Skip to content

विपनाहरुको उदघोषण


अविश्वासहरूको वीचबाट
म मेरा विश्वासहरूलाई सम्बोधन गरिरहेछु ।
शुन्यताहरूमा उभिएर
पूर्णताहरूको उदवोधन गरिरहेछु ।

खुशीका सिम्फोनी-तालहरूमा
सन्तप्त हृदय डुबाएर –
अचेल म
काँडामा उभिंदै फूलको गीत गाइरहेछु ।
पानीमा रुझ्दै घामको गीत गाइरहेछु ।

परिस्थितिका किनाराहरूमा
उज्यालोको प्रतिबिम्ब खोज्दै हिंडेका
रातहरू जस्तै अँध्यारा भोगाइहरूवीच…
म ठिङ्ग उभिएर समय चपाइरहेछु ।
रापहरूमा शीतलता खोजिरहेछु ।
आवाजहरूमा मौनता खोजिरहेछु ।

प्राय: आफ्नै अनुपस्थितिको
रिक्तताले भरिएका सोचाइहरू औ
वाँच्नुका अभिनव तृष्णाहरूमा
जेलिइरहेका विचारहरूवीच…
म मेरो प्रेमको निश्चय खोज्दै
अनिश्चित समयका अन्तरालहरूमा दौडिरहेछु ।
अस्वीकृतीहरूका माझमा स्वीकृति लेखिरहेछु ।
अकविताहरूका माझमा कविता लेखिरहेछु ।

हाँस्ता हाँस्तै रुवाइहरूमा
अनुवाद भएका ओठहरू या
मायाको देशाना- शब्दहरूमा
उन्दा उन्दै छिरलिएका बिम्बहरू झैं
म मेरो संवेदनाका किनारै किनारा भौंतारिइरहेछु ।
अचेल म चिहानमा जिन्दगी वटुलिरहेछु ।
ढुंगाको मनमा देउ – देउता वटुलिरहेछु ।

प्रेमको सुन्दर अभिव्यक्ति
मेरा निश्वासहरूको नीलो जून
उदाइरहेछ – क्षितिजबाट …
म त्यही क्षितिजको क्यालिग्राफी’
हृदयको कोलाजमा दुरुस्तै उतारिरहेछु ।
निस्सारताहरूमा सारहरू म खोतलिरहेछु ।
निर्विषयभित्रका विषयहरू म खोतलिरहेछु ।

उर्लंदो भेलहरूमा अन्तर्निहित
सलिल, शान्त बहाव अनि
झंझावतहरू भित्रको हावाको शीतल प्रकृति
म मेरो नित्य प्रार्थनाहरूमा भेट्टाइरहेछु ।
अहो ! अचेल म मेरा सपनाहरूमा –
विपनाहरूको उदघोषण गरिरहेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *