Skip to content

तीज पर्व र चेली माईतीको सम्बन्ध

  • by


हिन्दु नेपाली नारीहरू तीज पर्वलाई बिषेश महत्वका साथ मनाउने गर्दछन । धार्मिक विश्वास, मान्यता र परम्पराको आधारमा नारीहरू आफ्नो पतिको सुख, समृद्धि, सु–स्वास्थ्य र दिर्घायुको कामना गर्दै व्रत बसी पूजा आराधाना र नाचगानका साथ यो चाड मनाउने गर्दछन । तीजमा अधिकांश हिन्दु नेपाली नारीहरू आफ्नो सौभाग्यको कामना गर्दै अन्नपात र फलफूल मात्र होईन, शुद्ध पानी समेत मुखमा नहाली निराहार व्रत बस्ने गर्दछन । धर्म, सँस्कृति र परम्पराप्रति कट्टर आस्था, विश्वास र भरोसा राख्ने स्वाभिमानी चेलीहरू शरीरलाई सास्ती दिएर भोक–भोकै सकि नसकि व्रत बसी पतिप्रतिको भक्तिभाव र गुनगान सधैँ भगवानसँग पुकारी रहनछन । बिशेषत, बुढापाका र कन्याकेटीहरूका लागि भन्दा पनि विवाह गरेर पराई घर गएका चेलीहरूका लागि तीजको छुट्टै महत्व रहेको पाईन्छ । विवाहिता चेलीहरूको रमाईलो भेटघाट र भावना साटासाट गर्ने माध्यमका रुपमा तीज पर्वलाई लिने गरिन्छ । तीजमा विवाह गरेर नौ–डाँडापारीसम्म पुगेकाम चेलीहरू माईती घर आई बर्षभरिका भोगाई, दुःख र पिडाका भावनाहरू गीतका माध्यमबाट ब्यक्त गर्ने गर्दछन । सधैँ भर श्रीमान्को घरको चुल्हो चम्को गरेर जीवन बिताई रहेका चेलीहरू तीजको बेला सबै दिदी बैनीहरू माईतीको घर आगनमा भेला भई जीवनका अदृष्य पिडाहरू एक आपसमा पोखेर मनलाई हलुङ्गो बनाउने गर्दछन । विवाह गरेर धेरै टाढा पुगेका चेलीहरू माईतीको सम्झनामा पिंढी वा आगनको डिलमा बसी कहिले तीज आउला र माईत गएर मनका पिडाहरू पोख्न पाईएला भनेर एक महिना अघि देखीनै माईती लिन आउने दिनको पर्खाइमा दोबाटोतिर आँखाहरू लोलाउँदै सम्झनाका अदृष्य छालहरूले परेली रुझाउँदै हातका औंलाहरूमा दिनहरू गन्दै समय बिताउने गर्दछन । तीजमा माईती आफ्ना चेलीवेटीको घरमा गई डाकेर ल्याउने प्रचलन रहेको छ । व्रतको अघिललो दिन सबै चेलीवेटीहरू माईती घरमा भेला भई राति अबेरसम्म आ–आफ्ना मनका पिडाहरू ब्यक्त गर्दै मिठा–मिठा परिकार बनाएर खाई भोली पल्ट निराहार व्रत बस्ने गर्दछन । यसरी व्रतको अघिल्लो दिन राती खाएको परिकारलाई ‘दर ’ भन्ने प्रचलन रहेको छ । तीजमा व्रत बसेका चेलीहरू बिहानै नुहाई–धुवाई गरी मठ–मन्दिरमा गई शिव पार्वतीको पूजा आरधाना, भजन किर्तन र नाचगान गरी बर्षभरिका पिडाहरू गीतको तालसंगै बिर्सने गर्दछन ।

तीजको बेला कति चेलीहरू माईती गाँउको चोक,आँगन र चौतारीमा भेला भई साथीसंङ्गीसँगहरूको ख्याल ठठ्ठा र लोक दोहारीको सुरिलो भाका अनि मादलको तालसंगै कम्बर मर्काई–मर्काई छमछमी नाच्ने गर्दछन । यसो त कति चेलीहरू माईतीको सम्झना गर्दै मनमुटुलाई जलाएर आँशुलाई पिउँदै बेहोसीमै तीज मनाई रहेकी हुन्छिन । तीज कसैका लागि हाँसो त कसैका लागि आँशु बनेको छ । यतिखेर माईतीका घर आगनमा पुगेका चेलीहरू तीज रमाईलो गरी मनाएका छन, भने घर ब्यावहारको चटारो र सासुको कठोर आदेश पालना गर्ने चेलीहरू तीज रोएरै मनाईरहेका छन । समय अनि ऋतु परिवर्तनसंगै एउटी बालिका तरुण अवस्थामा पुगेपछि तिनलाई सुहाउँदो वर खोजेर कन्यादान दिने चलन परापूर्व कालदेखीनै चल्दै आएको छ । उनले एउटा नयाँ घरमा अपरिचित परिवारसँग आफ्नो भविष्य निर्धारण गर्छिन । भनिन्छ, विवाह पुरुषको तुलनामा महिलाहरूका लागि अति संवेदनशिल कुरा हो । विवाह पछि महिलाहरूमा आमुल परिवर्तन र पारिवारिक जिम्वेवारीक छालहरू आउने गर्दछ । यसो त विवाह पछिको जीवन कुनै नारीका लागि शिशिर पछिको वसन्त त कसैका लागि वसन्त पछिको शिशिर जस्तै उजाड हुने गर्दछ । एउटी चेलीले विवाह अघि माईतीमा जति स्वतन्त्रता र सद्भाव प्राप्त गर्छिन, त्यति नै विवाह पछि पारिवारिक बन्धन र सासुको नजरमा हेलाको पात्र बन्दै जान्छिन । विभिन्न रुप धारण गर्ने नारी समयको परिवर्तनसंगै कुनै बेला छोरी, पत्नी, आमा कुनै बेला बैनी फुपु, साली, बुहारी र सासु हुँदै जीवनचक्रमा जीवन बिताईरहेकी हुन्छिन । हाम्रो समाजमा सासु र बुहारी बिचको विभेद अझै पनि विद्यमान नै छ । सासुले बुहारीप्रति गर्ने अमानविय ब्यावहार अझै हटिसकेको छैन । बुहारीलाई कुकुर भन्दा पनि तल्लो स्थानमा राखेर गाली गर्ने सासु प्रथाको अन्त्य, महिला अधिकार, न्याय र स्वतन्त्रताको जतिसुकै ठूला भाषण र नियमावाली बनाएता पनि ति सबै कागजका पन्ना र नेताका बोलीमा मात्र सिमित छन्, तर ब्यावहारमा भने अझै कायान्वयन हुन सकिरहेको छैन । नारी माथी हुने शोषण र अत्याचारका सन्दर्भमा धेरै मानिसले धर्म,सँस्कृति र परम्परालाई दोष दिने गर्छन । धर्म सँस्कृति त केवल मानिसले नै सिर्जना गरेको भौतिक–अभौतिक स्वरुप मात्र हो । तैपनि आफ्नो छोरासँग विवाह गरेर भित्रिएकी नव विवाहिता अबोध चेलीका अगाडी आफ्नो रवाफ, खानदान र धन सम्पतीको धक्कु लगाउन पछि पर्दैनन् धेरै जसो सासुबज्यैहरू । आफू बुहारी हुँदा भोगेका कुरा आफ्नो बुहारीलाई पनि भोगाउने पुरानो प्रवितिले अझै पनि हाम्रो समाजमा जरो गाडिरहेको छ । अझै पनि कति बुहारीहरू सासुको बुहर्तन सहेर दासी जीवन बिताउन बाध्य भएका छन । समाजका हरेक आमाले आफ्नो छारीप्रति जति माया, ममता र प्रेमभाव दर्शाउँछिन, त्यसको एक चौथाई पनि सद्भाव आफ्नो छोरासँग सहयात्रा गरी घर परिवार र कुलको इज्जतलाई संरक्षण गरिरहेकी बुहारीप्रति दर्शाएको पाईदैन किन ? के यसको मतलब सासु र बुहारी जन्मजातै बैरी हुन भनौ भने पनि कतिपय ठाँउमा सासु बुहारी आमा छारी जस्तै मिलेर बसेका उदाहरण पनि छन । यदी जन्म जात शत्रु हैन भने महिलाले महिला माथी नै शोषण गर्छन किन ? आफ्नो छोरीप्रति प्रेम गर्ने तिनै आमा बुहारीप्रति सासु बनेर आक्रोस पोख्छिन किन ? के बुहारी पनि एउटै परिवारको सदस्य हैन र ? हो भने छोरी र बुहारीमा यति ठूलो विभेद किन ? मैले त केही बुझ्न सकिरहेको छैन ।

विवाह अघि सबै आमाले आफ्नो छोरालाई निकै राम्रो र भलाद्मी देख्छन, चाहे छोरो बद्मास र फटाह नै किन नहोस् । तर विवाह पछि त्यहि छोरो तिनै आमाको नजरमा नजाति हुन्छ । त्यसको सम्पूर्ण दोष नि त्यही अबोध बुहारी माथी नै थुपरिन्छ । यतिसम्म कि विवाह गरेर बुहारी घरमा भित्रिएपछि कुनै त्यस्तो अप्रिय घटना घट्यो भने पनि त्यसको सम्पूर्ण अबदोष सहन बाध्य हुन्छिन विचरा ति चेली । अनि छोराले आमा र श्रीमती बिचको विवाद मिलाउन खोज्दा पहिला माया गर्ने तिनै आमाहरू उल्टै छोरालाई जोईतिङ्गे र नामर्द भनेर गाली गर्ने गर्छन । जतिसुकै शिक्षित र सक्षम घर परिवार भए पनि सासुले आफ्ना अतितका दुःख सम्झेर बुहारीलाई ठुग्ने र हेप्ने गर्छन । उनिहरूको चाहाना बुहारी सधैँ सासुको अन्डरमा रहेर प्राय दासताको बन्दी बनेर बसोस् भन्ने नै हुन्छ । समय र परिवर्तनको रफ्तारसंगै विश्वले नयाँँ–नयाँ प्रविधिको विकाससंगै कोल्टे फरी सकेको छ । सूचना र प्रविधिको विकासले विश्व दिनप्रति दिन साँधुरिदै गएको छ । प्रविधिको विकासले मानव जीवनलाई सुसविधानजक बनाई परिवर्तनका छालहरूसंगै समयले धेरै फड्को मारी सकेको छ । तर हाम्रो समाजमा पहिल्य देखिनै चलेको सासुले बुहारीलाई थिचोमिचो र दुब्र्यावहार गर्ने प्रथा अझै पनि ज्यँकात्यँ रहनु दुःखको विषय बनेको छ । आफ्नी छोरी अर्काकी बुहारी र अर्काकी छोरी आफ्नी बुहारी हुन्छिन भन्ने कुरा बुझ्दा बुझ्दै पनि किन सासुहरू बुहारीप्रतिको आफ्नो रोष प्रकट गर्न छाड्दैनन् ? परिवारमा बुहारी सधैँ दासताको शिकार बनाएर समाजका नजरमा आदर्शवादी नारीको तक्मा भिर्ने सासु बज्यैहरू बुहारी पनि त कसैको छोरी हो भन्ने कुरा एकाइसौ शताब्दीका शिक्षित र चेतनशिल महिला वर्गले अझै किन बुझ्न सकिरहेका छैनन् ? वा बुझेर पनि नजानेको जस्तो गरि बुझ बचाउन खोजिरहेका छन, त्यो त दैव जानुन् । छोरीलाई पिडा पर्दा आफूलाई जुन वेदना उत्पन्न हुन्छ, बुहारीको आँशुमा पनि उसको माइतीको त्यो भन्दा दोब्बर सद्भाव लुकेको हुन्छ भन्ने कुरा सासुहरूले कहिले बुझ्लान् ? अनि बुहारी पनि आफ्नो जन्म घरलाई त्यागेर छोराको जीवनसँग सहयात्रा गरी हाम्रै घरको इज्जतका लागि अहोरात्र खटिएकी एक इमान्दार सिपाही हो भन्ने कुरा बुझिदिन म सबैलाई आग्रह गर्दछु ।

चेलीको माया पनि अपारको हँदो रहेछ जब एउटी चेलीलाई पीडा पर्छ चाड पर्व आयो कि चेलीहरूको आँखामा आँशु बग्न थाल्छ । तीज पर्वमा पनि धेरै चेलीहरू सासुको चर्को आदेशमा आफ्नो माइतीलाई खाली हात फर्काउन बाध्य हुन्छन । मनभरी उब्जेका पिडाहरूलाई संगाल्दै आँखाभरी आँशु छछल्काई दोबाटोसम्म माइतीलाई विदाई गर्न पुग्छिन । असिम पिडा र वेदनालाई मनमनै दबाएर आफ्नी आमा, दिदी बैहिनी र साथी सङ्गीहरूलाई आफु कुशलै रहेको सु–सन्देश सुनाइदिन आग्रह गर्छिन । अनि पूर्पूरोमा हात राख्दै निराश भएर खाली हात फर्किएका माइती डााडापारीको क्षितिजबाट नबिलाएसम्म टोलाउँदै बाटो हेरिरहन्छिन,र घोप्टो परेर वियोगमा भक्कानु पारेर एकान्तमा रुने गर्छिन । माईती पनि आफ्ना चेलीहरू बिनाको चाड पर्व खल्लो मान्ने गर्छन । यिनै सासुहरू पनि विवाह गरेर पराई घर गएकी आफ्नी छोरी तीजमा नआँउदा धेरै दुःखी हुने गर्छन । अनि छोरीले के गरी होला,के खाई होला, कस्ती भई होला ? तीजको बेला एक पटक घरबाट पठाईदिए पनि हुन्थ्यो भन्दै पिरोलिने गर्छन । अनि छारीप्रतिको माया, ममता, स्नेह र सद्भावलाई स्मरण गर्दै निराश भएर तीज मनाउने गर्छन । तर सधैँ घरमा रहेर परिवारको सेवा गरिरहेकी बुहारीको वेदना बुझ्दिनन् यि आमा । कमसेकम आफ्नो छोरीप्रतिको सद्भाव बुहारीप्रति पनि दर्शाइदिए सासुको के नै पो बिग्रन्छ र ! अनि बुहारीलाई छारी समानको ब्यावहार गरे आखिर घरकै भलो हुने हो । आजको समयको माग पनि यही हो –सासुले बुहारीलाई पनि छोरी मानेर उनीहरूले गरेको कार्यको प्रशंसा गर्नु अनि बुहारीले पनि सासुलाई आमा सम्झेर दुःख र कष्टमा सहयोग गर्नु । समाजमा जे–जस्ता विकृतिहरू रहेता पनि त्यसको विरोध गर्दै समय अनुकुल सासु बुहारी मिलेर एक अर्काको सम्मान गर्नु हो । सासुले बुहारीका परि मर्का र वेदनालाई बुझि मेरी छोरी पनि अर्काको घरको बुहारी भएकी छे यो बुहारी पनि त मेरो छारी नै हो, अनि बुहारीले पनि सासुलाई जन्म दिने आमाप्रतिको सद्भाव र माया ब्यक्त गरे कति सुन्दर बन्छ होला त्यस घरको इतिहास र भविष्य । आशा छ यो तीजले सबै सासुहरूले बुहारीप्रति हेर्ने पूरानो दृष्टिकोणलाई परिवर्तन गरी बुहारीलाई आफ्नो घरको लक्ष्मी, कुल र वंशको सेवामा खटिएकी आफ्नै कोखको छोरी सम्झिएर माया,ममता र स्नेहका नजरले हेर्ने छन । अनि बुहारीहरू पनि आफ्नो श्रीमान्को आमा पनि मेरो आमा हुन र आमाको सत्कार र सेवा गर्नु नै मेरो कर्तव्य हो भनेर एक अर्कामा प्रेम भाव र सद्भाव पैदा हुनेछ ।

सबैमा एकताको सु–सन्देश दिई उमङ्गका साथ तीज पर्व सम्पन्न होस हाम्रो पनि सबैलाई शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *