Skip to content


क्यालेन्डर पल्टाएर हेर्ने हो भने गतेभन्दा बढी दिवस पर्छन् क्यारे। कहिले पानी दिवस, कहिले एड्स दिवस कहिले कन्डम दिवस। वातावरण दिवस, निजामती दिवस, शिक्षा दिवस, पृथ्वी दिवस आदि। हाम्रै क्यालेन्डरमा कविता दिवसचाहिँ उल्लेख भएको पाइँदैन। राष्ट्रिय कविता उत्सव, महोत्सव, दिवसको महत्त्व बेग्लै छ। समय सन्दर्भमा विवादको घेरामा परे पनि एउटा स्रष्टाका लागि खासगरी कविताको क्षेत्रमै जम्न र रम्न चाहनेका लागि कविता महोत्सवको महत्त्व बेग्लै छ।

समय फेरिएको छ, बोली फेरिएको छ, व्यवहार फेरिएको छ, कुनै समय यस्तो पनि थियो राष्ट्रिय कविता उत्सवमा सहभागी हुनु, कविता पढ्न पाउनु र सके पुरस्कार जित्नु भनेको ठूलो कुरो मानिन्थ्यो। प्रतिस्पर्धामा अगाडि आउन कसलाई मन नलाग्ला र ? समय पहिलेजस्तो छैन अहिले। हिजो कविता महोत्सवमा सहभागी भई पुरस्कृत हुनेहरूमध्ये कतिपयले नेपाली कविता क्षेत्रमा आफूलाई स्थापित गरिसकेका छन्। कविता महोत्सवको सन्दर्भ पारेर यसपालि विभिन्न कवि समालोचकले कविताबारे अभिव्यक्त गर्नुभएको विचार यहाँ समेटिएको छ।

‘तिमी’ र ‘म’ बाँचेको संसारमा कविता रहेन भने म त जीवनको सार्थकता देख्तिनँ। हाम्रो यस संयोगलाई चीर सुवासित तुल्याउनलाई हाम्रो यस नातालाई युगयुगसम्म जीवित राख्नलाई म कविता लेख्न सकिरहूँ। तिमी आमरण मलाई अनुप्रेरित गरिरहुँ। यस संयोगपछि पनि मलाई दिनका निम्ति नयाँ प्रेरणा र कोमल उत्तेजनाहरू सोच्दै गर । तिम्रो मोहमय अनुप्रेरणा नै मेरा कविताका अमूल्य निधि बन्दै आए पनि आइरहून्। -अगमसिंह गिरी

“कविताको लक्ष्यलाई दुई/चार शब्दमा परिभाषित गरेर त्यस परिभाषाको सङ्कुचित घेराभित्र बन्धित गर्न मिल्दैन जस्तो मलाई लाग्छ। किनभने कुनै कविको एउटा कवितालाई विभिन्न पाठक तथा समालोचकहरू आफ्नै दृष्टिले अर्थ्याउन पनि सक्छन्। यस दृष्टिले विचार गर्दा मेरा कविताको लक्ष्य मैलेभन्दा मेरा पाठक तथा समालोचकले प्रस्ट्याउनु बेस होला। साँच्चै भन्ने हो भने कविता भनेको मेरो विचारमा जीवनक्रम र पद्धतिको व्याख्या हो।” -उपेन्द्र श्रेष्ठ (२०४४/०१/२६)

‘म लेख्दा (कविता लेख्दा) आफूले भन्न खोजेको कुरालाई उपयुक्त शब्द सोच्छु त्यतिबेला ‘जनता’, ‘साहित्यको विकास’ आदि केही पनि सोच्दिनँ। लेख्दाखेरी अभिव्यक्तिका लागि मिल्ने शब्द भेटिनँ भने ब्रुस समातेर रङ्ग पोत्छु, यति गर्दा पनि भएन भने विचार पकाउन जति समय खर्च हुन्छ होस् खर्च गर्छु।” – जीवन आचार्य (२०४४।२।१८)

“तीव्र संवेदनशील हृदय भएमा कवि होइन्छ भनिन्छ। बाबु हो, दाज्युभाइ हो, ऊ हृदय भएको प्राणी हो यसैले सर्वप्रथम ऊ कवि हो। मान्छेबाट साहित्य, सङ्गीत र कला घटाउनुहोस् ऊ सिङ र पुच्छर नभएको पशु हुन्छ, गधाजस्तै हुन्छ। मान्छे हाँस्छ, रुन्छ, गाउँछ र नाच्छ, कारण उसमा न कहीँ कविको हृदय लुकेर बसेको छ। काव्य, कलम र कागतबाट आउने होइन यो त भित्री अन्तरआत्माको गहिरो अभिव्यक्ति हो।” -टेकबहादुर ‘नवीन’ (२०४४/०३/२६)

प्रकृतिका अद्भुत रचनादेखि त्यसमा छक्क परेर तन्मय भई कविहरू जो बोल्दछन् त्यो ‘कविता’ कहिन्छ। विषय मिलाएर लेखिएका कविताका समष्टिलाई ‘काव्य’ भनिन्छ तर सुरुमा नै यस्ता कविता र काव्य तयार हुन सम्भव थिएन। कविलाई रामायण, महाभारत र अरू पुराणका कथाको पद्यानुवाद गरी नेपाली कविताको नयाँ रूप प्रकट गरे। यसै सिलसिलामा भानुभक्त आचार्यको रामायण तयार भई काव्यका रूपमा खडा भयो। यी कविहरूले रामायण आदिको कथाका आधार लिएका हुनाले यी कविताहरू प्रायः अनुवादकै रूपमा खडा हुने गरेका थिए। कहीँकहीँ मात्र स्वतन्त्र विचार जोडिन्थे। -बाबुराम आचार्य

“जब मानिस केही गर्न सक्तैन, फेरि केही नगरेर पनि सक्तैन तब त्यो कविता गर्दछ। बोली नफुटेको शिशु जुन प्रकारले रुन्छ त्यैनिम्ति अशक्त सुधारवादी कविता गर्दछ। कविको संसार अर्कै हुन्छ, पहिलेका कविहरूले स्वर्ग बनाउन सके किनभने उनीहरूले त्यस समयमा सहृदय दक्ष धेरै अनुयायी पाएका थिए।” -बालकृष्ण सम

“म कवि होइन, कविको सहयोगीमात्र हुँ। मेरो भित्र कवि छ। कुन ठाउँमा छ भन्न सक्दिनँ। कहिले, कहाँ, कसरी, किन उसले मलाई कविता लेख्ने आदेश दिन्छ, त्यो पनि म भन्न सक्दिनँ। जहाँ पनि, जैले पनि, यहाँतक कि मध्यरातमा मस्त निदाइरहेको बेलामा समेत अकस्मात् ब्युँझाएर मलाई कविता लेख्ने आदेश दिन्छ, त्यो मैले पालन गर्नुपर्छ, गरेकै पनि छु।” – भीमनिधि तिवारी

“मेरा प्रशंसक पाठक तथा अन्य पाठक र समीक्षकलाई एउटा भ्रम के परेको छ भने मेरा सिर्जनात्मक वृक्ष सुकिसकेको छ। त्यस्तो भ्रम पर्नु स्वाभाविक पनि हो। ‘घुम्ने मेचमाथि’ को प्रकाशनपछि मेरा रचना प्रकाशित रूपमा देखापरेनन् जसका कारण छन्- प्रथम कारण म लेख्नका लागि लेख्नमा विश्वास राख्दिनँ। त्यसो गरेको भए अहिलेसम्म मेरा कम्तीमा तीन/चार कवितासङ्ग्रह प्रकाशित भइसक्थे। तर, ‘घुम्ने मेचबाट मैले जुन किसिमको प्रसिद्धि र लोकप्रियता प्राप्त गरेँ र उक्त कवितासङ्ग्रहका केही कविताद्वारा मैले स्तरीयताको जुन शिखर आरोहण गरेको थिएँ त्यसपछि सम्भव भएमा सोभन्दा अग्लो शिखर आरोहण गर्न चाहन्थेँ। त्यस्तो गर्न नसके कम्तीमा त्यही शिखर हाराहारीका कविता सिर्जना गर्न चाहन्थेँ। जुन सम्भव भएन। त्यसैले म निकै लामो समय साहित्यमा असक्रिय हुन पुगेँ।” – भूपी शेरचन (२०४४/०२/०१)

केही सेवाभावले, त्याग भावले नेपाली भाषा साहित्यमा सेवा गर्न सकिन्छ कि भन्ने प्रेरणा मनमा लागेर कविता क्षेत्रमा लागेको हुँ। यसबाट प्राप्त गर्नु भन्ने सट्टा यसलाई निःस्वार्थ गर्नु निःस्वार्थ दान गर्नु आज साहित्य सेवा गर्नु भन्ने सत्य छ। बौद्धिक लगानी शून्य नेपाली साहित्य जगत्मा केही गर्छु, केही साधना गर्छु भन्ने कवि, लेखक कसैले पनि त्यही शून्य प्राप्तिबाट सहर्ष साहित्यको सुरुवात गर्नुपर्छ। -मोहन कोइराला (२०४४/०१/२५)

“आफ्नो मनमा भएको साहित्य सौन्दर्यको छापाअनुसारको काव्य ननिस्कँदा मानसिक लोभ उब्जन्छ र यसकै परिणामस्वरूप आलोचकले काव्यमा देखिएको त्रुटी जाहेर गर्छ। त्यस्तो मनोवैज्ञानिक कारणले गर्दा आलोचकले काव्यमा खोट निकाले त्यसको के कसुर भन्ने विवाद न हामी बुझ्छौँ, न बुझ्न नै चाहन्छौँ। हामी छौँ प्रशंसातुर प्रशंसाको पिछामा हामी छौँ। आलोचक र आलोचनाको चौतर्फी अध्यक्षता गर्ने हामीलाई दरकार छैन। भर्सेलै परोस् त्यस्तो रौँचिरा अध्ययन।” -रामकृष्ण शर्मा

“कुनै परिभाषा, मान्यता वा वादलाई अघि राखेर मैले कविता कहिल्यै लेखिनँ। जिन्दगी जिउनेक्रममा आइपरेका मधुर क्षणलाई समाल्ने प्रयासमात्र गरेको छु, जो कतै बारुद गन्हाएका छन् त कतै फूल मगमगाएका छन्।” -हरिभक्त कटुवाल

“कुन्ठा, विद्रोह, अवरोध, उच्छृङ्खलता नै मेरा कविताका साधन छन्। वास्तवमा युगबोध नै आधुनिक कविताको प्रेरणा स्रोत भएकाले कविताका साधन उपर्युक्त हुनु कुनै नौलो कुरो होइन । – हरिहर शास्त्री (साहित्यकार परिचय र अभिव्यक्ति ने.रा.प्र.प्र. २०५४)

शनिबार, गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *