Skip to content

च्याब्रुङ र सम्झनाहरु

  • by


अँगेनोमाथि धूवाँको मोसोले खाएको च्याब्रुङ -ढोल) र ढ्याङ्ग्रो । छेउमा पुरानो नेसनल पानासोनिक रेडियो । चुल्होमा थुपारिएको दाउरा छेउ राघे बिरालो आँखा तिखारिरहेको छ । हालैको दिन सोलुखुम्बुको दुर्गम मैदेल गाउँवासी ६३ वर्षे कवीरमान थुलुङको घर पस्दा एकैपटक यी दृश्य देखियो, ग्यालरीमा झुन्ड्याएको पूर्ण कोलाज चित्रजस्तै ।

सल्लेरीबाट दूधकोसी किनार झर्दै गर्दा बाटामा गाई-बाख्रा चराइरहेका थिए कवीरमान । दौरा-सुरुवाल र कम्मरमा खकुरी भिरेका राईसँग किराँत संस्कृतिबारे कुरा थालियो । जब किराँत गीतको कुरा निस्कियो, च्याप्प हात समातेर छेवैका घरतिर लगे ।

‘यो च्याब्रुङ देख्नु भो नि’ खरले छाएको मझौला घर, पालीमुनिबाट निहुरिएर भित्र पस्नासाथ कवीरले भने- ‘२४ वर्षको लम्का जवान हुँदा मैले बनाएको । गाउँमा अरूलाई आउँदैनथ्यो ।’ उनको आवाज सुन्नासाथ चुल्होछेउ बसिरहेको बिरालो तर्सिएर झ्यालबाट हामफाल्यो ।

‘तिनताक खुब उधौली-उभौली नाचिन्थ्यो,’ दलानमा निस्केर चकटीमा बसेपछि कवीरले भने । बूढीआमै सुँगुरलाई चारो खुवाउँदैथिन् आँगनछेउ । ‘नेलेमा हाट लाग्थ्यो । खुब गाइन्थ्यो’ बूढी औल्याउँदै उनले भनिन्- ‘यिनी गीत मन पराउँथिन् ।’ २४ वर्षको उमेरमा झाँक्री बनेपछि चाहिँ थुलुङ बढी कर्मकाण्डीय भएछन् ।

अहिले कवीरमानसँग फगत सम्झना छन् । च्याब्रुङ र ढ्याङ्ग्रो बजाउँदै नाचेको । चण्डीनाचमा हूल बाँधेर खुट्टा हल्लाएको । अनेकतिरबाट निम्तो आएको, अनि तीन दिनसम्म नाच्दै देउसा गाउँ पुगेको । सिमे-भुमे पूजादेखि सामान्य कार्यमा पनि निम्तो आउँथ्यो ।

बाजा त धूवाँले खाएछ नि ? कवीरमानले एकछिन गम खाए । सायद बितेका दिन सम्झँदै छन् । मौवाको काठमा कुँदेर ढोल बनाएका दिनहज्ञ । चण्डी नाच्न आँगनमै आएका दौंतरीहरूको धूमिल आकृति । तल्ल्ााघरे साइँला बेलायत छन् । तीन छोरामध्ये दुई भारत पन्जाबको चण्डिगढमा अनि एकचाहिँ लुक्लामा भारी बोक्न । ‘कसले बजाउने अब ढोल ?’ उनी गम्भीर भए- ‘तन्नेरीहरू सबै बाहिर । गाउँ बसेकाले वास्तै गर्दैनन् ।’

कवीरमान स्वयंले ती बाजा नबजाएको पनि वषौर्ं भएछ । गाउँमा तामाङ, गुरुङ र राई समुदाय छन् । गुरुङलाई लाहुरे संस्कृतिले हङकङ, सिंगापुर र बेलायत पुर्‍याइदिएको छ भने, राई र तामाङहरू पनि पर्यटन र कमाइ-धमाइका अन्य व्यवसायले गाउँबाट बाहिरी सहर र मुलुकतिर धकेलिदिएको छ । सक्नेहरूले छोराछोरी काठमाडौंको बोर्डिङ र प्लस टु पढाएका छन् । गाउँमा पढ्नेहरूले दशक लामो द्वन्द्वका कारण सांस्कृतिक शून्यता बेहोरे । कवीरमान एक्लैले के गीत गाउनु ?

त्यो दुर्गम मैदेलमा डा. अभि सुवेदीको नाटक ‘आरुका फूलका सपना’ को सम्झना भयो । संस्कृतिका स-साना टालामा सपना बेरेर बेच्नेहरूको भीड । कलात्मक झ्याल, भृकुटी र कुमारीको तस्बिर अनि शिवलिंग र थाङका चित्र सबै पैसा बन्छन् सहरमा । ती सडक किनार, दरबार स्क्वायर अनि ठमेलका डिलहरूमा रुमाल थापिरहेका हुन्छन् । गाउँमा त कवीरमानहरूको मनमा अमिट छाप र सम्झना भएर कुँदेको हुन्छ संस्कृति ।

‘यही च्य्राब्रुङ र ढ्याङ्ग्रोसँग जुनी बित्यो’ कवीरमानले फेरि विगतका याद जोडे- ‘फुर्सदमा गाउँलेहरू यही आँगनमा भेला हुन्थ्ो । जूनेली रातमा अबेरसम्म हामी थुलुङ्गे गीत गाउँथ्यौं । उनी -पत्नी) चाहिँ चिउँडोमा हात राखेर सुन्दै बस्थिन् यही डिलमा ।’ बूढाको कुराको प्रतिक्रियास्वरूप बूढीले दाँत झरेकाले स्पष्ट नसुन्ने बोलीमा थुलुङ भाषा बोलिन् । ‘उमेरको कुरा के गरिराख्या भन्छ नि’ कवीरले थुलुङ भाषालाई नेपालीमा बदले ।

अघिल्लो साँझ मात्रै सिंगापुरमै जन्मी-हुर्केकी र २० वर्षपछि पहिलोपटक गाउँ आइपुगेकी मेनुका गुरुङ भेटिएकी थिइन् मैदेलकै गुरुङ गाउँमा । धारामा हात धुने क्रममा चिनजान भएपछि उनले अंग्रेजीमै भनिन्- ‘प्लिज कम टु ह्याभ डिनर टु नाइट इन माई ग्रयान्ड मदर्स हाउस ।’ साँझ उनकी हजुरआमाको घर पुग्दा मकैको फूलबाट स्वागत मिल्यो । सिंगापुरे नातिनी मीठो खानेकुराका लागि आग्रह गर्दै थिइन् ।

‘लौ गीत गाउँ’ साँझ तिनै नातिनीले अघि सरिन् । नयाँ पाहुनाको स्वागतमा दलानमा भेला भएकाहरूले पनि आग्रह गर्नथाले- ‘हो हो, यो खुसियालीमा गीत गाउनैपर्छ ।’ प्रसंग नफुत्काउन हामीमध्ये कसैले चलाखी गरे- ‘हामी त गाउँको गुरुङ गीत सुन्न पो चाहन्छौं । लौ गाइदिनुपर्‍यो ।’ यही बेला भित्रबाट थालीभरि मकैका फूल लिएर आउँदै गरेका हजुरआमा बोलिन्- ‘त्यो त उहिल्यैको कुरा । हामी कोदो रोप्दै गुरुङ गीत गाउँथ्यौं । अचेलका ठिटा-ठिटीलाई त आए पो । भाषा त आउँदैन ।’

‘तपाईहरूले गाउने गीत कस्तो हुन्थ्यो हजुरममी’ अंग्रेजी पाराको जिब्रो बर्टार्दै नातिती मेनुका बोलिन्- ‘त्यो रेसम फिलिलिजस्तै हो ।’ सबै गलल हाँसे । आफूलाई भाले गुरुङ भनेर चिनाउने र ठट्टा रुचाउने -साइनोमा युवतीका काका) लाहुरेले प्वाक्क बोले- ‘हाम्रो फोक सङ क्या फोक सङ ।’

‘या…आई नो..एन्ड आई रियल्ली लाइक फोक सङ क्या’ नातिनीले फेरि जिब्रो बटार्दै बोलिन् । ठ्याक्कै टुरिस्टले राजधानीको कुनै ग्यालरी या दरबार स्क्वायरतिरका क्युरियो बेच्नेलाई भनेजस्तै । ‘आरुको फूलका सपना’ नाटकमा गाइड पात्रलाई टुरिस्टले आश्वासन दिएजस्तै । विश्वव्यापीकरणको यो युगमा संस्कृति र सम्पदाहरू यसरी नै पैसामा रूपान्तरण भइरहेका छन् र तर पुस्तामा हस्तारन्तरण भइरहेका छैनन् । सम्भवतः हाम्रो संस्कृतिको नियमिततामा विश्वव्यापीकरणले ल्याएको यो क्रमभंगता हो ।

कवीरमानहरू बाटैबाट आगन्तुकलाई तानेर आफूले वर्षौंअघि बनाएका च्याब्रुङ र ढ्याङग्रो देखाउन खरको छाप्रोमा लैजान्छन्, उधौली-उभौलीको सम्झनामा टोलाउँछन्, मेनुकाहरू जिब्रो बटारिएको बोलीमा संस्कृतिको मोलतोल गर्छन् ।

कवीरले आफ्ना छोराछोरी गाउँ नबसेको र संस्कृति हराएकोप्रति निकै गुनासो गरे । उनी फेरि भित्र पसे र च्याब्रुङको तस्बिर लिइदिन आग्रह गरे । तस्बिर लिंदै गर्दा मैले भने एउटा सम्भावित दृश्य कल्पें- कुनै दिन ठमेलको क्युरियो पसलमा कवीरमानको त्यही धूवाँले खाएको च्याबु्रङ र ढ्याङ्ग्रो सिंगापुर या बेलायतबाट फर्केका उनकै नाति-नातिनी पुस्ताले मोलतोल गरिहेको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *