Skip to content

तीजको गीत
चूडा निर्भीक
नेता जति जो आए नि, देश्को विकाश भएन
जनताको दूखदर्द, क्यै गर्दा नि, शान्त भएन ।
कोही भन्छन् प्रजातन्त्र, कोही गणतन्त्र रे
जुन तन्त्र आएपनि, विकासको छैन मन्त्र रे ।
सबै पार्टी उस्तै रैछन् , भ्रमको खेती गरेछन्
सीधासाधा जनता, महँगीका मारमा परेछन् ।
कहिले शोषे राणाले, कहिले शोषे राजाले
हिजोआज दश् जना नेताले, चुसिराछन् मजाले ।
कोही भनुन् राष्ट्रवाद, समानता समाजवाद,
शोषितपीडीत जनतालाइ, छैन कुनै स्वाद ।
देश्को विकास भएन, शान्ती पनि आएन,
रुखोसुखो खाई जनता, ढुक्क भई बस्न पाएन ।
नेपालीका छोराजति; मलाया, कोरिया, अरव र कुवेत,
जनशक्ति विक्रीबाट रेमिट्यान्स् ,लिने कस्तो रैछ भेद ।
महिला दिदी वैनी पनि पुगे, इजरायल र साउदी ,
हत्या हिंसा वलात्कारले, सबैतिर फैल्यो त्रासदी ।
दाईजो रुपी राक्षसले, देशभित्रै नारीहरु प्रताडीत्
नारीपुरुष बराबरी भन्ने पनि, नारामै रैछ सीमित ।
कहाँ गयो नैतिकता, कता गयो सदाचार
माथिदेखि तलसम्मै सबैतिर , बढ्यो भ्रष्टाचार ।
यो तीजले नेपालका, नेता जति सबैलाई
ज्ञानवुद्धि, सद्वुद्धि, सद्विवेक, देओस् बरिलै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *