Skip to content

ओजु र डाँफेबाल काव्यभित्र पस्दा

  • by


बि.सं. २०११ भदौ २० गते दाड्डसिङ, दहथुम गा. वि. स. स्याङ्जामा जन्मनु भएकी श्रीमती गंगा पौडेलको ओजु र डाँफे (बाल काव्य) लक्ष्मीस्मृति साहित्य समाज नवलपरासीलाई उपहार स्वरुप प्रदान गर्नु भएकोमा यस पंक्तिकार तथा लक्ष्मीस्मृति साहित्य समाजको तर्फबाट धन्यवाद दिन्छ ।

श्रीमती गंगा पौडेलको यो तेस्रो कृति र पहिलो काव्य हो । यो बालकाव्य (४० + १८)५८ पेजको छ नागार्जून साहित्य प्रतिष्ठान अनाम नगर काठमाण्डौले प्रकाशन गरेको यो दोस्रो संस्करण भएको पुष्टि प्रकाशकीयमा उल्लेख गरिएको छ । किताव निकै आकषर्क छ । बाल काव्य नामाकरण गरिएको यो किताब बाल लघुकाव्यमा लिन सकिन्छ । मूल्य २५ रुपियाँ छ । यो काव्यमा बाल साहित्यकार दैवज्ञराज नौपानेज्यूले – “श्याबास कवियित्री गंगा पौडयालज्यू” भन्दै लेख्नु हुन्छ – बाल साहित्य त्यसै लेखेर मार्त्रै हुँदैन, बाल मनोविज्ञान, बाल भाव पनि जान्नु आवश्यक छ । अझ आँफू पनि पूर्णरुपले बालक बनेर उनीहरूसँग रमाउन सक्नु पर्दछ ।

यो बाल साहित्यको भूमिका साहित्यकार रमेश शुभेच्छुकले लेख्नु भएको छ । रमेश शुभेच्छुक भन्नु हुन्छ – “गंगा दिदीको किताब पढ्न पनि सजिलो छ । यसमा प्रयोग भएको लय १४ अक्षरको सवाई हो । यस काव्यलाई साथी साथी मिलेर ताली पिट्दै वा चुट्की बजाउँदै गाउन रमाइलो हुन्छ ।

कवियित्रीले ओजु र डाँफेलाई बाल काव्यको संज्ञा दिएर किताबको उच्च मूल्याङ्कन गर्नु भएको छ । काव्य संवाद रूपमा लेखिएको छ । पात्रहरुको छनौट पनि सुनियोजित रुपमा गरिएको छ । एक प्रौढ महिलाले आफ्नी छोरी ओजुसँग बार्तालापबाट अघि बढेर बन्दीगृह्यबाट (चिडीयाखानाबाट) डाँफेलाई मुक्त गरिएको छ । स्वतन्त्र जीवन व्यातित गर्ने अवसर ओजुले डाँफेलाई दिन सफल भएकी छन् । काव्यको शारांस यस प्रकार छ – “ओजु एउटी सानी बाालिका हुन् । उनले किताबमा डाँफेचरा देख्छिन् र डाँफेचरा हेर्न जाने अनुरोध आमामा राख्छिन् । आमाले शनीबार चिडीयाखानामा लगेर देखाउने जानकारी दिन्छिन् । शनीवार ओजु र आमा चिडिया खानामा जान्छन् र लभबर्ड, फलेमिड्डो, पोलीक्यान, मृग, जरायो, गरुड, लङ्गुर, र बाघ, गैंडा, जलगैंडा, वनमानिस, सिंह, भालु, चितुवा, हात्ती, हाँसहरु, चखेवा, मयुर र डाँफेचरा, देखाउने, र यसको बारेमा जानकारी गराउँदै, ओजुले मन पराएको डाँफेचरासँग आमले पुर्‍याउने काम हुन्छ । अन्तिममा ओजुको डाँफेसँग भेट हुन्छ । डाँफेसँग भेट भए पछि ओजु र डाँफेबीच बार्तालाप हुन्छ । डाँफेले आफ्नो स्वतन्त्र जीवन बिताउन चाहेको, यथार्थता, ओजुलाई भने पछि ओजुले कसैले नदेख्ने गरी, डाँफेलाई उम्काउँछिन् र काव्यको कथालाई समाप्त पारिन्छ ।

काव्य अति सूक्ष्म छ तर भाव भने अति उच्च छ । डाँफेलाई स्वतन्त्रता दिनुको अर्थलाई धेरै अर्थमा लिन सकिन्छ । संसारमा स्वतन्त्र जीवन बिताउने चाहाना सबैको हुन्छ । चाहे मानिस होस् या पशुपंक्षी होस् । यहाँ डाँफेलाई स्वतन्त्रता प्रदान गरेकामा उदारभाव प्रदर्शन गरिएको छ । मानव पति गरिने व्यवहार मानवीय प्रकारको हुनु पर्दछ भने पशुपंक्षीमा गरिने व्यवहार पनि पशुवत (उसले बस्ने, खाने, विचरण गर्ने, संरक्षित हुने, आदि स्वतन्त्र जीवन) हुनुपर्दछ । स्वतन्त्रता जस्तो मूल्यवान बस्तुलाई, मानिसले आप्नो अधिकार /शक्तिको आधारमा बन्दी जीवन बिताउन बाध्य पारिन्छ । जेल भनेको जेलै हो जति त्यहाँ स्वतन्त्रता प्रदान गरिए पनि कसैको आत्मा सन्तुष्टि हुँदैन । ओजुले मार्मिक भावना बुझ्दछिन् र पोख्दछिन् –

“किन आमा तिनलाई भोक लाग्दै न र
मैले जस्तै फफूल खान पर्दै न र” – पृष्ठ ६

ओजुले स्वतन्त्र भावमा पशुपंक्षी बाँच्न पाउनु पर्छ भन्ने धारण राख्छिन यसरी चिडीया खानामा पशुपंक्षी राखेको उनलाई मन पर्दैन । ओजुकी आमाले पनि ओजुलाई शिक्षाप्रद सुझाउ दिनु हुन्छ –

“गुलेली र ढुड्गाइटाले
हान्नु हुन्न तिनलाई
माया गर्नु पर्छ हाम्ले
पशुपंक्षीलाई” – पृष्ठ ८

भनिन्छ बालबालिकालाई ईश्वरका सहीरूप हुन् ई ईश्वरतुल्य हुन्छन् । भावनामा उनी डुब्छिन् । उन्ले हरेक पशुपंक्षीलाई धार्मिकरूपमा हेर्छिन् , उनका बाबा आमाको खोजी गर्छिन् । उनलाई भोकलागेको बेलामा कस्तो खाना दिन्छन् भन्ने धारणाले ओजुलाई सताउँछ र उनी भावुक बन्दछिन् –

“आमा रोइन् होला
बाबा रोए होलान्
साथीहरु कहिले आउँछ
भनी सोद्धा होलान् पृष्ठ” – ३३

यो बालकाव्यको लेखाइ लोक लयमा छ । अनि आकषर्क छ । यसलाई ओजु, आमा, र डाँफे बनेर गाउन सकिन्छ –

“आउ डाँफे तिमी र म बनौ साथी साथी,
तिम्रा मेरा मनका कुरा गरौं साटी साटी” – पृष्ठ२८

स्वतन्त्रा प्राप्त गर्न सजिलो छैन त्यहाँ त सन्घर्षको आवश्यक्ता पर्दछ । उनी सन्घर्षरत छिन् उनको उद्गारबाटै थाहा लाग्दछ –

“कलिलो छ हात मेरो बलियो छ बार
तर कोशिस गरिरहन्छु नमानेर हार”
– पृष्ठ ३४

यस काव्यमा लेखिएका सबै हरफहरू, मार्मिक, मनन् योग्य, गायत्मक, लोकलयमा सजिएका, भावपूर्ण अभिव्याक्ति पोखिएका र साना साना बालबालिकालाई आकर्षण तुल्याउने खालका छन् । जीवन स्वतन्त्ररुपमा व्याति गर्न पाउनु पर्छ भन्ने जीवनको स्वतन्त्र भावलाई काव्यले समेट्न सफल देखिन्छ र ओजुले अन्तिम धारणा यसरी राख्दछिन् –

जन्मिएको आफ्नै धरती
आफ्नै आकाश प्यारो
जिन्दगीमा सबै भन्दा
स्वतन्त्रता प्यारो

यो बालकाव्य चिडीया खानाको परिवेशमा लेखिएको छ । बालबलिकाहरूलाई पशुपंक्षीको सम्बन्धमा ज्ञान दिने र बाल साहित्यमा कोशेढुड्गा थप्ने उदेश्य अनुरुप यो काव्यको सिर्जना भएको देखिन्छ । दृष्टिविन्दुको रूपमा आमा ओजु र डाँफे देखिएका छन् । भाषा सरल छ, सबैले सहजै बुझ्न सक्ने, शिक्षाप्रद, नैतिक आदर्शले भरिएको काव्य हो । यो पठनीय र अनुकरणीय छ । सबै बालबालिकाको साथै, बाबा, आमा, हजूरबाबा, हजूरआमा समेतले यो कृति पढेर बालबालिकालाई ज्ञान दिलाउन आवश्यक छ ।

सदानन्द अभागी
धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *