Skip to content

सीमाक्षेत्रको त्रासद गाथा

  • by


लू पश्चिम तराईको बाँके जिल्लाको सीमावर्ती क्षेत्र होलिया र जमुनाहाका सीमान्तीकृत नागरकिको बाँच्ने उपक्रममा गरिएका संघर्षको दुर्घटनाजन्य नियतिको जीवन्त औपन्यासिक आलेख हो । राज्यको वाञ्छित दृष्टिबाट अलग्याइएको त्यो कष्टमय नेपाली समाज चरम अन्धविश्वास र दुर्घटनाका कतिपय तिलस्मी लाग्ने कथा-उपकथाले भरिएको छ । उपन्यासकारद्वारा तिनै क्षेत्रका बस्तीका सामान्य लाग्ने तर असामान्य तुल्याइएको जीवनपद्धतिका जटिलतालाई विभिन्न कथावाचकका माध्यमबाट साधारणीकरण गरिएको छ ।

कुनै पनि समाजमा पानीभूत प्रकारका विभिन्न खाले विश्वास जीवित हुन्छन्, जुन नेपालका तराईमा पनि छन् । सचेत नेपालीलाई थाहा छ, होलियाजस्ता गाउँ लक्ष्मणपुर बाँधले डुबानमा पारिरहने राप्ती किनारका अभिशप्त गाउँ हुन् । र, त्यहाँ राप्तीमा पानीभूत रहनु लाक्षणिक रूपमा स्वाभाविक छ । त्यस दुःखसँग लड्ने मानिसका आकांक्षाहरू पनि छन्, जुन उपन्यासमा इलैयाका आरम्भिक जीवनको माध्यमबाट सांकेतिक रूपमा प्रकट भएका छन् । उसले पानीभूतलाई मार्न राप्तीमा हाम फाल्नु, त्यहाँबाट ऊ अलप हुनु, उसको साथी रेडियोलालले उसलाई पानीभूतले खाएको ठान्नु, आफूलाई इलैया मार्‍यो भन्ने बात लाग्ला भनेर डराउनु तर इलैया भने नानपारा, बहराइच हुँदै हप्तौँपछि आफ्नो अन्तिम संस्कारका दिनको श्राद्धभोज खाइरहेका बेला अचानक घरमा प्रकट हुनु र सारा मानिसलाई चकित तुल्याउनुबाट उपन्यास अघि बढेको छ । इलैया, नुसरत, रेडियोलाल, देवकी, महेशर, बजरंगी, वृजलाल, नन्दु, हरदेई आदि पात्रको सृष्टि कसरी हुन्छ, तिनका जीवनपद्धतिको निर्धारण गर्ने कारक तत्त्व कुन हुन् भन्ने बुझ्नका लागि त्यस समाजका मूल्य, मान्यता, अर्थतन्त्र, न्यायपद्धति बुझ्नु र समग्रमा त्यस समाजको परिवेशको सूक्ष्म पर्यवेक्षण गर्नु आवश्यक हुन्छ । इलैयाको अराजक र उद्दण्ड चरत्रिको निर्माण गर्ने त्यसै समाजले उसका हृदयमा आमाप्रतिको उत्कट प्रेमभाव, नुसरतप्रतिको अनहत आकर्षण र सर्पदंशले मरेकी आफ्नी आमाको क्षतिपूर्तिका लागि अर्की स्वास्नी ल्याउने बाबु नन्दुप्रतिको घृणाभावको बीज पनि सुरक्षित राखेको छ । प्रचण्ड गरबिीको महाकालबाट जोगिनका लागि सर्कसमा ससाना छोरी बेच्न विवश आमाबाबु, स्वार्थी नेताहरूको प्रपञ्चमा परेर ससाना असहमतिलाई साम्प्रदायिक रंग दिने शठहरू र तिनले अँध्यारो गर्तमा छिराइदिएको बस्तीको दुर्भाग्यको प्रभावशाली औपन्यासिक प्रस्तुति हो, लू । आफ्नो अस्तित्वरक्षाका लागि देहाती विश्वासलाई भजेर जीवन धानिरहेको टुटे पण्डित हाम्रो समाजको त्यस्तै एक जिउँदो यथार्थ हो । त्यस यथार्थलाई नजिकैबाट अनुभूत गर्न लू पढ्नैपर्ने कृति हो ।

लूमा पश्चिम नेपालको देहाती समाजमा विद्यमान सामाजिक मूल्य, तिनले निर्देशित गरेका व्यवहार, तिनले सायास वा अनायास सिर्जित गरेका घटना, दुर्घटना र त्यसका परण्िााम र सामाजिक जटिलतालाई निकै कुशलतापूर्वक उत्खनन गरिएको छ । उसो त काठमाडौँका, काँठका वा पूर्वेली नेपाली समाजका पाठकलाई यहाँका पात्र र परघिटना अलि नाटकीय लाग्न सक्छन् । तर, त्यो समस्या उपन्यासकार वा त्यस समाजको होइन, पाठकभित्र घर गरिराखेको तिनका आफ्नै विशिष्ट सामाजिक मूल्य, तिनले बनाइदिएको दृष्टिकोण र ज्ञानको सीमाको समस्या हो । उपन्यासकारले स्थानीय सांस्कृतिक विम्ब र प्रतीकहरूलाई तिनका आफ्नै विशिष्ट सोच, शैली र संवादमार्फत नेपाली भाषामा ‘ब्लेन्ड’ गरेर भिन्नै स्वादको सृष्टि गरेका छन् । यस वर्णसङ्कर भाषाले नेपालगन्ज सहर र त्यसका देहातको सजीवतालाई अझ बढी निखारििदएको छ र नयनराज पाण्डे पश्चिम तराईको जनजीवनलाई आधिकारिक तवरले उपन्यास कलामा प्रवेश गराउन सफल भएका छन् ।

सीमाक्षेत्रका बासिन्दाले भारतीय सीमा सुरक्षा बलको अत्याचार कतिसम्म खप्नुपर्छ भन्ने दृष्टान्त दसगजापारबिाट पत्थरपुरवामाथि गरिएको हेपाहा व्यवहार र कमलाले अवाञ्छित शिशु बेहोर्नुपर्ने बाध्यताजस्ता उपकथाबाट मार्मिक ढंगले प्रस्तुत भएको छ । हाम्रो आफ्नै सामाजिक मूल्य कतिविघ्न कृतघ्न र अमानवीय चरत्रिको छ भन्ने कुरा कमला र उसकी अबोध छोरी जानकीको बलात् निर्वासनबाट व्यक्त भएको छ । इलैयाहरू तिनै सामाजिक विश्वास र अमानवीय मूल्यबाट निर्देशित भएर केकस्ता कृत्यसम्म गर्न सक्छन् र समाजको भयले जीवनलाई कतिसम्म नारकीय कष्टमा पुर्‍याउँछ भन्ने दृष्टान्त ‘प्रेमको शत्रु इलैया….’ शीर्षक अध्यायले दिएको छ ।

प्रेम र सौन्दर्यले जातीय र धार्मिक सीमालाई कसरी अस्वीकार गर्छ र नेपाली समाजलाई अन्तरजातीय र अन्तरधार्मिक सद्भावको दिशातिर जान संकेत गर्छ भन्ने यथार्थबोधका लागि रामललवा र इलैया, अजय र देवकीका प्रेमप्रकरण नै पर्याप्त छन् । यस प्रकारका विद्रूपताका बीच उनीहरूमा जीवित मानवीय मूल्यको शक्ति यस उपन्यासबाट झन् प्रखर भएर देखा पर्छ ।

पाण्डेका आख्यानका भाषाको सबैभन्दा आकर्षक पक्ष सरल र छोटा वाक्यमा कथ्यलाई प्रस्तुत गर्नु हो । यस प्रकारको शिल्पले पाठकलाई पाठको अन्तिमसम्म पुग्न आकषिर्त गरिरहने क्षमता राख्छ । आफ्नो समयका स-साना घटना र प्रपञ्चलाई पाण्डे बडो सूक्ष्म दृष्टिले पर्यवेक्षण गर्छन्, स्पर्श गर्छन् र तिनलाई आधिकारिक तवरले प्रस्तुत गर्छन् । उनले यस उपन्यासमा तराईका सीमावर्ती क्षेत्रका सामाजिक मनोविज्ञानको सूक्ष्म पर्यवेक्षण गरेका छन्, जसले पाठकलाई त्यस क्षेत्रको अत्यासलाग्दो र कष्टकर जनजीवनलाई नजिकबाट बुझ्न प्रेरित गर्छ ।

उलार प्रकाशनको १३ वर्षपछि पाण्डेको पाँचौँ उपन्यास लू आकर्षक कलेवर र प्रवाहमय भाषाका साथ नेपाली पुस्तक बजारको शीर्ष भागमा देखिएको छ । एक-दुई वर्षको मात्र अनुभव सँगाल्न पाएको सांग्रिला प्रकाशन व्यावसायिक दृष्टिले अब सफलतातिर उक्लँदैछ भन्ने कुराको संकेत पनि हुन सक्छ, यो पुस्तक । आवरण तथा पाठसज्जा, कागजको गुणवत्ता र मुद्रणका दृष्टिले यो पुस्तक नेपालको किताबी दुनियाँको उच्च कोटिको संस्करण बन्न पुगेको छ । उपन्यासको अन्त्यतिर पाठकको मनमा सहसा प्रश्न उठ्छ, दयासिंहलाई पत्थरपुरवावासीले चिनेझैँ हाम्रो राजनीतिक वृत्तले कहिले चिन्ला ?

लू
स्रष्टा : नयनराज पाण्डे
प्रकाशक : सांग्रिला बुक्स
पृष्ठ : २५६
मूल्य : ३०० रुपियाँ

नेपाल साप्ताहिक ४९१

Leave a Reply

Your email address will not be published. Required fields are marked *