Skip to content

दु:शङ्काको घेराभित्र


‘’जान्छिन आज शकुन्तला घर भनी उठ्दो छ चिन्ता अति
प्रीतिको मनमा प्रवाह बहँदा रोकिन्न आसुँ रति
हामी झैं बनावासिको पनि भयो यो गत भने यो घरि
बस्छन धैर्य गरि गृहस्थ कसरि छोरी बिदायी गरि !’’

पण्डित बाले भाका हालेर सुनाउनु भो !

जमदार बाजे बज्यैका आखाँहरू रसाए छोरी सफलाको बिदायी पछि । बातावरणको अहो ! कस्तो नीरव शून्यता । छोरी अन्माउदाको दुखद क्षण।

एउटा ठूलो भारी बिसाए जम्दार बाजेले आफ्नी कान्छी सुपुत्रीको कन्या दान पछि । मनग्य खर्च गरे बुढाले दिल खोलेर ।‘’ ज्वाईं पनि कति राम्रा सुन्दर सलक्क कति मिलेका जोडी !’’ सबैले प्रसंसा गरे ।

सत्र जोर त ताउला, गाग्री, टिभी, फ्रिज, मोटरसाइकल अरु कति कति । केटो भाग्यमानी रैछ यत्रो सम्पति र यस्ती अप्सरालाई पाउने । फेरि टाढा पनि त होइन भरतपुर – नवलपुर ।

‘’बाजेका सबै छोरी भाग्यमानी नै हुन्। जेठी साधना र माइली सजलाको पनि त कम्ति राम्रो छ । बूढाले नाजिकहुँदै च्याट्ट मिलाएर कुरा पट्टाई हाले छन् बिहेको सजिलै ।‘’ छिमेकीहरूका खासखुस चलि नै रहे हप्तौं सम्म ।

आफन्तहरूको फर्किने क्रम सुरु भयो बिहेवारी उम्काएर । सबैलाई कृतज्ञताको अभिवादन र यथोचित दान दक्षिणा सबै सम्पन्न गरे जम्दार दम्पतीले ।

‘’कम्ती त हेरिएन तर नजिकै लेख्या रैछ । भाग्यमानी छे सफला सबैभन्दा । अहो ! यो छोरीको जात सारै गार्हो । अर्काको नासो जिम्बा नलगाईन्जेल मनै पोल्ने । जवान छोरीको बाउ बन्न पनि ठूलै हिम्मत गर्नु पर्ने । यसो तल माथि परे औला ठड्याउने कुरौटे समाज ।‘’ बूढा बुढीको खासखुस चलिरह्यो अवेर सम्म ।

‘’अव छोराको पीर छैन पण्डित बाजे मनोजले आफैँ ल्याए पनि के गर्ने त ? पानी चल्ने जातसम्म ल्याई दिए भयो । हामी दुई बूढा बूढी मात्र त हौँ कति नै बाचौला र ? त्यसपछिको समाज रीतिथिति तिनीहरूकै हो । जे सुकै गरुन स्वतन्त्र छोड्या छु मैले त ।‘’ बूढा हासेँ जोडले ।

उता केटाको घरमा धुमधामसँग सफलालाई भित्र्याइयो । सबै जना दङ्ग । दाइजोको अपार राशी । जेठानीहरू तर्सिए, गाउलेहरूले जिब्रो टोके ।

ओहो ! कति लक्षिनकी बुहारी ….. गुणगानमा फूलबट्टा भरिए । सासू ससुरा, नन्द आमाजु सबैकी परमप्रिय भइन छिटै नै सफला । कुलीन भनेको कुलीन नै हो । बुढीको धाक धक्कु ।

मधुयामिनिका माधुर्यमा चुर्लुम्ब डुब्छन् ती दुई अनुपम जोडीहरू । आफ्नो प्रोजेक्टको काम सकिने बित्तिकै सुदीप सिधै घर आइपुग्छ, सफलाको प्रतिक्षालाई स्वीकार गर्दै ।उनकै आग्रहलाई बुझेर ती दुई युगल जोडी हनिमुनमा निस्किन्छन् दार्जलिंग, सिलगुडी हुदै आगरासम्म पुग्छन् । ताजमहल हेर्छन् । आफ्नो प्रेमको दाम्पत्यको दीर्घजीवनको कसम खान्छन । जीवनभर एक अर्कासँग कहिल्यै नछुटने , कहिल्यै नफुटने कसम शहाजहाँ र मुमताजको गाउमा प्रेमको नमूना ठाउमा ती दुइले गर्दछन् । समय चिप्लिरह्यो सलल खोलाझैं । तिनीहरूको माया प्रीतिको छाँगो छङ्ग छङ्गयाए झैं ।

तिनीहरूको लोभलाग्दो दाम्पत्य संसारले कति छिमेकका तन्नेरीहरूको गर्मी बढायो । अन्जानमै । सुदीप दङ्ग थियो एकातिर अर्कातिर सफला आफूलाई सफल भएको ठान्थिन दाम्पत्य सुखमा । जमदार बाजेकी कान्छी सुपुत्री उनलाई अभाव के हो कहिल्यै थाहा भएन । उनको बाल्यकाल लाडप्यारमै पुल्पुलिएर बित्यो । बाबुआमाको अनन्त मायाले सिन्चेर फुल्यो ।स्वभावैले चुलबुले चन्चले सफला पढ्नमा भन्दा खेल्नमा मन गर्थिन । कान्छी छोरी भएकीले पनि बुढाबुढीले त्यति हप्कीदप्की गरेनन । प्रवेसिका उत्तीर्ण गराउन कम्ति हम्मे त परेन उनलाई । तैपनि चौथो पटक सफलता पाएकी उनले ठाँटसँग क्याम्पस पढिन ।

बुढाबुढी खुसी थिए, छोरी कलेज गएकिमा । तर उनको मन पाठ्यपुस्तकमा नभएर मायाप्रीतिका सस्ता युधिर थापाका उपन्यासहरूमा र हिन्दी चलचित्रमा उन्मुख भइसकेको थियो ।कितावको बीचमा सानो उपन्यास राखेर उनि रातभर पढ्थिन । बाबुआमा छोरीले कस्तो मन लगाएर पढेकी भनेर खुसी हुन्थे । तर उनि ………. यौवनवयमा चलचित्र र उपन्यासले पार्ने तीब्र प्रवाभको शिकार भैसकेकी थियिन । पारिवारिक सम्पन्नताले त्यसमा मलजल थपी रह्यो । सोझा बुढा बुढीलाई ती सबै कुराको के नै पत्तो हुन्थ्यओ र ? छोरीको अलि स्वतन्त्र स्वभावको सानो सुइँको मात्र पनि तिनीहरूलाई थिएन । पूराना शैलीका जमदार दम्पतीहरूले त्यस्तो कुनै सम्भाब्य खतराको घन्टी नबज्दै उनलाई कन्यादान गरेर पठाएकोमा ठूलो राहत अनुभव गरिरहे ।

उपर्युक्त वातावरणको परागशेचनपछि बागबगैचामा सुन्दर फूलहरू फुल्न र फल्न थाले । प्राकृतिक बसन्त मुस्कुरायो । बोट बिरुवाहरू नयाँ मुना र हरीत सौन्दर्यले नाच्न थाले । चराचुरुंगीहरूले मांगालिक धुन बजाए प्रेमको मधुवनमा ।

अफिसबाट फर्कदै गरेको सुदीपलाई लजाउदै सफलाले भनिन मेरो महिनावारी …..ऊ उफ्रियो खुशीले आफू बाबू बन्दै गरेको खबर । आफ्नो उत्तराधिकारीको आगमनको खबर । आफ्नो बंश परम्परा कायम गरेको महान खुशियालीको खबर । उसले सफलालाई जुरुक्क उचालेर चुम्बन गर्यो फिल्मी शैलीमा।

ती दुई जोडीहरू बोलि रहे रात भरि ……..

छोरा कि छोरी ?

नाम के राख्ने ??

अहो ! कत्रो हतार । लौ अव राम्रो हेरबिचार गर्नु पर्छ… ।

‘’तिमीले अव काम बन्द सफला पुरा आराम गर्नु पर्दछ ।‘’

सासुको निर्देशन । हाम्री सफलाले छोरै पाउछे । त्यस्तै लक्षण छ ।… के गर्ने अरु कसैले नातिको मुख देखाउन सक्या होइनन ।

डाक्टरलाई देखाउदै गर्नु पर्दछ ।….

सफला सबैकी प्रेम र सदभावकी पात्र भइ रहिन दिनानुदिन । उनको यत्रो सम्मान र भाउ देखेर जेठानीहरू भित्र भित्रै कुडीन्थे तर कसको के लाग्दो रैछ र लेखेर ल्याको कुरा । उनीहरूले थुक निल्थे इर्श्याले घुटुक्क ।

प्रेमको बिजांकुरण बढदै गयो तिनीहरूको ।एउटा नयाँ लहर, नयाँ ज्योतिको प्रतिक्षा सबैले गरि रहे समय सापेक्ष ।श्रीस्टी चक्रको एउटा कडी । बंश परम्पराको पुर्खेउली बिराशत बिसाउने एउटा चौतारी । धर्म भीरु हिन्दु समाजका अझ ब्राह्मणहरूको त के कुरा ? छोरै चाहिने पिण्डपानी गर्ने । मर्दा दाग बत्ति दिने । काजक्रिया सम्पन्न गर्ने … ।

एकदिन अचानक सफलालाई ब्यथा लाग्छ । तुरुन्त एम्बुलेन्स बोलाएर हस्पिटल पुर्याइन्छ । दुई तीन दिनको रेख देख र प्रतीक्षा पछि सफलाले बच्चा जन्माउछिन सबैले खोजेझैं । रोजेझें ।

चियाँ ! चियाँ !! चियाँ !!!

… छोरो नै ।

लौ बधाई छ सुदीप भाइ भोज खुवाउनु पर्छ । प्रसुती वार्डमा काम गर्ने सिस्टरहरू उषा र कल्पनाको आग्रह ।

पाठक परिवारको एकल उताराधिकारी नवजात शिशु छोरो । सुदीप खुसीले उफ्रिन्छ हस्पिटल परिसरमै । सफलालाई बधाई दिन्छ पुत्र्रत्न्को उपहारकोलागि ।

बहुप्रतिक्षित नातिको जन्म भएको खुसीले हस्पिटलमा आइपुगेकी उनकी सासु बुढीको अनुहार भने त्यति चम्किलो देखिएन खोइ किन हो कुन्नि ? जति तीब्र उत्सुकता त्यसको पर्खाइमा थियो । उनि काली देखिईन । खासै उमङ्गको कुनै संचार त्यहाँ भएन । मात्र बलपूर्वक निभाइएको औपचारिकता ।

हैन कति मैना भयो ?

उनले गनिन मनमनै.. जेठ , असार, साउन,…मङ्सिर मात्र सात मैना ।

फेरी गनिन बिहेको मिति सम्झिन । उफ ! उनले आश्चर्य प्रकट गरिन । बच्चालाई हेरिन । राम्रो र पूर्ण स्वस्थ बच्चा । आमाको छेउमै निदाइरहेको थियो यी सारा शंका उपशंकाबाट बेखवर ।

प्रसुती गृहको बेडबाट यी सबै दृस्यहरूलाई देखिरहेकी सफलालाई कता कता चीसो पस्यो सासुको अनपेक्षित व्यवहारले । तथापि नवजात शिशुका सबै प्रारम्भिक कर्म कार्यहरू सम्पन्न भए र नामाकरण भयो ‘’सुसन’’ ।

हैन सफलाले सात मैनामै कसरि छोरो पाई त्यति ठूलो ?………

कतै बिवाह पूर्वनै कसैको ……….? त होइन । शंकाले तीब्र रुप लियो । एक कान दुई कान मैदान । भ्रमले सबैलाई दिग्भ्रमित बनायो । कसैले त्यसको बस्तुस्थिति जाच्न, बुज्न चाहेन । केवल गाउले हल्लाको खेति पछि तिनीहरू सबै कुदी रहे । सबैभन्दा सासु बुढी अग्र स्थानमा देखापरिन पारिवारिक संग्रामको महारथी बनेर । आफ्नै बुहारीका बिरुद्ध । नवजात सन्ततिका बिरुद्ध ।

सुदीप रनभुल्ल भैरहयो । चक्रब्युहमा फँसेको निरुपाय अभिमन्यु बनिरह्यो । पूरै घरमा आमाको साम्राज्य थियो । उसले न आमालाई नै सम्झाउन सक्यो न सफलालाई नै आस्वस्त पार्न ।

त्यसपछि त सबै खनिए सफला बिरुद्ध । ‘’ मुसो ब्यायो हर्ष न विष्मात ‘’

‘’हेर नकटी लाज नभएकी कसको पाप बोकेर मेरो घर पसेकी ।…

त्यै भएर त त्यो चोर बुढाले सम्पति पेलेको ……….

आफ्नी छोरीको …. छोप्नलाई ।

पाप धुरीबाट कराउछ।……….

पारिवारिक यातनाका यस्ता हजारौं क्ष्यप्यास्त्रहरू ऊ माथि दिनहुँ निर्घात बर्सि रहे । बिचरी सफला किम्कर्तब्यबिमुड बनिन् त्यसै त्यसै । हिजो सम्म रानी मानेर चाट्ने उनको आफ्नो लोग्ने आमा पट्टि लाग्यो क्रमशः ।

जेठानिहरूलाई चाहिएकै तेइ थियो … उनीहरूले घ्यू थपे प्रज्वलित पारिवारिक अग्निमा । छिमेकीहरू अनेकौं अड्कलबाजिका नयाँ नयाँ किस्साहरू थपे । हिजो सम्मको स्वर्गजस्तो घर आज हेर्दा हेर्दै नारकीय कुण्डमा बदलिदै गयो ।तथापि कतिले सम्झाए – ‘’ त्यस्तो भन्नु हुदैन बाजा बजाएर दुनियाँकासामू अग्निलाई साक्षी राखी जीवनभर साथ दिने कसम खाएर ल्याएकी आफ्नी श्रीमती/ बुहारीलाई । ‘’ त्यस्ता अपवादहरू धेरै छन् हाम्रो समाजमा सात/ आठ मैनामा जन्मिएकाहरू प्रीथिभीनारायण शाह ….पनि त्यसरी नै जन्मेका थिए । डाक्टरलाई राम्रो सँग सोध्न सकिन्छ, जाच्न सकिन्छ, बुझ्न सकिन्छ ।

आगो सल्कीई सकेको थियो कहिल्यै ननिभ्ने गरि । अपमान, अन्याय र अत्याचारलाई सहेरै पनि उनले आफ्नो घर छाडेकी थियिनन केहि समय । तर अतीको सीमा नाघेपछि उनले बाध्य भएर घर छाडेकी थिइन । बुवाले सुम्पेर जिम्मा लगाएको आफ्नो लोग्ने र आफ्नो सर्वस्व……… ।

नुनिला आँसुहरू पिएर अपमानित हुँदै माइतिको कौसीमा उनका यौवनका उत्ताल तरंगहरू बितिरहेछन । तर दुनियाँ कसैले पनि उनको पक्षमा यथार्थ्तासंग साक्षात्कार हुने हिम्मत गरेन । त्यस प्रकारको बच्चा पैदा हुने सम्भाव्यता र त्यसमा गर्न सकिने साँचो परीक्षणमा मेडिकल साइन्स के भन्छ ? प्रसुती रोग बिशेषज्ञहरू के भन्छन ? यी सारा अनुत्तरित प्रस्नहरू उनको मनभरी घुमी रहेछन् एउटा जीवनभरकै ठूलो ब्यथा बनेर । उनि अध्यारो कालो महारातमा माइतिको कौसीमा टोलाइरहेकी छन् । आफूमाथिको अन्यायको कालो टीका पुछिने सम्भावना खोज्दै, छोराको सुदुर भबिष्य सम्झदै टाsssडाको मधुरो तारा नियालिरहिछन ।

रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन

सम्प्रति: संयुक्त अधिराज्य बेलायत

(प्रस्तुत कथा मनोभाव त्रैमासिक वर्ष ८, पूर्णांक ३० असोज २०६० मा प्रकासित भएको हो )

Leave a Reply

Your email address will not be published. Required fields are marked *