Skip to content


आज चार दिन भयो, झिङनीले अन्नको एक दाना वा पानीको एक थोपासम्म निलेकी छैन । करेसाबारीमा रहेको झिङनीको थाँक्रो समाएर रोएकी छे, रोएकी छे । जत्ति भने पनि मान्दिन । न सर्पको डर छ, न जनावरको, न भूतप्रेतकै । नाउँ पनि अनौठो, मिजास पनि झन् अनौठो ।

योभन्दा पहिले केटीको नाउँ ‘झिङनी’ मैले कतै सुनेको थिइनँ । चार वर्ष पहिले जब म यस घरमा बेहुली भएर आएँ, दस वर्षे बालिकालाई सबैले ‘झिङनी’, ‘झिङनी’ भनेर बोलाउँदा मलाई अचम्म लाग्थ्यो । सोच्थेँ-‘झिङनी’ भनेर यसको नाउँ बाबुआमाले किन राखेका होलान् ? हाम्रो घरमा ल्याएपछि यसको नयाँ न्वारन गरियो कि ? यो कहाँबाट

आई ? कसरी आई ? अनेक थरिका प्रश्न मेरो मनमा पटकपटक उठ्ने गर्थे ।

एक दिन गल्लीमा तरकारी बेच्ने आइमाई आई र कराउन थाली-‘झिङनी’ लिनू है, ताजा ‘झिङनी’ । यो त बहुलाइछ ! बन्दुकबाट छुटेको गोलीको पर्राझैँ बेगले कुद्दै गल्लीमा पुगी र ज्ञानशून्यझैँ ठिङ्ग उभिएर त्यो आइमाईले टाउकोमा हालेको ‘झिङनी’को ढक्की नियालिरही । त्यो आइमाई आँखाबाट ओझेल भइसकेपछि पनि ‘झिङनी’ त्यहीँ मूर्तिवत उभिएकी थिई ।

त्यो बेला तरुनी हुन लागेकी यो कलिली केटी सुन्दरी लाग्थी । गहुँ गोरी थिई । कुपोषणले गर्दा जीउ फर्सीको सुकेको डाँख्लाजस्तो र भुँडी टुमुक्क बाहिर निस्केको देखिन्थ्यो । लट्टा परेको ठूटो कपाल सुकेका मकैका गुजुल्टे जुँघाजस्ता देखिन्थे । गालामा खोपिल्टा परेकाले माथिल्ला हाड भुक्क उठेका थिए । कयौँ दिनदेखि ननुहाएकी हुनाले जीउभरि मयल पत्रपत्र भएर जमेका थिए । गोलो अनुहारमा नाक खुत्रुकेलाई समाउने माथिल्लो टुटुल्कोजस्तो देखिन्थ्यो । उसको नाक देख्नासाथ मलाई हाँसो उठ्थ्यो ।

सुरूसुरूमा त घिन पनि लाग्थ्यो बाहिरसम्म आएको सिँगानको पहेँलो लत्का घरिघरि तानेर भित्र लैजाने, फेरि त्यो लततत बाहिर आउने, सिँगाने नाकमा चोर औँला घुसारिरहने र हातै नधुनेजस्ता केही बानी देखेर मलाई हृवालहृवाल्ती बान्ता आउँथ्यो तर के गर्नु ? घरभरिका मान्छेले भएभरका भारी उसैलाई बोकाउँथे र त्यसमा कहीँ चुकी भने दिनभरि चुटाइ खाइरहन्थी । धारामा पानी आएन भने छिमेकीको चापाकलबाट बाल्टिनका बाल्टिन पानी ओसार्नु र त्यसक्रममा बाल्टिनसहित लडी, लुगा भिजाइ वा भुइँमा पानी छताछुल्ल पारी भने खैरियत थिएन । कसैले ड्यामड्याम्ति गाला चड्काउँथ्यो । कसैले जगल्टा समातेर पछारी लातका लात दिएर खाँद्थे । भाँडाकुँडा माझ्नेदेखि लिएर घरभरिको लुगा सफा गर्ने, राति सुत्ने बेला एक-एक सदस्यको गोडा मिच्नेसम्मको जिम्मा उसैलाई थियो । कहिलेकाहीँ ऊ दोधारमा पर्थी । एउटा आउँथ्यो- छिट्टो काङयिो खोजेर दे, अर्कोलाई अड्डा जान ढिलो हुन्थ्यो र उताउति परेको मोजा माग्थ्यो । तेस्रोलाई खाने बेलामा भात सर्केको हुनाले तुरुन्त पानी चाहिन्थ्यो । बिचरी ‘झिङनी’ अलमलमा पर्थी र सबैको काम ढिलाएको हुँदा सबैबाट गाली र कुटाइ खान्थी । बिरालोले दूध खायो, सिसाको गिलास फुट्यो, कसैको कुनै वस्तु हरायो वा भेट्टाइएन-गल्ती जसले गरे पनि अवगाल जति ‘झिङनी’को थाप्लोमा आउँथ्यो र उसले कुटाइ खानुपथ्र्यो । पुग नपुग एघार वर्षकी ‘झिङनी’ घरभरिको भीषण क्रोधको चट्याङ आफ्नै टाउकोमा रोक्ने ‘थन्डर क्याचर’ बनेकी थिई । उसले खाई-खाइन कसैलाई वास्ता थिएन । मेरी सासू त उसका लागि साक्षात राक्षसनी नै हुनुहुन्थ्यो । एक-एक काम क्रूरतापूर्वक गराउनुहुन्थ्यो । एक दिन उसको पेट दुखेको थियो र बिहानदेखि केही खाएकी थिइन । सासूले घरभरिका तन्ना, डसना र सिरकका खोलहरू उसलाई धुन दिनुभयो । बिचरी लुगा धुँदाधुँदै बाथरुममै पल्टिइ । सासूले देखेपछि कसरी कुट्नु भयो र कसरी फेरि निर्दयी भएर कपडा धुन लगाउनु भयो ! ससुराको मुटु कहिलेकाहीँ पग्लिन्छ र उहाँले आफ्नो जुठो थालमा उसका लागि भनेर मासुका हाडखोरहरू छाडिदिनुहुन्छ-कुकुरको भागको साटो ।

पछिपछि मेरो मनमा ‘झिङनी’का लागि टिठ पलाएर आयो । सासू-ससुराहरू जेठी नन्द उर्मिलाका लागि केटो हेर्न झुम्का जानु भएको थियो । घरमा भएका तीन नन्दहरू–उर्मिला, माण्डवी र श्रुति पल्लो कोठामा गफ गर्दागर्दै सुतिसकेका थिए । जेठो देवर र देवरानी रङ्गेलीमा डाक्टर छन्, त्यहीँ बस्छन् । घर सुनसान थियो ।

घरको कामले फुर्सद नपाएर ‘झिङनी’ले उर्मिलाका लुगा धुन सकेकी थिइनँ । त्यसैले तीनै जना दिदी-बैनीहरूले मिलेर ‘झिङनी’लाई खानै दिएनन् । उसको ठुटो कपाल समातेर घिसार्दै आँगनबाट बाहिर गरिदिएका थिए । ऊ ढोकामै भुसुक्क निदाएकी थिई । मलाई साह्रै माया लाग्यो । सबै नन्दहरू सुतिसकेपछि म सुटुक्क उठेर गएँ । झक्झकाएर ‘झिङनी’लाई ल्याएर भात खान दिएँ । यसरी अघाउँजी खाने दिने उसको जीवनमा प्रायः थोरै आएका होलान् जस्तो लाग्छ मलाई ।

‘झिङनी’लाई मैले मेरो कोठामा लिएर आएँ । थाँक्रोले उसको कपालको लट्टा फुटाएँ र तेल हालेर कोरेँ-बाटेँ । त्यो दिन उसलाई स्नो-पाउडर र नेलपालिस पनि लगाइदिएँ । ‘झिङनी’को अनुहारमा त्यो दिन परम तृप्ति र आनन्दको जुनघाम झुल्केको देखियो । त्यो मेरो हृदयको डाँडाबाट आजीवन अस्ताउने छैन । मायाले उसको कपाल सुमसुमाउँदै मैले सोधेँ-“झिङनी, तेरो घर कहाँ हो ?” “कहीँ पनि होइन । पहिले थियो- लौकही भन्ने गाउँनेर, नवटोलियामा । अब चाहिँ छैन ।” “अनि के भो त ? घर कोशीले बगायो कि, बिक्री भयो कि ?” “हो भाउजू, घरघडेरी सबै बेचिदिए मेरा बाबुले ।………जाँड खाएको पैसा तिर्न पटकपटक गरी लिएको पैसा थुप्रै भयो अरे । अनि मालिकले ब्याजको स्याज गर्दै घरघडेरी आफ्नो नाउँमा लेख्न लगाई कब्जा गरे ।”

“कति जग्गा थियो ?”

“दुई कठ्ठा, पन्ध्र धुर अरे ।”

“त्यति पैसाको रक्सी त खाएन होला ?”

“खै, मालिकले भनेपछि मान्नै पर्‍यो । कागज मालिकले नै लेख्थे र बुबासित सही गराउँथे ।”

“त्यो मालिकलाई तेरो बुबाले कसरी चिन्थे ?”

“मालिक नापतौल विभागमा घुस्याहा हाकिम थिए र मेरो बा गरिब पियन । उनको क्वाटरको काम पनि गर्थे-त्यसै तलबमा । अझ मेरी आमालाई मालिकले क्वाटरमा रखेल बनाएर राखेको थियो रे, गाउँलेहरूले भन्छन् । कुन्नि तर मलाई विश्वास लाग्दैन ।”

“आमाले ६ वटी छोरी नै छोरी पाउनु भएको थियो । म चाहिँ जेठी थिएँ । सातौँ जन्मिने बेलामा आमा बित्नु भयो ।”

‘झिङनी’को अनुहार रुन्चे भयो । आँखामा आँसु भरियो । ‘कसरी झिङनी ? डाक्टरलाई बोलाइएन ?’आमा सुत्केरी हुन लागेर छटपटाउँदै, कराउँदै हुनुहुन्थ्यो एक्लै परालको ओछ्यानमा ।’ काकाकाकी कोही आउन मान्दैनथे घडेरी आफूलाई नलेखेर मालिकलाई लेखिदिएको निहुँमा । मैले धेरै बिन्तीभाउ गरेपछि छिमेकी धर्मशीला काकी आउनुभयो तर उहाँ आउनुभन्दा अगाडि नै सातौँ छोरीको जन्म भइसकेको रहेछ । उहाँले हेर्नुभयो र ‘ए, फेरि छोरी नै जन्माइछे, अलच्छिनले’, भन्दै फर्किनु भयो । मैले हेरेँ, बैनी पाकलपुकल थिई गोरी तर रोइरहेकी थिइन । मैले आमाको जीउ छामेँ, हिउँजस्तै चीसो थियो । नाकनेर हात पुर्‍याएँ, साँस चल्दै थियो । म अत्तालिएँ । रोइरहेकी बैनीहरूको वास्ता नगरी डाडुमा सस्र्यूंको तेल तताएँ । तात्तातो तेल ल्याएँ र आमाको जीउमा मालिस गर्न त्यसमा हात चोपलेँ । मेरा पाँचै आँैला फोको उठ्ने गरी जले । ऐय्या ! भन्ने शब्द मुखबाट निस्केको मात्र के थियो, अर्द्धमृतक अवस्थामा पुग्नु भएकी आमाले मेरो हात च्याप्प समाउनु भयो र सकी नसकी फुक्नु भयो । दुई चोटि मात्र फुकेर त्यो हात आफ्नो ओठसम्म पुर्‍याउनु मात्र के भएको थियो, उहाँको टाउको दायाँतिर ढल्यो । पछि थाहा पाइयो, जन्मिनासाथ बैनी पनि मरिसकेकी रहिछन् । मर्ने बेलामा पनि आमाले तातो तेलले पोलिएको मेरो हात अन्तिम पटक चुमेर बिदा हुनुभएको घटना मेरो मनमा घाउ भएर जीवनभरि बल्झिरहने छ भाउजू ।…… त्यो दिन पनि मैले बुबालाई कत्ति उठाएँ । उहाँकी श्रीमती र छोरी मरिसकेका थिए । घाट लैजाने बेला थियो तर उहाँ जाँड धोकेर आँगनबाहिर बेहोस् भई लड्नु भएको थियो । हामी ६ जना बैनी मिलेर उहाँलाई उठायौँ । अजार-बजार रुँदै, कराउँदै, आकाशै उचाल्दै तर न बुबा उठ्नु भयो, न काकाकाकीहरूले आएर ‘के भयो ?’ भनेर एक वचन सोध्नु भयो । तपाईंलाई पत्याउन गाह्रो परेको होला भाउजू तर यो सत्य हो ।….

हाम्रो करेसाबारीमा पनि ‘झिङनी’को एउटा थाँक्रो थियो । मैले बहिनीको शवलाई काँधमा बोकेँ । मेरा पाँचवटी बहिनीहरूले खुर्पा र कोदालो बोके । त्यहाँ सबैले मिलेर खाल्टो पार्‍र्यौं र त्यो गहिरो खाल्टोमा बहिनीलाई पुरिदियौँ । दुई दिनपछि गाउँलेहरूले करबल गरेपछि र लास डुङडुङती गनाउन थालेपछि काकाकाकीहरूले आमालाई लगेर त्यसै ‘झिङनी’को थाँक्रोमुनि गहिरो खाल्डो खनी पुरिदिए । बोल्दाबोल्दै झिङनी एकछिन चुप लागी । बोल्नै सकिन । मुन्टो निहुरिएको थियो र आँसु तपतप त्यहाँ ओछ्याइएको मान्द्रोमा झर्दै थिए । एकछिनपछि उसले आफ्नै पछ्यौराले आँसु पुछी । आफ्नी आमा र बहिनीलाई झिङनीको थाँक्रोमुनि परेको पलदेखि मलाई ‘झिङनी’ भन्नासाथ आमा र बहिनीको सम्झना आउँछ । हरेक हरियो झिङनी मलाई मेरी आमाझैँ लाग्छ । मलाई यो कुन रोग लागेको हो, भाउजू ?” झिङनी रुन थाली ।

मैले सोधेँ-“आमा मर्नु भएपछि तिमी दिदीबहिनीहरूलाई तिम्रा बाबुले कसरी पाले त ?” “के पाल्थे ? दारु खाएर कहिले कहाँ, कहिले कहाँ, लडिरहन्थे । मालिकले जागिरबाट पनि निकालिदिए । कहिलेकाहीँ दारु खाएर लड्दैपड्दै घर आइपुग्थे र हामी ६ वटै दिदीबहिनीलाई कुट्नसम्म कुट्थे ।”

“तेरा बहिनीहरू कहाँ छन् ?”

“बहिनीहरू ? जसरी कुकुरका छाउराहरूलाई मान्छेले टिपेर लैजान्छ, हामी दिदीबहिनीहरूलाई पनि एकएक जनाले कमारी बनाउन आ-आफ्ना घर लिएर गए ।….म हजुरको ससुराको भागमा परेँ ।” “अब ता तरुनी भैसकेकी छेस् यहाँ यिनीहरूले तँलाई गोरुलाई जोतेझैँ जोत्छन् । तँलाई भाग्न मन लाग्दैन ?”

“तपाईं आउनुभन्दा अगाडि तीन पटक भागिसकेँ । म राम्री छुइनँ नि । मलाई लिएर गएका केटाहरूले मेरो इज्जतसित पनि खेलबाड गरे र पछि यहाँभन्दा पनि बढी जोत्न थाले । दूध चोरेर खाएको, पैसा चोरेको, किरिम-पाउडर झिकेको, नानाथरी आरोप लगाई गधालाई कुट्नुभन्दा पनि बढी कुट्न थाले । फेरि म रुँदै, कराउँदै यहीँ आउन बाध्य भएँ ।”

“तेरो बाबु यहाँ कहिल्यै आएन ?”

“आएका थिए । कि त मलाई रक्सी खान पैसा दे, होइन भने म तँलाई इन्डिया लगी बेचिदिन्छु भन्ने धम्की दिन थाले । मैले उर्मिला दिदीको खुत्रुके चोरेर उनलाई बुझाइदिएँ । त्यो दिन मैले हजुरका ससुराबाट धेरै कुटाइ खानु पर्‍यो । त्यसमा दस हजार रुपियाँ थियो भनेर उर्मिला दिदीले भन्नु हुन्छ । भाउजू, त्यस दिनदेखि म बन्धकी परेकी छु । मैले दस हजार रुपियाँको ब्याजको स्याज नबुझाउन्जेल यहाँबाट उम्किन पाउँदिन । तपाईंले ससुरा बुबाले मसित पनि बुढी औँलाको छाप लिनु भएको छ । भागेँ भने पनि खोजेर जेल हाल्न लगाउनु हुन्छ रे” झिङनी फेरि रुन थाली ।

मैले फेरि सोधेँ-“जुन मालिकले तिमीहरूको घर-घडेरी जफत गर्‍यो, त्यही नाप-तौलवाला हो, त्यसलाई यो सबै दुखेसो रोएर सुनायौँ भने मेरो मनले भन्छ, त्यसको मन जरुर पग्लिने छ र त्यसले तेरो उद्धार अवश्य गर्नेछ ।” झिङनी वाल्ल परेर मेरो मुखतिर हेर्न थाली । “यसरी किन हेछ्र्यौ झिङनी ?” मैले अचम्म मानेर सोधेँ ।

त्यो पहिलो पटक मुस्कुराई-“भाउजू, त्यो को हो भन्ने सत्ते हजुरलाई था छैन ? त्यो हजुरकै ससुरा त हो नि ।”

अब वाल्ल परेर उसको मुखतिर हेर्ने मेरो पालो थियो ।

हाम्रो कुरा हुँदै थियो, माण्डवी कराई -“झिङनी !! कहाँ मरिस् ?”

“ह….जुर !”-भन्दै झिङनी पल्लो कोठातिर दौडिई ।

झिङनीलाई यसरी सिङारपटार गरेको देख्न नसकी दिदीबहिनीहरू औधि रिसाए ।

“रन्डी, हाम्रो स्नो, पाउडर र नेलपालिस लगाउँदा तेरो हातमा कोर सल्किएन ?…..कत्ति हिम्मत गरेकी !!”……..झिङनीले सफाइ दिन नपाउँदै सबैले मिलेर त्यसलाई लातका लात हान्न थाले । त्यो बिचेत हुन्थी, त्यसलाई पानी खुवाइन्थ्यो र फेरि लातले खाँदेर बिचेत पारिन्थ्यो । पछि मैले उसको पक्षमा धेरै सफाइ दिएँ । मैले मेरो शृङ्गार-प्रसाधनले उसलाई सजाएको प्रमाण दिएँ तर झुम्काबाट फर्किनु भएको बुबाले समेत मैले दया गरेर उसको पक्ष लिएको र त्यसलाई बिगार्न थालेको आक्षेप लगाउन थाल्नु भयो ।

दुई घण्टा जति ऊ कराई । रोइरोई आफू निर्दोष भएको तर्क दिई तर कसैले मानेन । ऊ घरबाट निस्किएर करेसा बारीमा आई र झिङनीको थाँक्रो समाएर जोरजोरले रुन थाली । आज सात दिन भइसक्यो ऊ रोइरहेकी छे । उसको हातमा एउटा हरियो झिङनी छ, जसलाई उसले छातीमा टाँसेकी छे ।

मधुपर्क २०६८ चैत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *