Skip to content

भ्रष्टाचार, भ्रष्टाचारी, श्राप र सुभकामना !


भ्रष्टाचार शब्द “भ्रष्ट” र “आचार” दुई शब्द मिलेर बनेको छ । यी दुई शब्द मध्ये पहिलो शब्द “भ्रष्ट”मा शक्ति केन्द्रित हुनाले त्यसमा जोडिएर आएको “आचार” शब्दलाई उसै “भ्रष्ट” शब्दले आफ्नो गुरुत्वबलमा पारेको देखिन्छ । होइन भने “भ्रष्ट” र “आचार” शब्दलाई अलग अलग बुझ्दा यसले दिने अर्थ बिल्कुल भिन्न हुन आउँछ र मूलत “भ्रष्ट” शब्द अरु बढी ब्यापक बन्न जान्छ । “भ्रष्ट”ले बाटो बिराएको र समाजले बर्जित गरेको काम गर्ने भन्ने जनाउँछ भने “आचार”ले व्यक्तिको आचरण भन्ने बुझाउँछ । तथापि त्यो आचरण भ्रष्ट व्यक्तिको होस् या सदाचारीको, यसमा कुनै भिन्नता हुँदैन । यसर्थ, भ्रष्ट व्यक्ति तपाईं, हामी जो कोहि पनि हुन सक्छौं किनकि बाटो बिराउने जति सबैलाई भ्रष्ट्राचारी नै भन्ने गरिन्छ । नेपालको परिप्रेक्ष्यमा भने भ्रष्ट्राचारी उनैलाई मात्र मानिन्छ जस्ले सार्वजनिक पद धारणगरि पदीय दुरुपयोग द्वारा अर्थोपार्जन गर्दै आएका छन् । यस्मा लिने र दिने दुबै पक्ष्यलाई भ्रष्टाचारी मान्नुपर्ने हुन्छ । भनिन्छ – “ लाउकेले लाउ दिएर नै नाठो पल्कने हो ” । तर हामीकहाँ लाउके भन्दा नाठो नै शक्तिशाली बन्दै आएको देखिन्छ । लाउकेले लाउ दिनै पर्दैन, नाठोले नै जबर्जस्ती लाउ दिन बाध्य पार्छ र खुलेआम लाउकेलाई लुट्छ । दुबै आ-आफ्ना धर्ममा हिंड्दैनन् र पथभ्रष्ट भैदिन्छन् जस्का कारण भ्रष्टाचारले झाँगिने मौका पाउँछ । नाठाहरू खुलेआम भन्छन् – “मैले उस्लाई लुटिन भने अरुले नै लुट्छ । यसै उसै ऊ त लुटिनु नै छ । यसैले अरुले लुट्ने साटो मैले नै किन नलुट्ने ?” नाठाहरूको चित्तमा यही भावनाले जरो गाडेको हुँदा थोरै यसको भनक लाउकेले पनि पाएकै हुन्छ र ऊ धेरै थोरै लुटाउन तयारै हुन्छ । यहाँ, लाउकेका रुपमा नेपाली जनता, संघ संस्था तथा सरकारी निकायबाट काम लिनुपर्ने जति सबै समुदाय र नाठोका रुपमा सरकारी कर्मचारीलाई उभ्याएर हेर्दा माथी भनिएको कुरा ठीकै हो कि जस्तो पनि देखिन आउँछ ।

देशमा भ्रष्टाचार मौलाउनुको पछाडि एक होइन सयौं कारण छन् । जुन कारणहरू यस देशका नेता, राजनीतिज्ञ, बुद्धिजिबी, नागरिक समाज लगाएत अधिकांश सर्व साधारणहरूलाई समेत थाहा छ । यदि यसो हो भने किन यसको निराकरण हुँदैन त भन्ने सवाल पनि यहाँ आउँछ । नहुनुको कारण सरल नै छ – जहिले पनि यस देशमा “दुधको साक्षी बिरालो” बसेको छ । जब जब कुनै पनि व्यक्ति उच्च ओहोदामा पुग्छन्, सार्वजनिक पद धारण गर्छन् र देशको रखवाला हुन्छन् त्यतिबेला देश चलाउने डाडु पन्यू उनीहरूकै हातमा पुग्छ । कसैको हातमा सानो डाडु पन्यु त कसैको हातमा ठुलो डाडु पन्यु ओहोदा र पद अनुसार परेकै हुन्छ । यहिंनेर उनीहरूको मतिभ्रष्ट हुन्छ र आफ्नो पद तथा प्रतिष्टाको ख्यालै आउँदैन । जसरी हुन्छ आफ्नो पोल्टामा धेरै भन्दा धेरै भाग् पार्ने नै उनीहरूको ध्याउन्न हुन्छ । भर्खरैको सुडान घोटालामा ४५ करोडको खरिदमा ३२ करोड भ्रष्टाचारै हुनु यसैको ज्वलन्त उदाहरण हो । यस खालका बाहिर देखिएका र कहिल्यै पनि बाहिर नदेखिने अर्वौंका भ्रष्टाचारहरू कति होलान् कति अनुमान लगाउनै गार्हो छ । लोकसेवा आयोगले परिक्षामा कडाई गरेर मात्र के गर्नु, व्यक्तिको ईमानको परिक्षा त्यहाँ हुँदैन ! ठीक छ, परिक्षाको प्रथा चलिनै राखोस् र योग्य व्यक्तिहरू लोकसेवा जस्तो गरिमामय सेवामा आउन् तर लोकसेवा पासगर्ने बिद्यार्थीलाई जागिरमा जानुपूर्व ईमान्दारीताको सपथ मात्र होइन साथमा उनीहरूको बर्तमान आर्थिक बिवरण समेत भर्न लगाउँदा अरु बढी उत्तम हुने छ । तीनपुस्ते आर्थिक बिवरण र सम्बन्धित व्यक्तिको भागामा पर्ने सम्पत्तिको बिवरण पनि जागिरमा गैसकेपछी होइन जागिरमा जानुपूर्व नै लिन सकेमा अरु बढी राम्रो हुनेछ । यसो भएमा झुटो बिवरण आउने सम्भावना समेत कम रहने थियो ! गर्न त यो गरिंदै आएको छ तर कमाएर पुष्टिई सकेपछी जनताका आँखामा छारो हाल्ने हिसाबले पछी मात्र गरिंदै आएको छ । यस्ले भ्रष्टाचार निवारणमा कुनै पनि त्यस्तो उलेख्य भूमिका खेल्न सकेको छैन । हुन त भन्ने गरिन्छ “ धन देखेपछी महादेवका तीननेत्र” मतलब धनको गन्धले भगवानको त ध्यान केन्द्रित गर्छ भने हामी मान्छे जाबोको के कुरा ! सायद यो उखानले यही भन्न खोजेको होला ! आखिर हामी जनता जति नै कराऔं, भ्रष्टाचार निवारणमा कसैसँग सम्झौता नगर्ने अडान लिने पूर्व अर्थसचिब रामेश्वर खनाल र पूर्व प्रधान न्यायाधिश राम प्रसाद श्रेष्ठ जस्ता केहि अपवादलाई छाडी अधिकांश नेता, कर्मचारी, ब्यापारी, ठेकेदार ईत्यादी कहीं न कहीं चुकि रहेकै छन् ।

“भ्रष्टाचारी जति सबैलाई किरा परोस्” । केहि समय अगाडि फेसबुक, ट्विटर र ब्लगहरू जताततै यिनै कुराहरू पढ्न पाईयो । आखिर यी कुराहरू कहाँबाट आईरहेका होलान् भनी कौतुहलतावस मुहान खोज्दै जाँदा, नागरिक न्यूजमा रविन्द्र मिश्रद्वारा लेखिएको लेखबाट फुटेर निस्केका मूल वाक्यहरू रहेछन् । हुन त यो भनाईलाई श्राप नभनी सुभ-कामना भनिएको छ र केहि तर्कहरू अगाडि सारिएका छन्, जुन लेख अनुसार जायज नै देखिन्छ । तर श्रापको प्रकृति, भाषा र शैलीमा बिचार गर्दा उक्त माथीको वाक्य सुभकामना नभै श्रापै हुनुपर्ने देखिन्छ ।

श्राप र आशिर्र्वाद दिने क्रम मानवीय चेतनाको बिकाससँग सँगै बिकसित हुँदै आएको छ र यो क्रम आज पनि जारी नै छ । कुनै न कुनै प्रकारको चोट, ठक्कर या आत्मपीडक अनुभूति नभै श्राप दिईने गरिंदैन । सुभ-कामना या आशिर्वाद ठीक यसको बिपरित अवस्थामा दिईने गरिन्छ । उतिबेला प्राय सबै व्यक्तिहरू सत्मार्गमा हिंड्थे, सत्कर्म गर्थे र बिरलै मात्र श्रापका लायक हुन्थे । तर आजकल यस्तो नभै श्राप दिने भन्दा श्राप पाउनु पर्ने व्यक्तिको संख्या बढ्दै गएको छ । जब कुनैपनि आवाज एक व्यक्तिमा मात्र सीमित नरहि समूह कै आवाज बन्छ, त्यसबाट निस्कने शक्ति पनि समूहकै शक्ति बराबर हुने गर्छ । “एक थुकी सुकी, सय थुकी नदी” भन्ने उखानले यस कुरालाई पुष्टी गरेको देखिन्छ । “सामुहिक प्रार्थना”को उदेश्यको पछाडि पनि यही सिद्दान्तले काम गरेको हुन्छ । यसर्थ श्राप, प्रार्थना या आशिर्बाद कुनै एक व्यक्तिबाट मात्र दिईएको नभै धेरै भन्दा धेरै व्यक्तिद्वारा दिईएको हुन्छ भने त्यहाँ संलग्न सबै व्यक्ति भित्रको प्राण उर्जा सक्रीय हुने गर्छ । जस्का कारणले ईष्ट-उदेश्य पूर्तिमा आफ्नो प्रभाब देखिन बिलम्ब हुँदैन । उति बेलाको जमाना अलि अर्कै थियो । धेरैजसो व्यक्तिहरू जप, तप, ध्यान, साधना, योग तथा धर्मको अभ्यासमा लागि रहन्थे, उनीहरू जे बोल्थे त्यो पुरा गर्थे र कसैलाई दिईएका कुनै पनि बचन पुरा हुनमा ढिलाई हुँदैनथ्थो । यसर्थ, आशिर्बाद या सुभ-कामना पाउन त सबै लालायित नै हुन्थे तर श्रापदेखि भगवान समेत डराउँथे ।

वास्तबमा श्राप तबमात्र दिईन्छ जब जिवनको सम्भावना क्षिण हुन्छ । अति नभैकन कसैले पनि कसैलाई श्राप दिंदैन । बेद, पुराण, उपनिषद, रामायण तथा महाभारत जस्ता ग्रन्थहरूमा श्रापका अनेक उदाहरणहरू पाईन्छन् । जस्ले अति गरेको छ, अति गर्नेलाई सक्नेले पहिले त भौतिक र आर्थिक दुबैथरि दण्ड दिन्थे नसक्नेले श्रापलाई नै दण्डको माध्यम बनाउँथे । यो माध्यम भौतिक तथा आर्थिक दण्ड भन्दा घातक सिद्द हुन्थ्थो । भगवान् श्रीकृष्ण जन्मेको यदुबंशको पतनमा महारानी गान्धारीको श्राप नै प्रमूख कारण थियो । कृष्णले चाहेको भए महाभारतको युद्द टल्न सक्थ्थो र आफ्ना १०० भाई छोराहरू मर्दैनथे भन्ने गान्धारीको बुझाई थियो तर यो हुन सकेन । यसैले उनले भगवान श्रीकृष्णलाई श्राप दिईन् । ऋषि परशुराम तथा अर्का एक ब्रामणले दानबीर कर्णलाई दिएको श्रापले महाभारतको युद्दमा उनको जिवन लिला नै समाप्त पारिदिएको थियो । त्यस्तै पाण्डुलाई आफ्नी पत्नीसँग संभोगरत एक ऋषिले दिएको श्रापले, श्रापको समय अनुसार पाण्डुको मृत्यु भएको थियो । उतिबेला श्राप र रिसको खानी भनेर चिनिएका ऋषि दुर्वाशासँग सबै जना टाढै बस्न रुचाउँथे । युधिष्टिरले आफ्नै आमा कुन्तीलाई ”आईन्दा आईमाईको पेटमा कुनै पनि कुरा न अडिउन” भनी श्रापित गरेका थिए । यही श्रापका कारण नै आज पनि आईमाई जातीलाई कुनैपनि गुप्ती कुरा भन्नु हुँदैन भन्ने धारणा रहेको पाईन्छ ।

नेपाली समाजमा मान्यता रहँदै आएको छ कि, जो व्यक्ति किरा परेर मर्छ उस्लाई पापीको उपनाम दिईन्छ । यसरी मर्नेहरूले यस जन्ममा कुनैखाले पाप कर्म नगरेका भएतापनि “पूर्व जन्मको पापका कारण किरा परेर मर्यो” समेत भनिन्छ । यसबाट के बुझिन्छ भने, किरा परेर मर्नु भनेको समाजबाट छि छी र दुर दुर हुँदै अपहेलित अवस्थामा मर्नु हो । अधिकांश नेपालीहरू यस देशलाई सतीले सरापेको देश भन्छन् । यसैले यस देशको भलो चाहने कसैको पनि राम्रो हुँदैन र ऊ कुनै न कुनै बहानामा असफल नै रहन्छ भन्ने आम मान्यता रहँदै आएको छ । बिगतका धेरै उदाहरणहरू यस्ता छन् जस्लाई हेर्दा यो भनाई सहि नै हो कि जस्तो पनि लाग्छ । देशको यो हविगत हुनुमा कतै सतीको श्रापले त काम गरिरहेको छैन, भनी सोच्न पनि बाध्य बनाउँछ । तर सतीले श्राप दिंदा बेईमानी भने पक्कै गरेकी छन् । मल्लकालीन इतिहास अनुसार तत्कालीन राजा लक्ष्मीनरसिंह मल्लले काजी भिम मल्ल निर्दोष हुँदा हुँदै पनि केहि आफ्ना चाकडीबाजका कुरा सुनेर मृत्युदण्ड दिएका थिए । उस्बेलाको सामाजिक चलन अनुसार पतिको निधन भएपछि पत्नी पनि पतिसँगै चितामा जिउँदै जल्नुपर्ने अर्थात सती जानुपर्ने थियो । काजी भिम मल्लकी पत्नी पतिव्रता नारी थिइन् । पतिव्रताले आफ्नो पतिका खातिर जे गरेपनि र जे बोलेपनि त्यो पुरा हुन्छ भन्ने पौराणिक मान्यता थिंदै थियो । इतिहासले नै भनेअनुसार सती जाने बेलामा, चितामा प्रवेश गर्नुपूर्व उनले भाव विव्हल हुँदै “यस देशको भलो चाहनेको कहिल्यै राम्रो नहोस्” भनी श्राप दिईछन् । यहाँ उनले भन्नु पर्ने थियो कि “ जस्ले यो देशको कु-भलो चाहन्छ उस्को कहिल्यै भलो नहोस्” । तर उनले तात्कालिन राजा प्रति ईंगित गर्दै आफ्नै पति काजी भिम मल्ल प्रकृतिका व्यक्तिहरूलाई नै उल्टो सरापेर सती गएको देखिन्छ । कल्पना गरौं, कतै यसैको कारणले “राजा वीरेन्द्र जस्ता सज्जन राजाको बंश बिनाश, मदन भण्डारी जस्ता राजनेताको षडयन्त्रपूर्वक हत्या, मनमोहन भट्टराई जस्ता निस्कलंक नेतालाई अस्पतालको शैया बाटै पदच्यूत गराईनु, सर्बमान्ने नेता गणेशमान र संत नेता कृष्ण प्रसाद भट्टराईको अपमान ! डा. बाबुराम भट्टराई र नरहरी आचार्य जस्ता नेताहरूलाई अल्पमतमा पारिनु र माथी उठ्नै नदिनु तथा भ्रष्टाचार बिरुद्द लड्न आफ्नो उच्च पदको दाउ लगाउने अर्थ सचिब रामेश्वर खनाल जस्ता व्यक्तिको स्वाभिमानको अपमान गरिनु” त भएको होइन भनी सोच्नु पर्ने देखिन्छ ईत्यादी । हुन सक्छ, फेरी फेरी पनि नेपाल आमाका सच्चा सपूतहरू मारिने र अपमानित हुने क्रम रोकिने छैन र दोहोरिंदै जानेछ !

केहि बर्ष अगाडि हामीले एउटा समाचार पढेका थियौं । सायद त्यो समाचार पोखराका ब्यापारी हरि पाण्डेसँग सम्बन्धित थियो क्यारे ! उनले खुलेआम नै आफूले के कसरी र कस्लाई प्रलोभनमा पारेर सम्पत्ति आर्जनको बाटोलाई सहज बनाएको भनी संचार माध्यममा भनेका थिए । यतिमात्र नभै आफूले देशमा भ्रष्टाचार बढाउन मद्दत गरेको र त्यस कामको कसुर बापत आफूले सजाय पाउनु पर्ने भनी सरकार समक्ष माग राख्दै आफै थुनामा समेत पुगेका थिए । हाल उनको स्थिती के छ त्यो त थाहा छैन तर उनको त्यो प्रयास वास्तवमा नै सर्हानीय थियो । यस्लाई आफूले गरेको गल्तिमा आत्मआलोचनाको राम्रो उदाहरण मान्न सकिन्छ । म भन्छु, “देशका भ्रष्टाचारीहरू किरा परेर मर्न नपरोस् ।“ उनीहरू किरा परेर मरे भने या किरा पर्ने गरी मर्न बाध्य बनाईयो भने उनीहरूले गरेको भ्रष्टाचारको सम्पत्तिमा समेत किरा पर्नेछ । यो हुनु हुँदैन । तसर्थ, यो नै उत्तम उपाए हुने छ कि, भ्रष्टाचारीहरू आफैं अगाडि आउन् र हरि पाण्डेले झैं आफूले गरेको भ्रष्टाचार कवुल गरुन् तथा सजायँ काट्न तत्परता देखाउन् । यस्तो आँट देखाउन सकेमा अवस्य पनि जनताले उनीहरूलाई माफी दिनेछन् र सहजै स्वीकार्ने छन् । परमात्मा, भ्रष्टाचारी जति सबैलाई सत्मार्गमा हिंड्ने प्रेरणा दिउन्, यही मेरो सु-भकामना छ !

रत्न काफ्ले
वालिङ्-८, स्याङ्जा

1 thought on “भ्रष्टाचार, भ्रष्टाचारी, श्राप र सुभकामना !”

  1. प्रतिक्रिया
    लेख राम्रो लाग्यो । यसमा यो पनि थपेको भए राम्रो हुन्थ्थो कि – ” नेपालमा लोकसेवा आयोग भनेको निजामति कर्मचारीका रुपमा अधिकाँश ब्यावशायिक भ्रष्टहरु जन्माउने आयोग हो ।” कि कसो हो साथीहरु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *