Skip to content


एकसरो जिन्दगी बाँचेर
बन्धकी खुशी हाँसेर
किस्ताबन्दीमा तिर्दैछु
मोनालिसा मुस्कानहरू
बाँच्नु यौटा जिजीबिषा
हाँस्नु अर्को अभिष्ट
उभिएर यसैको दोसाँधमा
फुकिरहेछु ट्राफिक सिट्टी
अलकत्रले छोडेको सडकजस्तै
अलपत्र जिन्दगी
पञ्चर भएर जेब्राक्रसमा !

बाँचेर एकसरो जिन्दगी
हाँसेर खुशीहरू बन्दकी
अँह ! टाँस्न सक्तिनँ म-
मेनालिसाको ओठमाथि
साल्भाडोर जुँगा
र, सक्तिनँ सिउरन
मन फूलको थुँगा
खसेर ल्याम्पपोष्टको चिम
बज्रिँदा टाउकोमा
आउने छैन
साइरन बजाउँदै एम्वुलेन्स !

आफ्नै घरको भोक उमाल्न
कति दिन माग्नू पल्लोघरको आगो
सधैं ऐँचो पैँचो हुन्न रै छ जिन्दगी
एकसरो जिन्दगीको क्यानभासमा
गोधूलि मिसाएर बादलमा
कोप्दैछु यौटा छुट्टै कोलाज
आउ एकछिन गाउँ
चलाएर औंलाभरि विथोविन
मैन उज्यालोमा
नगाईको जीवन गीत !

उकाली आराली गर्दा
कुटो कोदाली गर्दा
सोध, पक्कै सोधे खेतालहरुले
एकसरो जिन्दगी थेग्न
दुईसरो नाम्लो –
पढ्नु मेरै तालुमा पढ्नु
होईन अखवारको हेडलाईन
बेच्ने छैन हकरले
मेरो फोटो छापिएको पत्रिका
जिन्दगीको मेलोमा
मैले पर्म लाको मान्छे
तिमीले पढे पुग्छ –
बँचेखुचेको एकसरो केरमेट जिन्दगी !

मधुपर्क, २०६९ असार

Leave a Reply

Your email address will not be published. Required fields are marked *