Skip to content


एकदिनको कुरो हो, म यसै एक पागलखानाको बगैँचामा टहलिरहेको थिएँ कि एकजना मानिस दर्शनशास्त्रको किताब पढिरहेको अवस्थामा देखेँ । उसको बानी बेहोरा र सु-स्वस्थ शरीरको कारणले पनि ऊ पागलखानाकै अन्य बन्दीहरू भन्दा भिन्न देखिन्थ्यो ।

म पनि उसको नजिकै बसेँ र उसलाई सोधेँ ।

“तपाईँ यहाँ के गर्दै हुनुहुन्छ ।”

ऊसले चकित मुद्रामा मलाई हेऱ्यो । म कुनै डक्टर नभएको लख सजिलै काट्यो र भन्यो –

“कुरा साधारण छ । मेरा बुबा, जो एक उत्कृष्ट वकिल हुनुहुन्थ्यो, मलाई वहाँ जस्तै बनोस् भन्ने चाहना राख्नुहुन्थ्यो ।

“मेरा काका, एक विशाल बिक्रीकेन्द्रको मालिक, आशा गर्नुहुन्थ्यो म उहाँको अनुसरण गरूँ ।

“मेरी आमा मलाई वहाँको प्यारो बुबाको प्रतिविम्ब बनोस् भन्ने चाहनुहुन्थ्यो ।

“मेरी दिदी सँधै आफ्नो श्रीमान लाई एक सफल व्यक्तिको रूपमा मेरो अगाडि उभ्याउनु हुन्थ्यो ।

“मेरा दाइ जो सँधै मलाई आफू जस्तै एक कुशल खेलाडीको रूपमा प्रशिक्षित गराउन चाहनु हुन्थ्यो ।

“अझ विद्यालयमा पनि त्यस्तै भयो, मेरा संगीत शिक्षक र अङ्ग्रेजी शिक्षक विश्वस्त हुनुहुन्थ्यो कि उहाँहरू नै अनुसरणीय उदाहरण हुनुहुन्थ्यो र मलाई उहाँहरूको अनुसरण गर्न प्रेरित गर्नुहुन्थ्यो ।

“कसैले पनि मलाई एक भिन्न मानिसको रूपमा हेर्नुभएन र सबैले मलाई ऐनाको रूपमा आफ्नो अनुहार हेर्नको लागि प्रयोग गर्नुभयो ।

“त्यसैले म यहाँ ‘स्व’को खोजीमा यतातिर छिरेँ ।”

खलिल जिब्रानको The Asylum को नेपाली भाषानुवाद
अनुवादः एकदेव अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *