Skip to content


थरीथरी बहानाबीच
थरीथरी बिडम्बनाबीच
आफ्नै विम्बलाई बिर्संदै
राजमार्गकी राजकुमारी
राजमार्गजस्तै
कतै घुम्ती
कतै सपाट रेखामा देखिएकी हुन्छे
राजमार्गजस्तै
कतै आरोह
कतै अवरोहमा छेकिएकी हुन्छे ।
भूगोलका भिन्न-भिन्न परिधिहरूलाई
लमतन्न सुतेर अँगाली बसेको
एकतमासको राजमार्ग छेउ
कतै उखु बेच्दै
कतै उमेर जोख्दै
कतै चिया बेच्दै
कतै चञ्चलता पोख्दै
कतै रक्सीको प्यालामा
कतै जवानीको ज्वालामा
कतै व्यस्ततामा
कतै अस्तव्यस्ततामा
कति-कति कामुक आँखाहरूले भेट्न सक्छन्
राजमार्गकी राजकुमारीसँग
कति-कति अधैर्य पिपासुहरूले
प्यासै मेट्न सक्छन्
राजमार्गकी राजकुमारीसँग ।
जिन्दगी नामको
श्लीलताका हरफहरू
च्यातिदै-च्यातिदै शून्यतामा पुगेको दिन
यौवनका इन्द्रेणीहरू
ओर्लंदै-ओर्लंदै बन्धकीमा डुबेको दिन
कति नै बेर लाग्दोरहेछ र !
आफ्नै आँखा अघिल्तिर
आफैँ विरोधाभास बन्न
कति नै पर्खन पर्दोरहेछ र !
आफ्नै दृष्टि अघिल्तिर
आफैँ कहालीलाग्दो भास बन्न
आफैँ उच्चाटलाग्दो अत्यास बन्न ।
भिन्न-भिन्न भङ्गालामा
भिन्न-भिन्न भावावेशमा
आफ्नै भयलाई भुल्दै
राजमार्गकी राजकुमारी
राजमार्गजस्तै
कतै घुम्ती
कतै सपाट रेखामा देखिएकी हुन्छे
राजमार्गजस्तै
कतै आरोह
कतै अवरोहमा छेकिएकी हुन्छे ।

मधुपर्क २०६८ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *