Skip to content


फेसबुकमा नयाँ प्रोफाइल तस्बिर राखेको एक घण्टा पनि भएको थिएन, उसको प्रशंसा शुरु भयो― “यु आर सो ब्युटिफुल, ह्वाट अ लुक, आइज लाइक द स्टार, भिजन एज द डेप्थ अफ सि…, सो सेक्सी…, क्यान यु गिभ मि योर फोन नं…।” उसले एक-एक गरी सबै पढी, सबैलाई लेखी― “टिप्पणीका लागि धेरै धन्यवाद!”

त्यहाँ एकजना पनि महिला मित्रका टिप्पणी थिएनन् भन्ने ख्याल गरिनँ। सँगिनीहरूमाझ् ऊ सबभन्दा बढी टिप्पणी आउने केटीका रूपमा चर्चित थिई। उसलाई लाग्थ्यो― चर्चित हुनुमा नै जीवनको आनन्द छ। यो क्रम जारी रह्यो। उसका लागि फेसबुकका कमेन्टहरू, धन्यवाद आदान-प्रदान आत्मसन्तुष्टिसहित समय बिताउने राम्रो उपाय थियो।

त्यसो त मान्छे प्रशंसामा मक्ख हुन्छ, त्यसको नियततर्फ ध्यान दिँदैन। महिलाका लागि पुरुष र पुरुषका लागि महिलाको प्रशंसाले विशेष अर्थ राख्छ। उसका साथी ह्वात्तै बढेका थिए। तर, उसले हिजो मात्रै अलिकति पोज दिएर खिचेको तस्बिरमा अनौठो टिप्पणी देखी― “तपाईंले आफूलाई ब्रह्माण्ड सुन्दरी नठाने हुन्छ। मिथ्या प्रशंसाको आत्माभिमानमा बाँच्ने पनि कहीँ सुन्दर हुन्छन् र?”

प्रशंसक-टिप्पणीकारहरूलाई प्रत्युत्तर दिन धन्यवाद लेख्दा आकासिने उत्साहको वायुपङ्खी घोडा, मनमा लाग्ने गर्व र मुहारमा तैरने मन्द मुस्कानको ठाउँ नमीठो विषादले लियो। लाग्यो, कसैले उसको गुलियो संसारमा चुक पोखिदिएको छ। उसलाई बाँकी टिप्पणीहरू पढ्न मन लागेन। क्रसमा क्लिक गरेर बाहिर निस्किई। तर त्यो टिप्पणीले उसलाई पछ्याउन छोडेन― “… मिथ्या प्रशंसाको आत्माभिमान!”

उसले मनलाई बारम्बार घोचिरहेका यी शब्दबाट मुक्त हुने प्रयास गरी। तर, मनको भित्री कुनामा अर्को प्रश्न उब्जियो― “त्यसो भए आजसम्म पाएको हजार-दुई हजार प्रशंसा बेकार थिए?” त्यतिका प्रशंसाका सामु अरुचिका यी दुई-तीन शब्द किन भारी भइरहेका छन्, उसले बुझन सकिनँ।

त्यस दिनदेखि उसलाई फेसबुकका सबै टिप्पणी पढ्ने जाँगर चल्न छाड्यो। यसो सर्सर्ती हेरेर प्रत्युत्तर विना बन्द गर्थी। उसले कैयन् पटक आफ्नो अनुहार नियाली, कम्प्युटरमा सङ्ग्रहित तस्बिरहरू हेरी र त्यो अपरिचितको टिप्पणीको सत्यता खोजी, तर फेला पारिनँ। र पनि, फेसबुकसँगको उसको सम्बन्ध पातलिँदै गयो। इमेलमा आउने फेसबुकका सूचनाहरू नपढी डिलिट गरिदिन समेत थाली।

१५-१६ दिनपछि इमेल चेक गर्दा फेसबुकका कमेन्टमा उसको आँखा गयो। फेसबुकमा भएका २५०० मध्ये सबभन्दा बढी टिप्पणी गर्ने एक मित्रले केही पोष्ट गरेको सूचना देखी। उसले आफ्ना तस्बिरहरूमा बढी सन्तुलित टिप्पणी गर्ने र राम्रो मानेकी ती मित्रसँग उसले कहिलेकाहीँ च्याट पनि गर्ने गरेकी थिई। उत्सुकतावश उसले फेसबुक लगइन गरी। तर, त्यसले उसको मस्तिष्कमा ठूलो झ्ट्का दियो। ऊ चिसो पसिनाले निथु्रक्क भई। कुनै पूर्ण त कुनै अर्धनग्न युवतीका शरीरमा उसको अनुहार टाँसेका दर्जनौं तस्बिर उसको प्रोफाइलमा राखिएका रहेछन्। र, त्यही उसको विश्वासी मित्रले टिप्पणी पोष्ट गरेको रहेछ, “के हो सेक्सी… कता बेपत्ता? कुनै मुर्गा फेला पार्‍यौ कि कसो?”

उसलाई भाउन्न भएर आयो, केही सोच्न सकिनँ। ऊ त्यही साथी हो, जसले उसलाई “तपाईं शालीन हुनुहुन्छ, तपाईंको मुहारमा बौद्धिकता झ्ल्कन्छ, तपाईं साँच्चै भद्र देखिनुहुन्छ” भनेर टिप्पणी गर्थ्यो। तर, ऊ १५ दिन फेसबुकमा देखा नपर्दा त्यही मान्छे…!

फेसबुकमा कसैको नयाँ टिप्पणी आयो। उसले पिलपिल गरिरहेको नयाँ सूचना हेरी, “कुकुरलाई मानिसको इज्जत के हो, महिलासँग कसरी व्यवहार गर्ने थाछैन …।” त्यो त्यही मान्छेको टिप्पणी थियो जसले एकपटक उसको रुचिमा असहमति जनाउँदै भनेको थियो, “मिथ्या प्रशंसाको आत्माभिमान!”

उसका आँखाबाट आँसु खस्न थाले।

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६

Leave a Reply

Your email address will not be published. Required fields are marked *