Skip to content

सपनाहरू त हो नि … साँच्चै जिन्दगी


सपनाहरू बुनेर निरन्तर
भविष्यको खोजीमा
विविध जिजिविषाहरू माझ
आज यो बिक्षिप्त जिन्दगीको
अनवरत लेखिरहेछ इतिहासहरू
धरोहरहरूको रक्षार्थ आफूलाई
पटक पटक अन्न बिचको घुन बनाइरहें
फराकिलो हिड्न सकिन कहिल्यै
स्वतन्त्रताको किल्लामा झण्डा
कहिल्यै उचाल्न सकिन
उज्यालो घाम भित्र पनि
बाक्लो कुहिरो अनि बादलले
मेरो सुर्यलाई मलिन बनायो
कति पटक त ग्रहण लागेर
मेरो सूर्यलाई आकाशमा खग्रास निल्यो
तर पनि यो खण्डहरभित्र जीवन पलाई रह्यो
आशाको दीप ज्योति टिम टिमाई रह्यो
अनवरत भविष्यको लाममा
सपनाहरूको खोजीमा

अतृप्त मनहरू अविरल बग्ने खोलाहरू झैं
अनन्तसम्म बगिरहे /बगिरहेछन्
आशाको दियो सँगै केही परसम्म
तर ,
निराशाको चिसो सिरेटो ले कहिल्यै छोडेन
शिशिरमा मैले सिरकको साटो
त्यसलाई ओढिरहेँ
बर्खाको भेलमा धमिलो पानी सँगै बगाई रहें
प्रचण्ड गर्मीहरूमा पसिनासँगै
मैले त्यसलाई साट्दै गएँ
सपना सजाउने रहरहरूमा
बन्धक बसेर ऋणी भई रहें भई रहें
निलो आकाश सुनौलो क्षितिज् खोज्दै
कति कति सपनाहरू बुनिरहेँ /बुनिरहेछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *