Skip to content


नेपालमा मात्रै पाइने अचम्मको पानी
अमृत हो कि जीवनजल हो मेलम्चीको पानी

राजधानी बासी हेर्छन् आँखा तानी तानी
कहिले आउला मेलम्चीको शुद्ध पिउने पानी

धाराबाट नचुहिने कस्तो हो यो पानी
पत्रिकामा छापिइने मेलम्चीको पानी

योजनाको ठेलीभित्र बगिरहने पानी
प्यास मेट्न नसकिने मेलम्चीको पानी

पत्याउँदैनन् अरू कोही यस्तो पनि पानी
नुहाउन धुवाउन नहुने त्यो मेलम्चीको पानी

सुरूङ्बाट बगेन त्यो अमृत जल पानी
बानेश्वरमा ठडिएको छ मेलम्चीको पानी

बजेटको टुटीबाट सधैं झर्ने पानी
डेविट क्रेडिट सफा पार्छ मेलम्चीको पानी

टेलिभिजन पर्दाभित्र देख्न पाइने पानी
रेडियोमा सुन्न पाइने मेलम्चीको पानी

ट्याङ्कर अनि धाराबाट आउँछ दुषित पानी
आशामात्र शुद्ध पिउने मेलम्चीको पानी

चुनावताका पखालिन्छ सिंगो राजधानी
भाषणमा धारा छुट्छ मेलम्चीको पानी

किन जनता पर्खी बस्छन् आफैं जानी जानी
आउला कि त भनी ठान्छन् मेलम्चीको पानी

जे सुने नि पत्याइदिने नेपालीको बानी
आशै आशमा खेर गयो मेलम्चीको पानी

आउन्न त्यो पानी बरू जाला जिन्दगानी
गाह्रै पर्ला पिउनलाई मेलम्चीको पानी

नेपालमा मात्रै पाइने अचम्मको पानी
अमृत हो कि जीवनजल हो मेलम्चीको पानी

पुर्णप्रसाद आचार्य ‘बाछिटा’
भन्न मिल्दैन
व्यङ्ग-कवितासंग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *