवले गरीकन
खुसी छ साह्रै कलकण्ठको मन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *