Skip to content

शान्ति आजको आवश्यकता

  • by


शान्ति आजको आवश्यकता हो
त्यही हाम्रो तृप्ति हो
त्यही नै अरबौंको समृद्धि हो
प्राणीमात्रको शान्तिको चाहनामा
कसैले कुठाराघात गर्न पाइन्न
चट्याङ्ग पार्न पाइन्न
असिना झार्न पाइन्न ।
खबरदार
यहाँ अब कसैले गोली नहान
एम्बुस नथाप
बम नखसाल
कुनै पनि प्राणी
धरापमा सिद्धिन चाहान्न
गोली र बारुदमा भुटिन चाहन्न
काखको माया र सिउँदोको सिन्दुर
पुछेर उ रित्तिन चाहन्न ।
अब यो देश कुरुक्षेत्र होइन
शान्तिक्षेत्र बन्नुपर्छ
हामी सबै अनेकतामा होइन
एकतामा जुट्नुपर्छ
अनि हामीले नै
भोलिको सुनौलो घामका किरणहरूमा
उज्यालो छर्न सक्नुपर्छ ।
शान्ति हामीले
बुद्धका आँखाहरूमा मात्र होइन
आफ्नै आँखाहरूमा देख्न सक्नुपर्छ
शान्तिका धुनहरू
संगीतका मात्र होइन
आफ्नै कानहरूमा गुन्जनुपर्छ ।

शिला पन्त
संचालक परिषद
सदस्य
पशुपति क्षेत्र विकाश कोष

Leave a Reply

Your email address will not be published. Required fields are marked *