Skip to content

त्यो तारेभीर

  • by


‘यिनीहरूको आमा नभएर के भो त म नै आमा म नै बाबा बनेकै छु क्यारे ! ल हेर्नुस् त बिहानै यिनीहरूसँगै म त्यो डाँडा देखि झरेकै हुँ । बिहान एक्छिन् उसु खेल्छन्, त्यसपछि ट्युसन् अनि त्यसपछि स्कुल जान्छन् । भरे चाँहि साथीहरूसँग फर्किन्छन् ।” बडो शानका साथ कमानसिंह आफ्ना साथीभाइसँग भन्दथ्यो दुई छोराहरूलाई अघिपछि राखेर । यसो भनिरहँदा उस्को आँखाहरू भने फिटिक्कै साथ दिदैन्थ्यो । गम्भिर देखिन्थे ती जोर नयन । कता कता आफ्नो जीवनसंगीनीको अभाव त्यो निलो दहमा छचल्किन्थ्यो । बोलीमा ऊ जति नै कठोरता प्रस्तुत किन नगरोस् भावहरू मुहारभरि सल्बलाईरहन्थ्यो स्मृतिका कथा व्यथाहरू बोकेर । यस्तो लाग्थ्यो मानौ ऊ भित्र पीडाहरूको ज्वारभाटा उम्लिरहेकोथ्यो जसलाई उसले कहिल्यै मौखिक रुपमा अभिव्यक्त गरेन ।

जोरपाटीबाट सुन्ताखानको मन्द मन्द उकालो हुँदै पुगिने त्यो ठाडो भिरमा बसेको रमणीय बस्ती तारेभीरको रैथाने कमानसिंहको बिहे सानैमा भएको थियो । यस्तै १७, १८ को हुदों हो गाउँकौ श्रीसानीसँग उन्को विवाह हुदाँ । बाबुआमाको एक्लो छोरो, वंश धान्ने निहुँमा गरेको बिहे भएता पनि कमानसिंह श्रीसानीलाई औधी माया गर्दथ्यो । खुबै मिलेको थियो तिनीहरूको जोडी । आफ्नै प्रसस्तै जग्गाजमिन भएकोले उन्निहरू कहिल्यै अर्काको बनिबुतो गर्न गएनन् । तर आफ्नै खेतबारीमा भने खुबै मिहेनत गर्दथे । बिहे भएकै वर्ष श्रीसानीले छेवाङलाई जन्माएकी थिई । कम्ता कष्ट भएन छेवाङ जन्मिने समयमा । लगभग आधा घण्टा त श्रीसानी बेहोस भएकी थिई । अत्यधिक रक्तश्राव हुन थालेपछि भने डोकामा हालेर रातारात उन्लाई अत्तरखेलको मेडिकल कलेजमा पुर्‍याईएको थियो । धन्न ढिला भएनछ। अलिक समय लगाईदेको भए सायद श्रीसानी बाँच्दिन थिई । मानो सकिएको रहेनछ क्यारे श्रीसानी होसमा आई । त्यतिबेला कमानसिंहको मुटु भने जोड जोडले उफ्रिरहेको थियो मानौ त्यसलाई अब एक्छिनमा नसमात्ने हो भने शरीरबाट बाहिरै निस्कनेछ ।

उ एकदमै कहालिएको थियो सायद त्यो प्रसव पीडा खपेकी श्रीसानी भन्दा पनि बढी । श्रीसानी होसमा आएपछि कस्तरी अंगालोमा बेरेको थियो कमानसिंहले । श्रीसानी लाजले रातो पिरो भएकी थिई। डक्टर जो नजिकै थियो ।

दिनहरू बित्दै गए । श्रीसानीको स्वास्थ्य स्थितिमा पनि क्रमिक रुपले सुधार आएको थियो । लगभग दुई वर्षपछि एकदिन श्रीसानीले “छेवाङला आबा ङादाम गोर्की आङा याङ्गे मन्जी होइ ।” (छेवाङको बाबा मलाई एउटा नानी पाउने रहर लाग्यो ।) भनिन् ।

तर श्रीसानीको कुरा सुनेर कमानसिंहको अनुहार भने अध्याँरो भएर गयो । ऊ केही बोलेन । उसलाई सम्झना थियो छेवाङ पाउने समयमा डक्टरले “श्रीसानी अर्को पटक आमा बन्नु खतरनाक हुन सक्छ ।” भनेको र ऊ कुनै पनि हालतमा श्रीसानीलाइ गुमाउन चाहदैनथ्यो । तर श्रीसानीको एकहोरो लिडेढिपीको अगाडी कमानसिंहको केही चलेन । अन्तत: श्रीसानीले माघको त्यो चिसो रातमा दोश्रो सन्तानको रुपमा ग्याल्बोलाई जन्म दिईन् । छोरी पाउने रहर गरेकी थिइन् श्रीसानीले तर छोरो जन्मिएको थियो । यद्यपि ती जोडी खुसी नै थिए । तर त्यो खुसी धेरै बेर त्यहाँ अडिएन । एउटा सानो छिद्रबाट पसेको खुसी ठूलो ढोकाबाट गिज्याई गिज्याई निस्केर गयो । त्यो ठण्डीले कट्कटिएको रात सारा बस्ती मस्त तातो न्यानो सिरकभित्र निदाईरहँदा श्रीसानी भने बेजोड्ले दाँतहरू बजाएर किट्किटाउँदैथिन् । उन्को हालत हेर्न लायकको भएको थियो । विस्तारै विस्तारै वेहोसीको गर्तमा पुगिन् । आँखाहरू पनि फुस्रा अनि पल्टिएका थिए । कमानसिंह पर्सिएको बोका झै तर्सिएको थियो । के गरौ कसो गरौं भयो । अत्तालिएर घरबाहिर निस्किएर वरिपरि छिमेकी गुहार्न थाल्यो । एकैछिन्मा मानिसहरू भेला भए । अस्पताल लैजानलाई डोका नाम्लाको व्यवस्था गरे । तर बिडम्बना अस्पताल पुग्दा नपुग्दै श्रीसानीले धर्ती छाडिन् । उन्को श्वासप्रश्वास बन्द भएको थियो । त्यतिखेर सम्म पनि श्रीसानीको हातले कमानसिंहको जरिकोट समातिरहेको थियो । श्रीसानीको मृत्युसँगै कमानसिंह डाँको छोडेर रोएको थियो । त्यसरी केटा मान्छे बिरलै रुन्छन् । सायद आफ्नोको विछोडमा त्यति बिघ्न पीडा हुँदोरहेछ ।

साँच्चै कमानसिंहको धर्ती भासिएको थियो । सुन्दर वगैचाँ उजाडिएको थियो । कमानसिंहको लागि त्यो पाखो बारी र गहुँको बाला बयली खेल्ने खेतहरू मरुभूमिमा परिणत भएको थियो । यही मरुभूमिमा कमानसिंहको दुईवटा सुन्दर फूलहरू फुल्दै थिए । तिनै फूलहरूको स्याहार सुसारमा कमानसिंह तल्ल्लिन हुनुपर्ने भएको थियो । आखिर श्रीसानीको अन्तिम निशानी भनेकै ती फूलहरू थिए । त्यसैले ऊ ती फूलहरू फक्राउन मलजल, गोड्मेल र सिचिंत गर्न तिर आफूलाई एकाग्र गर्न थाल्यो । समयको वहाबसँगै उसले आफ्नो आँखामा छुट्टै सप्नाहरू भर्न थाल्यो । पढेलेखेको, जागिरे छोरा, सुशील बुहारी, केही केटाकेटी आँगनमा, यस्तै यस्तै स-सानो सप्नाहरू साँच्न थालेको थियो ।

त्यसैले त ऊ सबेरै छोराहरूसँगै त्यो एक घण्टाको ओरालो ओर्लेर बजार आउँथ्यो । छोराहरूको रहर पूरा गर्न उसु सिकाउने ट्रेनिङ् सेन्टर पुग्थ्यो अनि १० बजे स्कुल पुर्‍याईराखेर आफू फेरि त्यही उकालो असिन पसिन हुँदै घर पुग्थ्यो । घर पुगेर त्यो थकित शरीरलाई एकैछिन पनि लडाउन नपाई आगो फुक्न भान्छातिर पस्थ्यो । खाना खाईवरी धन्दा सकाउँदा त घामले शिर टेकिसकेको हुन्थ्यो । बल्ल ऊ सुस्ताउँथ्यो । गोठमा बाँधिएको एक हल गोरु र बाख्राहरू डुक्य्राउन र छटपटाउन थालेपछि भने ऊ जुरुक्क उठेर सबै वस्तुभाउ फुकाएर हँसिया र नाम्लो बोकेर लाग्थ्यो त्यो तारेभीरको डाँडातिर । वर्षौं देखि उसको दिनचर्या यस्तै थियो। बेलुका भने छोराहरू साथीभाइसँग घर आईपुग्थ्यो ।

उमेर छदैंमा स्वास्नी मरेकी हुदाँ दोस्रो विवाह गर्न उक्साउनेहरूको हुल आउँथ्यो कमानसिंहको घरमा । तर कमानसिंहले कहिल्यै दोस्रो विवाहको लागि स्वीकारोक्ति जनाएन । वास्तवमा ऊ तृप्त थियो श्रीसानीको प्रेमले । अचाक्ली कचकच गरेपछि भने कमानसिंह शिरको टोपी फ्यात्त भुईंमा फालेर टाउको कन्याउँदै घर मास्तिरको तारेभीर हेर्दै फिस्स हाँसेर “अँ गर्नु पर्ला ऊ त्यही डाँडोमा पुगेपछि । श्रीसानी पनि त त्यही छे ।” भन्थ्यो । त्यतिखेर भने ऊ गम्भिर मुद्रामा देखिन्थ्यो । त्यही माथि त थियो श्रीसानीको चिहान । ऊ देख्दथ्यो श्रीसानी त्यही भीर पहरामा आज पनि घाँस दाउरा गर्दैछे, टाउकोमा रातो रुमाल बांधेर गीत गुनगुनाउँदैछेअनि कमानसिंहलाई देखेर बडो मज्जाले खित्खिताएर हाँस्दैछे । वास्तवमा त्यतिखेर कमानसिंह मुसुमुसु पनि हाँसिरहेको हुन्थ्यो । तर जब ऊ कल्पनाको आकाशबाट वास्तविकताको धरातलमा ओर्लिन्थ्यो तब भने अत्यन्तै दुखित देखिन्थ्यो । सायद श्रीसानीको मायाले लफ्रक्कै भिजाएको शरीर खस्रो तावलले नियतिले पुछिदिएको थियो ।

श्रीसानीकै यादमा सारा जीवन निछावर गर्न तम्तयार कमानसिंह आफू जति नै दुखे पनि छोराहरूलाई भने हँसिलो रसिलो देखाउन सकेको कोशिस गर्दथ्यो । पढ्छु भनुन्जेल पढाईदिए । ठूलो भएपछि भने बजारमै बसेर पढे तिनीहरू । आवश्यक राशन पानी, लत्ताकपडा, कलेजको फि सबै कमानसिंहले भर्ताल गरेकोथियो । आखिर उसको सप्ना जो पूरा हुन गैरहेको थियो । अब दुईचार वर्षमा ठूलो छोराको बिहे गरिदिने, घर बसाईदिने, घरधन्दा सघाईदिने बुहारी आउँछे, स साना नाता नातिनीसँगै गाउँ घुम्ने यस्तै यस्तै ।

समय र उमेरको तकाजासँगै कमानसिंहको कपाल तिलचामले भएकोथ्यो । बुढ्यौलीले समातिसकेको थियो । उमेर त यस्तै ४५ जतिको भाकोथ्यो । गाला भासिएर खोपिल्टा पर्न शुरु गरेको थियो । सायद जवानीमा बढी घामपानी सहेकोले होला ऊ आफ्नो उमेर भन्दा लगभग १५ वर्ष जति नै बढी पाको देखिन थालेकोथ्यो । यदयपी ऊ सानो बालक जस्तै खुसी रहन्थ्यो ।

जीवन सोचे जस्तो नभए पनि के त्यान्द्रा तुन्द्री आशाहरूमा झुण्डिएर बाँच्दैथ्यो । तर उसको त्यो आशाका लहराहरू थामिनसक्नुको भारले चुडिंएर गयो । नसोचेको पलहरू उसले व्यहोर्नु परेकोथ्यो । दुवै छोराहरू पढ्न भनेर विदेश भासिका थिए । “सन्तानकै लागि त हो साँचेर राख्नुपर्ने सम्पती । यही सम्पती उनीहरूको लागि काम लाग्छ र आवश्यक छ भने उनीहरूले भने जस्तै वेचिदिन्छु र विदेशमा पढ्न जाने रहर पूरा गरिदिन्छु ।” भन्ने सोचले कमानसिंहले बेसिंको खेत पुरै वेचिदिएको थियो । खेत वेच्ने समयमा कागजमा सही गर्दा भने उस्को गला अवरुद्द भएको थियो, हातहरू कामेको थियो । आँखाहरूबाट वर्षे भेल बगेको थियो । तर पनि छोराहरूको जीन्दगी सप्रिन्छ भन्ने सोचेर मुटु बलियो बनाएको थियो ।

दुवै छोराहरू विदेशिए पछिका दिनहरू भने कमानसिंहलाई बडो कष्टकर लाग्न थाल्यो । आजभोली गर्दागर्दै दिनहरू फेरि बित्दै गयो । छोराहरू फर्किएला अनि आफूले सोचे जस्तै सुन्दर घर सजाउलान् भन्ने आशामा कमानसिंहको रात अनि दिन बित्न थाल्यो । तर बिस्तारै बिस्तारै अकल्पनिय परिवर्तनले कमानसिंहमा हलचल ल्याउन थाल्यो । पहिले पहिले त पालै पालो छोराहरूले फोन गर्थे । तरपछिपछि भएपछि फोन आउन पनि बन्द हुन थाल्यो । सायद व्यस्त होला भन्ने सोचेर आफ्नो मनलाई सान्त्वना दिन्थ्यो । यस्तोमा ऊ श्रीसानीलाई सम्झेर रुन्थ्यो । साथै ति दुई सुन्दर फूलहरूलाई पनि सम्झन्थ्यो जसले आफूलाई फुलाउने मालीलाई बिस्तारै बिस्तारै बिर्सेर गएको थियो । एकदिन अचानक ठूलो छोराको फोन आयो । हर्षले विह्वल भएर कमानसिंहले फोन उठायो र भन्न थाल्यो “बाबु अब घर आईजो। बिहे गर । म एक्लै छु भन्ने नबिर्सी ।”

“बाबा मैले यहीको नागरिकता पाएँ । अब म घर फर्किन्न । सानो भाइले पनि यतैको केटी बिहे गरेको छ । ऊ पनि फर्किदैन सायद । तपाईँ पिर नगर्नुस् । हामी तपाईँलाई रासन पानी भर्छौ यतै बसेर पनि ।” ठूलो छोराको यति कुरा सुनिसक्दा कमानसिंहमा हलचल गर्ने शक्ती लगभग हराईसकेको थियो । ऊ जडवत भएको थियो । बिस्तारै थर्थराएका हातहरूले फोन राख्यो ।

त्यसपछि केही दिनहरूमा उस्ले केही खाएन, कसैसँग पनि बोलेन, घरवरपर कहिं कतै गएन । बस् पिँढीमा एक्लै बसिरहन्थ्यो । वल्लोघर पल्लोघरकाले आएर नसम्झाएको पनि हैन । सबैले आश्वासन दिन्थे “भैगो नि उनीहरू उतै बस्छन् भने बसुन् न पैसा पठाइहाल्छन् । बुढ्यौलीमा बसी बसी खानु नि । के को पिर सुर्ता लिएको ।” भनेर । साँच्चै कति पय बाबुआमा यसै गरी आफ्नो जीवन बिताईरहेका थिए तर कमानसिंहलाई त्योसँग सरोकार थिएन । उसलाई पैसा भन्दा पनि आफ्नोको न्यानो साथ, ओत अनि ईज्जत चाहिएको थियो जुन कुरा आफ्नै छोराहरूले त बुझ्न सकेनन् अरुले झन् के बुझ्थ्यो? ऊ वेदनाको स्वरहरू उराल्न चाहन्थ्यो तर सुनिदिने कस्ले? सारा जीवन विउँझिएर देखेका सप्नाहरू भेट्न चाहन्थ्यो तर लगिदिने कस्ले? धेरै ठूलो पनि थिएन उस्को सप्ना, आशा । यदयपी तिनै स साना सप्ना पूरा नहुदाँ उस्मा वितृष्णा पैदा भएको थियो । धुम्म बादल जस्तै भैईरह्न्थ्यो जतिखेर पनि वर्षिन सक्ने ।

श्रावणको महिना थियो । रातैभरि पानी परेकोले वातावरण धुमिल थियो । चिसो चिसो त्यो बिहान कमानसिंह खुर्पा र नाम्लो भिरेर तारेभीर चढेकोथ्यो ढोकामा बडेमानको ताल्चा लगाएर । सायद गाईवस्तुलाई घाँस सोत्तर लिन गए । तर त्यो दिन ऊ फर्किएन । भोलिपल्ट पनि फर्किएन । पर्सिपल्ट पनि फर्किएन । अहँ, कमानसिंह कहिल्यै फर्किएन । मानिसहरूले अनुमान लगाए “सायद आत्महत्या गर्‍यो, सायद बाघभालुले खायो, सायद…………………” यस्तै यस्तै । तथ्य कुरा कसैलाई पनि थाहा थिएन।

“कमानसिंह कहाँ गयो? उसँग के भएकोथ्यो ?” यी सब प्रश्नहरूले त्यहाँको मानिसहरूमा कौतुहलता पैदा गराएको थियो । प्रश्नहरूको जङ्गल खडा भएकोथ्यो तर यसको सही उत्तर कसैसँग पनि थिएन । यसको उत्तर त कि अदृश्य रहने भगवानलाई थाहा थियो कि त त्यही तारेभीरलाई थाहा थियो जस्ले कमानसिंहलाई आफ्नो गर्भमा लुकाएको थियो

आज पनि ऊ अज्ञात हुनुको रहस्य गर्भमै राखेर तारेभीर अझै ठडिएकै छ । कमानसिंहको घरको ढोकामा त्यो ठूलो ताल्चा अझै झुण्डिएरहेकोछ । सायद कमानसिंहको प्रतिक्षामा त्यो ताल्चा कुरिरहेछ वर्षौं कमानसिंहले आफ्नो छोराहरूलाई कुरे जसरी ।

बिना तामांग ‘सुनागाभा’

Leave a Reply

Your email address will not be published. Required fields are marked *