राती निकै अबेर गरेर घर पस्यो ऊ । थकित … थकित … मस्तले निदायो । बिहान अलिक अबेलै उठ्यो । बाथरुम पस्यो । निर्वस्त्र भयो । नित्यकर्म सक्यो र भित्री कपडा लगायो ।
बाहिर आएर सर्ट लगायो, पाइन्ट लगायो, बेल्ट कस्यो अनि चिया पिइसेपछि टाइ कस्यो, कोट भिर्यो, गगल्स लगायो र शिरमा सकलीढाकाको टोपी लगायो । त्यसपछि जुत्ता कस्यो ।
यही समयबीच, रोगी श्रीमतीले केही बोल्न खोजेकी थिई, तर मुख खोल्न सकिन । किनकि फुत्त निस्किएको थियो ऊ घरबाट ।
थाहा भएन कतातिर गयो ऊ ?
रात धेरै छिप्पिसकेपछि फर्कियो । फर्किंदा, रक्सीको मातले मदहोश थियो । लडखडाउँदै घरभित्र पस्यो ।
बच्चाको लागि दूध चाहिएको थियो । सकी नसकी बच्चा च्यापेकी श्रीमतीले मुख फोरी ।
‘तैले दिन सक्ने कुरा … मसँग छ र ?’ लरबरिएको बोली बोल्दै एक थप्पड लगायो उसले श्रीमतीको गालामा । बच्चा कहाल्लिएर रोयो ।
श्रीमतीले रुन्चे स्वरमा भनी ‘पैसा भएको भए बजारबाट अघि बिहानै ल्याउनुहुन्थ्यो …’
‘कहाँबाट ल्याउनु पैसा ?’ उसको मुखबाट यिनै यिनै शब्दसँगसँगै निस्किएको रक्सीको गन्धले कोठाको परिवेश दुर्गन्धित बनिरह्यो रातभर … ।
गोरखापत्र शनिबार
जेठ ७, २०६८